काठमाडौं : नेपाली कांग्रेसका ७७ जिल्लाका पार्टी सभापति र प्रशिक्षण शाखा प्रमुखहरू पार्टीको संगठनात्मक गतिविधि र समसामयिक मुद्दाका विषयमा छलफल गर्न मंगलबार र बुधबार पोखरामा भेला भए ।
भेलामा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापासहित शीर्ष नेताहरू सहभागी भए । तर, पार्टीका अर्को शीर्ष नेता डा. शेखर कोइराला भने देखिएनन् । उनी मात्र होइन, पूर्वपदाधिकारीहरू कसैलाई पनि भेलामा बोलाइएन ।
भेलामा पार्टीको आगामी महाधिवेशन, नेतृत्व निर्माण, सरकारमा कांग्रेसको सहभागिता तथा रणनीतिगत छलफल भएको छ । साथै, गठबन्धन सरकारका काम र पार्टी सुदृढीकरणका लागि जिल्ला सभापतिहरूलाई प्रशिक्षण र अभिमुखीकरण दिइएको हो ।
शेखर छुटे कि छुटाइए ?
पार्टीले पोखरामा आयोजना गरेको ७७ जिल्लाका पार्टी सभापति र प्रशिक्षण शाखा प्रमुखहरू भेला भएको कार्यक्रममा शीर्ष तहका नेताहरू सहभागी भए पनि नेता कोइराला अनुपस्थित थिए । कोइरालाका अनुसार उनलाई भेलामा उपस्थित हुन आमन्त्रण नै गरिएन । पोखरामा कोइरालालाई नबोलाइए पनि उनले पार्टीको बैठकहरूमा पनि अनुपस्थित हुँदै आएका छन् । यसअघि उनी संसदीय दलको बैठक र पदाधिकारी बैठकमा पनि अनुपस्थित रहँदै आएका छन् ।
सभापति देउवाले पार्टीभित्र एकताको कुरा गरिरहँदा आफ्ना प्रतिद्वन्द्वी ठानेका कोइरालालाई नबोलाएर उनीप्रति अझै तुष रहेको संकेत गरे ।
‘पार्टीभित्र एकता कायम भए आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ’, भेलाको उद्घाटन गर्दै देउवाले भनेका थिए, ‘सबै पार्टीका साथीहरूमा एकता भयो भने भोलिका दिनमा हामी बहुमत प्राप्त गर्न सक्ने पार्टी पनि बन्न सक्छौं ।’
पार्टीभित्र एकता खोज्ने देउवाले कोइरालालाई पोखरा भेलामा किन बोलाएनन् ? नेता तथा कार्यकर्तामा चासो प्रकट भएको छ । उनीहरूले पोखरामा कोइरालाको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा लिएका छन् ।
सभापति देउवा र पार्टीका अधिकांश पदाधिकारीसहितका नेताको जमघट हुँदा आफूलाई छुटाइएको कोइरालाले जनाएका छन् । पार्टीले राखेको ठूलो कार्यक्रममा निम्तो नै नगएपछि आफू नगएको कोइरालाले बताए ।
‘पार्टीले देशभरका प्रदेशको नेतृत्व, जिल्ला सभापतिदेखि शीर्ष नेतालाई बोलाएर पोखरामा कार्यक्रम गर्यो तर मलाई बोलाइएन’, शेखरले भने, ‘पार्टीले नबोलाएपछि ठूलो कार्यक्रम छ भनेर त्यत्तिकै जाने कुरा हुँदैन । यसैले म गइनँ ।’
शेखरले आफ्नो व्यक्तिगत सवाल मात्र नभएको भन्दै पोखरा घटना कांग्रेसका लागि विडम्बना भएको बताए ।
पोखरामै पुगेर पनि सभापतिसहितका नेताले पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताएका तर व्यवहार उल्टो गरेको शेखरको टिप्पणी छ ।
नेता कोइरालाले पार्टीको १४औं महाधिवेशनमा शेरबहादुर देउवाविरुद्ध सभापतिमा प्रतिस्पर्धा गरेका थिए । त्यसयता देउवा उनीप्रति असहिष्णु रहँदै आएका छन् ।
