काठमाडौं : राजधानीमा सम्पन्न ‘मिसेस मंगोल नेपाल–२०२५’ को ताज यसपटक टिना आले कवर मगरले जितेकी छन् । निर्णायकको अन्तिम प्रश्नमा दिएको स्पष्ट र प्रभावशाली उत्तरका आधारमा उनी विजेता घोषित भइन् । उनले प्राप्त गरेको चाँदीको ताजसँगै सन् २०२६ मा लण्डनमा हुने ‘एनएफइए अवार्ड’मा इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन् ।
प्रतियोगितामा संगीता राना मगर फस्र्ट रनरअप र शान्ति गुरुङ सेकेन्ड रनरअप बने । यस्तै, मौसमी गुरुङले ‘मोस्ट डाइनामिक’ र ‘बेस्ट मल्टिमिडिया’ दुवै उपाधि जित्दा, सजिना तामाङ ‘बेस्ट फोटोजेनिक’ बनेकी थिइन् । धनु लिम्बु ‘बेस्ट ट्यालेन्ट’ घोषित भए भने सिता गुरुङले ‘मोस्ट डिलाइटफुल’सँगै ‘मोस्ट पपुलर’ उपाधि हात पारिन् । अनिता राई ‘मोस्ट डिलिजेन्ट’, लक्षिता गुरुङ ‘मोस्ट स्मार्ट’ र सृजनादेवी श्रेष्ठ ‘मोस्ट डिसेन्ट’ चुन्निएका थिए । सोही समयमा भावना घले ‘मोस्ट एक्टिभ’, प्रियतम सुब्बा ‘मोस्ट ग्रेसफुल’, सरीता श्रेष्ठ ‘मोस्ट डेडीकेटेड’ र शान्ति गुरुङ ‘मोस्ट प्यासोनेट’ उपाधिका साथ सम्मानित भए ।
शनिबार काठमाडौंको ज्यापु प्रज्ञा भवनमा सम्पन्न यो प्रतिस्पर्धा मिसेस मंगोल श्रृंखलाको ११औं संस्करण हो । हिमालयन मुभिजले आयोजना गरेको प्रतियोगिता मंगोलियन समुदायका विवाहित महिलाहरुलाई लक्षित गरेर आयोजना गरिन्छ । आयोजकका अनुसार यसले सांस्कृतिक पहिचानलाई जोगाउँदै महिलाहरुको क्षमता, आत्मविश्वास र सौन्दर्यतालाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्य लिएको छ ।
प्रतियोगिताका सहभागीहरूले फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा व्यक्तित्व विकास, स्टेज प्रस्तुति र सांस्कृतिक मूल्यबारे तालिम लिएका थिए । सोही प्रशिक्षणमार्फत प्रतियोगीहरूले सुन्दर ओपनिङ शो, समूहगत नृत्य तथा आफ्ना जातीय नृत्य प्रस्तुत गरेका थिए । परम्परागत पोशाकमा सजिएका प्रतिस्पर्धीहरू मञ्चमा झनै आकर्षक देखिएका थिए ।
आधुनिक परिवेशसँग मेल खुवाउन प्रतियोगीहरूले आ–आफ्नो भाषामा परिचयात्मक चरण प्रस्तुत गरे । त्यस्तै फ्युजन थिममा ‘बेस्ट ड्रेस’ र ‘कल्चरल फ्लेभर’सँगै इभिनिङ गाउनमा आत्मविश्वासपूर्वक उभिँदै आफ्नो दक्षता प्रदर्शन गरेका थिए ।
कार्यक्रममा पप गायक धिरज राईको प्रस्तुति पनि रहेको थियो । धेरैजसो दर्शकहरू सांस्कृतिक पोशाकमा उपस्थित भएकाले वातावरण अझ रौनकपूर्ण बनेको थियो ।
निर्णायक मण्डलमा अभिनेता तथा चलचित्रकर्मी रमेश उप्रेती, कस्मेटोलोजिस्ट रेखा थापा मगर, मिसेस हिमालयन नेपाल २०१४ अनिता गुरुङ, मिसेस मंगोल नेपाल २०२२ सम्झना तामाङ र मिसेस ग्लोबल नेपाल २०२५ साथै बैंकर इन्दिरा घिमिरे रहेका थिए ।
आयोजकका अनुसार लोपोन्मुख हुँदै गएको मंगोलियन समुदायको कला, संस्कृति, भेषभूषा र भाषाको संरक्षण गर्ने, आधुनिक परिवेशसँग मेल गर्दै त्यसको प्रवद्र्धन गर्ने र महिलाको क्षमता तथा प्रतिभालाई राष्ट्रिय स्तरमा उजागर गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो ।