–खिमराज गिरी
देशमा जब जघन्य अपराधजन्य घटना तथा राज्यदमनविरुद्ध आन्दोलन हुन्छ, तब अतीतको इतिहास मानसपटलमा घुमिरहन्छ । इतिहास कहिलेकाहीँ यस्ता दर्पणहरू सम्झाइदिन्छ, जसमा वर्तमानका पीडा, विकृति र विसंगतिहरू नाङ्गै प्रतिविम्बित हुन्छन् । नेपालमा भदौ २३ र २४ गते भएका घटनाहरूले रोम, बंगलादेश र श्रीलंकाको इतिहासको झल्को दिलायो । करिब १५०० वर्षअघि रोम साम्राज्य ढल्दाको समयमा रोम जलिरहेको थियो, तर सम्राट निरो बाँसुरी बजाउनमा व्यस्त थिए । राजनीतिक क्रान्तिले सम्राटलाई छोएको थिएन । त्यसैले अझै पनि ‘रोम जलिरहेको बेला निरो बाँसुरी बजाउँदै थिए’ भन्ने उखान सान्दर्भिक लाग्छ ।
रोमको इतिहास अनुसार, सन् ४७६ सेप्टेम्बरमा अन्तिम सम्राटको पतन भयो । हजारौं मानिस मरे, सयौं घर जलेर नष्ट भए । निरोलाई क्रूर शासक मानिन्छ, जसले आफ्नै सौतेनी आमा, भाइ र पत्नीको हत्या गरेको भनिन्छ । उनले किन्नरहरूसँग समलैंगिक विवाहसमेत गरेका थिए । करिब १६ वर्षको उमेरमा आफ्नी आमा अग्रिपिनाको षड्यन्त्रबाट सम्राट बनेका निरोले पछि आफ्नै आमाको पनि हत्या गरे । उनको शासनकालमा रोम साम्राज्य बेलायतदेखि सिरियासम्म फैलिएको थियो । सम्राट अगस्टसले सामूहिक सत्ता र स्वतन्त्र सिनेटको व्यवस्था ल्याए पनि पछि सत्ताको साँचो परिवारभित्र मात्र सीमित भयो । निरो भने संगीत र नाचगानमा मस्त थिए । जब रोममा आगलागी भयो, निरोले परवाह गरेनन् । अल्पसंख्यक इसाई समुदायमाथि दोषारोपण गरियो र उनीहरूलाई निर्दयतापूर्वक मरणदण्ड दिइयो । अन्ततः निरोलाई जनताको दुश्मन घोषणा गर्दै सेनाले साथ नदिएपछि उनले आत्महत्या गरे ।
यस्तै, फ्रान्सका नेपोलियन बोनापार्टले एक साधारण सिपाहीबाट सम्राट बने पनि घमण्डकै कारण वाटरलु युद्धमा हारे । उनले भनेका थिए, ‘म हजारौं तोपसँग डराउँदिन, तर एउटा कलमसँग डर लाग्छ ।’ यसले पत्रकारिता र जनताको आवाजको महत्व देखाउँछ ।
गत वर्ष बंगलादेशमा प्रधानमन्त्री शेख हसीनाको मनोमानी शासनविरुद्ध विद्यार्थीहरू उठे । श्रीलंकामा आर्थिक संकटपछि जनआक्रोशले राष्ट्रपति भवन कब्जा गरियो र राजपक्षेहरू सत्ता बाहिरिए । नेपालमा पनि यही ढंगमा जेनजीको नाममा आन्दोलन सुरु भयो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि यो आन्दोलन चर्कियो । आन्दोलनको मूल उद्देश्य सामाजिक सञ्जाल खोल्नु, सुशासन कायम गर्नु र भ्रष्टाचार अन्त्य गर्नु भए पनि यसमा आन्तरिक र बाह्य शक्ति मिसिए । संसद भवन जलाइयो, निर्दोष विद्यार्थीहरू मारिए, हजारौं घाइते भए ।