‘पार्टीका ७ प्रदेश सभापति, उपसभापति, जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रम निकै राम्रो हुँदाहुँदै पनि उदेकलाग्दो देखियो’, कोइराला निकट नेता गुरुराज घिमिरेले बताए ।
उनले भने, ‘यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोसिस गरेको छ । यसअघि कोशी प्रदेशमा यस्तै अभ्यास गरिएको थियो । यस्ता अभ्यासले पार्टीको बागडोर लिएका जिम्मेवार नेतृत्व गणलाई हामीले जे गरे पनि हुन्छ भन्ने अभिमानलाई झल्काएको छ र आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्छ’, घिमिरेले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
घिमिरेले पार्टीभित्रको आफ्नो प्रतिस्पर्धीलाई सँगै लिएर हिँड्न नसक्नु नेतृत्वको असफलता भएको टिप्प्णी गरे । पार्टी आयोजनामा भएको कार्यक्रमलाई गुट भेलामा परिणत गर्न खोज्ने र आफूलाई अरूभन्दा गतिलो ठान्नेहरू समेत चुइँक्क बोल्न नसकेको देख्दा राम्रो जग हँसाइ भएको पनि उनले टिप्पणी गरे ।
तर, प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पूर्वपदाधिकारी र केन्द्रीय सदस्यबाहेकलाई मात्र कार्यक्रममा बोलाइएको बताए ।
‘प्रदेशका जिल्ला सभापति र उपसभापति, केन्द्रीय पदाधिकारीलाई बोलाइएको हो । तर, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको थिएन’, विश्वकर्माले भने, ‘शेखर मात्र होइन, अन्य पूर्वपदाधिकारी र केन्द्रीय सदस्यले पनि यस्तै गुनासो गर्नुभएको छ । नियतवश उहाँलाई मात्र नबोलाइएको होइन ।’
१४औं महाधिवेशनमा ४० प्रतिशत मत ल्याएको पक्षका नेतालाई बेवास्ता गरिएपछि कोइराला समूह असन्तुष्ट बनेको छ ।
सभापतिको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी बनेपछि उनलाई दोस्रो वरीयताको नेता दिनुपर्ने माग उक्त पक्षले गर्दै आएको छ । तर, संस्थापनले उनलाई बेवास्ता गर्दै आएको छ । महाधिवेशनको ४० प्रतिशत हिस्सालाई बेवास्ता गरिएको भन्दै कोइराला पक्ष आक्रामक बन्दै आएका छन् ।
यसअघि विराटनगरमा २४ मंसिरमा भएको कोशी प्रदेशस्तरीय भेलामा आफूलाई दोस्रो वरीयता नदिएको भन्दै कोइरालाले उक्त कार्यक्रम नै बहिष्कार गरेका थिए ।
कोइराला १५औं महाधिवेशनमा फेरि सभापतिमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । यसका लागि उनले देशव्यापी अभियान नै सुरु गरेका छन् ।
अभियानअन्तर्गत कोइरालाले कोशी र सुदूरपश्चिममा कार्यक्रम सम्पन्न गरिसकेका छन् । कर्णाली, मधेश र बाँकी प्रदेशमा कार्यक्रम गर्ने उनको तयारी छ ।
महाधिवेशनको मिति अहिले तोकिएको छैन तर कांग्रेसभित्र अबको नेतृत्व र पदाधिकारीबारे बहस सुरु भइसकेको छ ।
पोखरामा कोइराला उपस्थित नभएपछि सहभागी केही नेताहरूले उनको खोजी पनि गरेका थिए । कोइराला निकट नेता देवराज चालिसेले भने, ‘निम्ता नै गरिएन या ढिला गरी निम्तो गरिएको हुन सक्छ । तर, उहाँ भेला नहुँदा कांग्रेसको विचारले पूर्णता नपाएजस्तो देखिँदो रहेछ ।’
