२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

आन्दोलनको आगोमा निर्दोष बालक– आफ्नो सपनासहित अस्ताए सरोज

shivam cement
अनिल बानिया
२०८२ भदौ ३१ गते २१:४७
आन्दोलनको आगोमा निर्दोष बालक– आफ्नो सपनासहित अस्ताए सरोज

चितवन : भदौ २४ गते देशभर जनविद्रोहको क्रान्ति थियो । जेनजीको आन्दोलनले देशैभर प्रदर्शन र बजार स्कुल कलेज सबै ठप्प थियो । 

गोर्खाको ग्रामीण भेगबाट चितवनमा आफन्तको घरमा बसेर पढ्दै गरेका १९ वर्षीय सरोज गुरुङ कलेजमा पनि मेहनती विद्यार्थीको रुपमा चिनिन्थे । उनलाई जेनजीको आन्दोलनको कुनै वास्तै थिएन । थियो त बस फुटबलको चाख । खाजा खाएर साढे ३ बजे केही साथीहरुसहित घर भन्दा पाँच सय मिटर पर रहेको खेल मैदानमा उनी फुटबल खेल्न गएका थिए । 

एक्कासी एउटा ठूलो समूह दुई सय वटा बाइक र स्कुटी कर्कस हर्नसहित होहल्ला गर्दै भरतपुर २१ मा रहेको उपमेयर चित्रसेन अधिकारीको घरतर्फ आएर तोडफोड र आगजनी गर्न थाल्यो । खेल मैदान र उपमेयको घरको दुरी १ सय मिटर नजिकै भएकोले उनीसहितका साथीहरु पनि उक्त घटनातर्फ लागेका थिए । 

उत्तेजित भिडले घरभित्र आगो सल्काइसकेको हुन्छ । आगो दनदनी बल्न थाल्छ । केही समयपछि घरभित्रबाट ठूलो आवाजसहित सिलिन्डर विष्फोट हुँदा छरिएर आएका टुक्राले सरोजको दायाँ आँखाको भागमा गम्भीर चोट लाग्छ । साथीहरु र गाउँले सबैले हतार–हतार नजिकै रहेको मेडिकलमा लिएर जान्छन्, तर चोट र घाउले उनको आँखाको भाग पुरै बिग्रिएको हुँदा तत्काल केही हुन नसक्ने जानकारी दिएपछि भरतपुर चितवन मेडिकल कलेजमा लगिन्छ । चितवन मेडिकल ल्याउँदासम्म अचेत जस्तै बनिसकेका सरोजलाई आइसीयुमा राखेर उपचार सुरु हुन्छ । 

स्थिति सुधारोन्मुख नभएता पनि आफन्तहरुको झिनो आशा र परिवारलाई सान्त्वनाको निमित्त दुई दिनसम्म  आइसीयुमा राखिन्छ तर भदौ २६ गते बिहान अस्पतालले उनलाई मृत घोषणा गर्छ । 

मृतकको पोस्टमार्टम गर्न जिल्लामा प्रहरीहरु अगाडि सर्दैनन् । शुन्यझै भएको प्रहरी प्रशासनले कुनै वास्ता गर्दैन । सरोजको शव परिवार र आफन्तसहित गोर्खा लगेर दाहसंस्कार गरिन्छ ।

नत उनको जेनजीसँग कुनै सम्बन्ध छ नत उनी कुनै घुसपैठ नै हुन्, तर पनि विभिन्न सञ्चारमाध्यमले फरक–फरक समाचार सम्प्रेषण गर्छन् । 

जिल्ला प्रशासन चितवनले भदौ ३० गते चितवन जिल्लाको क्षति विवरण र मृत्यु भएकाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सरोजको बारेमा उपमेयरको घरमा तोडफोड र आगजनीमा निस्सासिएर मृत्यु भएको बताएका छन् । 

सो घटनाबारे स्थानीयले र सोही वडा नं २१ का वडाध्यक्ष कृष्णकुमार गुरुङसहित कलेजका प्राचार्य बटुकलाल तामाङले यस घटनाप्रति ध्यानाकर्षण र प्रशासनले गम्भीर त्रुटीसहित मृतक सरोजप्रति लगाएको मिथ्या आरोपमा असहमती जनाएका छन् ।  जनप्रतिनिधिको रायसुझाव र सम्बोधन नगरी मनोमानी ढंगले उनलाई घटनामा मुछिएको स्थानीयले बताएका छन् । 

ADV

सम्बन्धित खबर

Advertise