२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

भण्डारीको निधनले कांग्रेसलाई अपूरणीय क्षति : महामन्त्री थापा

shivam cement
मध्यान्ह
२०८२ असोज ५ गते १७:२७
भण्डारीको निधनले कांग्रेसलाई अपूरणीय क्षति : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका लोकप्रिय युवा नेता तथा महासमिति सदस्य हरिबोल भण्डारीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् । भण्डारीको तेह्रौँ दिनको पुण्य तिथिमा आइतबार काठमाडौंमा आयोजित शोक तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले उनको योगदानको स्मरण गरे ।

“हरिबोल दाइले नेपाली कांग्रेसलाई मात्र नभई आवश्यक पर्दा देशलाई नै ठूलो गुन लगाउनुभयो,” भावुक हुँदै थापाले भने । उनले २०७२ को महाभूकम्प र कोभिड-१९ महामारीका बेला भण्डारीले देशका दूरदराजका क्षेत्रमा गरेको सहयोगको चर्चा गरे । थापाले भण्डारी परिवारको साथमा सिंगो पार्टी रहेको पनि बताए ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भण्डारीले अमेरिकामा सफल उद्यमीको पहिचान बनाए पनि उनको मन सधैँ नेपालप्रति समर्पित रहेको बताए । “हरिबोलजी १५ वर्षदेखि मसँग निकट रहनुभयो । उनको योगदानको मूल्यांकन पार्टीले गर्नुपर्छ,” कोइरालाले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले भण्डारीको समाजसेवा र पार्टीमा गरेको योगदान अतुलनीय रहेको बताए । शोकसभामा निवर्तमान संघीय सांसद सन्तोष चालिसे, नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ, क्षेत्र नम्बर ३ का सचिव भुवन लामा र सहसचिव सुदीप पण्डितले पनि भण्डारीको निधनले पार्टी र समाजलाई ठूलो क्षति पुगेको बताए ।

भण्डारी परिवारका तर्फबाट दाजु कृष्णहरि भण्डारी र दिदी शोभा सिलवाल भण्डारीले शोकको यो घडीमा सहानुभूति प्रकट गर्ने सबैप्रति आभार व्यक्त गरे । सभामा भण्डारीको आत्माको शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति थियो । काठमाडौंको जोरपाटी, नारायणटार स्थायी घर भई हाल अमेरिकाको डालासमा बसोबास गर्दै आएका भण्डारीको गत भदौ २४ गते डालासस्थित निवासमा निधन भएको थियो ।

गैरआवासीय नेपाली संघ र नेपाली जनसम्पर्क समिति अमेरिकामा लामो समयदेखि सक्रिय भण्डारी नेपाली कांग्रेसभित्र बलियो अन्तर्राष्ट्रिय सम्बन्ध भएका व्यक्तित्वका रूपमा परिचित थिए । नेविसंघ र तरुण दल हुँदै कांग्रेसको राजनीतिमा सक्रिय भण्डारीले क्षेत्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचनमा अत्यधिक मत प्राप्त गरेका थिए । मृदुभाषी, मिलनसार र सहयोगी स्वभावका भण्डारी सबै उमेर समूहमा लोकप्रिय थिए । उनका श्रीमती र दुई छोरा छन् ।

ADV

सम्बन्धित खबर

Advertise