विराटनगरको बदला
२४ मंसिरमा कांग्रेस कोशी प्रदेश समितिको पहिलो सम्मेलन भएको थियो । त्यहाँ कोइराला देखिएनन् । कोइरालाको निकै खोजी भयो ।
कोइराला अनुस्थित भएपछि संस्थापन पक्षले त्यसलाई ‘बहिस्कार र अनुशासन’को रूपमा अथ्र्याए । कोइराला पक्षीय नेताले भने ‘सम्मानजनक व्यवहार’ नभएको कारण दिए ।
विराटनगर कोइरालाको गृह शहर हो । कोइराला कार्यक्रम ‘बहिस्कार’ गरी सोही दिन चितवनमा अर्काे कार्यक्रममा सहभागी भए ।
कोइराला कार्यक्रममा सहभागी नभएको विषयमा कांग्रेस संस्थापन नेताहरूले आ–आफ्नो ढंगले टीका टिप्पणी गरे ।
कोइरालालाई कार्यक्रममा सहभागी गराउन पार्टीको प्रदेश समितिले खासै वास्ता र समन्वय नगरेको कोइराला पक्षीय नेताहरूको दाबी छ ।
त्यसअघि कोइराला पक्षले पालिका सभापतिहरूको भेला गरेको थियो । त्यसलाई रोक्न केन्द्रीय कार्यालयले पत्राचार गरेको थियो ।
बढ्दो दुरी
पछिल्ला दिनमा कांग्रेसले गरेका कार्यक्रममा नेताहरूको अनुपस्थितिले पार्टीभित्रको रडाको फेरि चुलिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवापछि को ? भन्ने प्रश्नले सबै नेताहरू भित्रभित्र पिल्सिएका छन् । यसले उनीहरूबीचको सम्बन्ध चिसिँदै गएको छ र दुरी पनि बढिरहेको देखिएको छ ।
पछिल्ला दिनमा आयोजना भइरहेका कांग्रेसका औपचारिक कार्यक्रमका आयोजकले कार्यक्रम संचालन सूचीमा सभापति देउवापछि फरक–फरक नेताहरू राख्ने गरेका छन् । एउटा नेतालाई राख्यो भने अर्को नेता मञ्चमा बस्दैन, अर्कोलाई राख्यो अर्को बस्दैन । यो अवस्था पछिल्ला दिनका औपचारिक कार्यक्रमहरूमा छताछुल्ल भएको देखिन्छ ।
कोइराला पक्षीय विद्यार्थीको भेला
कोइराला पक्षले नेविसंघमा समानान्तर गतिविधि जारी राखेको छ । कोइराला पक्षले काठमाडौंमा बुधबार स्ववियु तयारी भेला गरेको छ । पार्टी नेताहरूलाई बोलाएर स्ववियु निर्वाचन केन्द्रित उपत्यकास्तरीय विद्यार्थी भेला गरिएको हो ।
भेलामा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, नेविसंघका पूर्वअध्यक्ष गुरुराज घिमिरे, रञ्जित कर्णलगायत सहभागी भएका थिए । त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनहरूबीच यस वर्षको स्ववियु निर्वाचन ५ चैतमा गर्ने सहमति भएको छ ।
भेलामा बोल्दै कांग्रेस नेता घिमिरेले गठबन्धन नगरी स्ववियु निर्वाचनमा नेविसंघले प्रतिस्पर्धा गर्न सुझाव दिए । पूर्वमुख्यमन्त्री कार्कीले पनि गुटका नाममा हुने अन्यायका विरुद्ध आवाज बुलन्द पार्न निर्देशन दिए ।
कोइराला पक्ष स्ववियु निर्वाचनको तयारीमा जुटेको त्यस समूहका विद्यार्थी नेता भुवन भट्टले जानकारी गराए । आसन्न स्ववियु निर्वाचनमा संस्थापन पक्षले पेलेर जाने सम्भावना बढेर गएपछि शेखर निकट समूहले छुट्टै भेला गरेको हो ।