काठमाडौं : सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध गत साता भएको ध्वंसात्मक आन्दोलनपछि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको राष्ट्रिय प्रतिष्ठा कमजोर भएको छ । ठुलो संख्यामा नेपाली जाने संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालीलाई सोमबारदेखि भिजिट भिसा जारी गर्न रोक लगाएको छ ।
भिजिट भिसा प्रयोग गरेर जाने अधिकांश नेपालीले युएईलाई वैदेशिक रोजगारी र तेस्रो मुलुक जाने ट्रान्जिटका रूपमा प्रयोग गरिरहेका छन् । भदौ २४ गतेको प्रदर्शनका क्रममा जेल तोडेर १३ हजार कैदी, ठुलो संख्यामा थुनुवा भागेका छन् । युएईले उनीहरू आफ्नो मुलुक छिर्न सक्ने आंकलन गरेर अस्थायी रूपमा भिजिट भिसा रोकेको धेरैको आंकलन छ ।
युएईले आधिकारिक रूपमा नेपालीलाई भिजिट भिसा नदिने निर्णय नगरी भिसा जारी गर्ने ट्राभल्स एजेन्सीहरूलाई आन्तरिक सर्कुलर जारी गरेको छ । युएईले भिसाको काम गर्ने संस्थाहरूलाई नेपाली नागरिकको आवेदन लिन रोकेको बताइएको छ ।
युएईमा हाल ४ लाख बढी नेपाली कामदार कार्यरत रहेका छन् । सामान्यता नेपालीहरू एक वा तीन महिनाको भिजिट भिसामा युएई जाने, दलाललाई मोटो रकम खुवाएर काम खोजिसकेपछि कम्पनीमार्फत भिसा स्टाटस परिवर्तन गरी काम गर्ने गरेका छन् ।
तीन महिनाको अवधिमा कम्पनीमा काम पाउन नसके अधिकांश नेपालीले इरानको किस सहर गएर पुनः भिसा लिने गरेका थिए । इरानको किस सहर जान धेरै खचिलो हुने गरेको छ ।
भिजिट भिसामा गएकाहरू असुरक्षित र सधैंभरि जोखिमयुक्त अवस्थामा रहने गरेका छन् । युएईले भिजिट भिसा रोकेको अवस्थामा नेपालीहरू म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर सुरक्षित रूपमा जाने क्रम बढ्ने अनुमान गरिएको छ ।