तर त्यतिबेला पनि गृहमन्त्री रमेश लेखक राज्य व्यवस्था समितिको बैठकमा व्यस्त थिए, प्रधानमन्त्री ओली भने राजीनामा नदिने अडानमा थिए । अन्ततः प्रधानसेनापति अशोकराज सिग्देलको हस्तक्षेपपछि ओलीले राजीनामा दिए । गृहमन्त्री लेखक भने अझै राजीनामाको पक्षमा थिएनन् । अन्तर्राष्ट्रिय शक्ति – भारत, अमेरिका र चीनको चासो र संलग्नता पनि देखिन थाल्यो । केही बुद्धिजीवीहरूले विदेशी शक्तिको संलग्नताबारे धारणा राखे, पत्रकार र अभियन्ता रवि लामिछानेलाई जेलबाट निकालियो । आन्दोलनको स्वरूप विस्तारै बिग्रियो । सरकारी भवन, व्यापारीक प्रतिष्ठान, नेताहरूका घरहरू जलाइए । कैयौं कैदीहरू जेलबाट भागे ।
एकातिर सत्ता धरापमा पर्दै गयो, अर्कोतिर विपक्षी शक्ति सत्ताको दौडमा लागे । विदेशी दूतावासमा धाउने प्रवृत्ति फेरि दोहोरियो । भारतीय मिडियाले आन्दोलनलाई भारतप्रति अनुरोधको रूपमा देखाएर झुटा प्रचार गरे । अन्ततः, पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम सरकार गठन भयो, जसमा कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्यालजस्ता व्यक्तिहरू सहभागी छन् । जेनजीको सीधा संलग्नता नदेखिएकाले उनीहरूबीच पनि टकराव देखिन्छ ।
नेपालमा अघिल्ला आन्दोलनहरूबाट पनि देखिएको छ– आन्दोलन जनताको पक्षबाट सुरु भए पनि यसको फाइदा पृथक शक्ति र गुटले लिन्छन् । यसपटक पनि यही भयो । आन्दोलनकारीको बलिदान फेरि सत्ता फेरबदलमा मात्र सीमित हुने हो भने यो व्यवस्थाले जनतालाई केही दिन सक्दैन ।
यदि यो आन्दोलन साँच्चिकै देश र जनताको लागि हो भने आन्दोलनको मागअनुसार काम हुनुपर्छ । जसमा पहिलो सर्त हो– संविधानको निःशर्त पुनर्लेखन । जसले तमाम प्रश्नहरूको उत्तर दिनुपर्छ । प्रदेशहरूको खारेज गरिनुपर्छ । प्रतिनिधिसभा सदस्यको संख्या १०० मात्रै बनाउनुपर्छ । आलंकारीक राष्ट्रपतिको व्यवस्था गरिनुपर्छ । ५ वर्षको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाइनुपर्छ । मन्त्री बन्न सांसद हुनुपर्ने बाध्यता नराखी विज्ञहरूको समावेश गरिनुपर्छ र समानुपातिक व्यवस्था खारेज गरिनुपर्छ ।
सँगै, २०४६ सालदेखि हालसम्मका पदाधिकारीहरूको सम्पत्ति छानबिन हुनुपर्छ । स्वतन्त्र र निष्पक्ष भ्रष्टाचार निवारण आयोग गठन हुनुपर्छ । कानुनको कडाइ र कार्यान्वयन हुनुपर्छ । यी उपायहरू लागू नगरी फेरि सत्ताको खेल लागिएमा आन्दोलनको बलिदान खेर जान सक्छ । यदि फेरि पनि ‘काम गर्ने कालु, मकै खाने भालु’को संस्कृति दोहोरिन्छ भने यो घटनाक्रम पनि रोम जल्दा निरो बाँसुरी बजाएको कथा जस्तै हुनेछ ।