२०८३ मंसिर १३ गते आइतवार / Nov 29 , 2026 , Sunday
२०८३ मंसिर १३ गते आइतवार

तीन मन्त्रीको प्राथमिकतामा वैदेशिक रोजगार, समस्या समाधान कि स्टन्ट ?

Nada
रेशमराज पौडेल
२०८३ मंसिर १३ गते ०६:१५
Shares
तीन मन्त्रीको प्राथमिकतामा वैदेशिक रोजगार, समस्या समाधान कि स्टन्ट ?

काठमाडौं : वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका नाममा वर्तमान सरकारका तीन मन्त्री एकै लयमा सक्रिय देखिएका छन् । रामजी यादव युवा, श्रम तथा रोजगारमन्त्री नियुक्त भएदेखि नै वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणलाई आफ्नो प्राथमिकतामा राखेको बताउँदै आएका थिए । पछिल्लोपटक गृहमन्त्री सुधन गुरुङ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम पनि वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी नियन्त्रणका लागि मन्त्री यादवजस्तै क्रियाशील देखिएका छन् ।

मन्त्री यादवसँगैको तस्बिर शुक्रबार फेसबुकमा पोस्ट गर्दै कानुनमन्त्री गौतमले भनेकी छन्, ‘राजनीतिमा आएदेखि मैले नागरिकहरूबाट सबैभन्दा धेरै सुनेका गुनासाहरूमध्ये वैदेशिक रोजगारीका नाममा हुने ठगी पनि एक हो । यस क्षेत्रको सुधारका लागि युवा, श्रम तथा रोजगारमन्त्री माननीय रामजी यादवज्यूको नेतृत्वमा विभिन्न नीतिगत तथा प्रक्रियागत सुधारका कामहरू भइरहेका छन् । तर प्रणाली सुधारेर मात्र पुग्दैन, नागरिकलाई सही प्रणालीबारे सुसूचित गराउनु पनि उत्तिकै आवश्यक छ । वैदेशिक रोजगारीमा जान चाहने नागरिकले कुन प्रक्रिया अवलम्बन गर्ने, कसलाई विश्वास गर्ने, ठगीबाट कसरी बच्ने र समस्या परे कहाँ सम्पर्क गर्ने भन्ने जानकारी समुदायस्तरसम्म पुग्नुपर्छ ।’

मन्त्री गौतमले यसै उद्देश्यका साथ कानुन मन्त्रालय र श्रम मन्त्रालयको सहकार्यमा एउटा विशेष पहल लिएर छिट्टै आउने सार्वजनिक गरेकी छन् । तर, उक्त पहल के हुनेछ भन्ने उनले खुलाएकी छैनन् ।

उता, गृहमन्त्री गुरुङले यसै महिना युएईबाट फर्केपछि आफ्नै अध्यक्षतामा वैदेशिक रोजगारीका नाममा हुने ठगी, मानव तस्करी तथा श्रम शोषण नियन्त्रण गर्ने विशेष संयुक्त कार्यदल गठन गरेका छन् । कार्यदललाई परम्परागत मानव बेचबिखन नियन्त्रणभन्दा वैदेशिक रोजगारी तथा विदेश पठाउने प्रक्रियामा हुने ठगी र संगठित अपराधमाथि प्रत्यक्ष निगरानी तथा कारबाही गर्ने म्यान्डेट रहेको बताइएको छ ।

कार्यदलमा गृह मन्त्रालयसहित श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल प्रहरी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरू रहेका छन् । कार्यदललाई शैक्षिक परामर्श वा अन्य संस्थाको आवरणमा हुने अवैध गतिविधिको अनुसन्धान, अपराधमा संलग्न व्यक्ति तथा गिरोहको पहिचान, प्रमाण संकलन तथा अभियोजनको जिम्मेवारी रहेको बताइएको छ ।

विभागीय मन्त्री यादवले कतिपय उजुरीमा मन्त्रालयको अनुगमनका नाममा म्यानपावर कम्पनीको कार्यालयमा छापा मार्ने र वैदेशिक रोजगार विभागको अनुगमनमा आधा निजामती कर्मचारी तथा आधा सादा पोसाकका प्रहरी कर्मचारी खटाउने गरेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।

विभागको टोलीले अनुगमनका क्रममा अरू केही नभेटेपछि वैदेशिक रोजगारीको प्रक्रियामा रहेका श्रमिकका राहदानी उठाउने गरेका छन् । विभागको उक्त कदमका कारण वैदेशिक रोजगारीको प्रक्रियाका लागि म्यानपावर कम्पनीमा राहदानी बुझाएका श्रमिक गाउँबाट हजारौं रुपैयाँ खर्च गरेर आफ्नो राहदानी बुझ्न विभाग पुग्नुपर्ने अवस्था छ ।

वैदेशिक रोजगारसम्बन्धी उजुरीका आधारमा म्यानपावर कम्पनीमा प्रहरी समेतले छापा मार्ने काम वैदेशिक रोजगार ऐनको मर्मविपरीत रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ बताउँछन् । सरकारको कदमप्रति प्रश्न उठाउँदै उनले भनेका छन्, ‘व्यवसायीले श्रमिकको राहदानी किन राखेको भन्ने प्रश्न गरिन्छ । तर ऐनको दफा १५ देखि १९ को प्रयोजनार्थ श्रमिकको सहमतिमा राहदानी नराखे प्रक्रिया कसरी पूरा हुन्छ ?’

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३४ले विभागलाई अनुगमन तथा निरीक्षणको जिम्मेवारी दिएको छ । सोही ऐनको दफा ६१ ले अनुसन्धान अधिकृतलाई प्रहरीसरह अनुसन्धान र खानतलासीको अधिकार पनि दिएको छ । तर, विभागका निजामती कर्मचारीले गर्न सक्ने काममा अनावश्यक रूपमा प्रहरीको हस्तक्षेप आमन्त्रण गर्ने कामले ऐनको परिधि नाघ्ने र भविष्यमा विभागका महानिर्देशकले त्यसको जवाफ दिनुपर्ने अवस्था उत्पन्न हुने भएकाले महानिर्देशक सचेत रहनुपर्ने व्यवसायीहरू बताउँछन् ।

व्यवसायीहरूले गन्तव्य मुलुकमा श्रमिकले गरेका कानुन उल्लंघनका घटनाको वास्तविकता अध्ययन गर्नुभन्दा हतारहतार म्यानपावर कम्पनीको कार्यालयमा प्रहरीसहितको टोली पठाउने कामले तत्कालका लागि विभागलाई रमाइलो लागे पनि भविष्यमा वैदेशिक रोजगार प्रशासन गृह मन्त्रालय मातहत पुग्ने खतरालाई निम्तो दिने बताउँछन् ।

नेपालको वैदेशिक रोजगार शोषण र जोखिमले भरिएको खाडी तथा मलेसियामा निर्भर छ । परम्परागत गन्तव्य परिवर्तन नगरेसम्म श्रमिकमाथिको बहुपक्षीय ठगी नरोकिने वैदेशिक रोजगार क्षेत्रका अनुभवीहरू बताउँछन् । तर, स्वदेशमा आफूलाई शक्तिशाली ठान्ने मन्त्रीदेखि जिम्मेवार अधिकारीसम्म नयाँ श्रम गन्तव्य पहिल्याउन मिहिनेत गर्ने कठिन र परिश्रम पर्ने काममा भने अलमलिएका वा छेउटुप्पो फेला नपारेर रुमल्लिएका जस्ता देखिन्छन् ।

सिक्न चाहने हो भने हालै बंगलादेशका प्रधानमन्त्रीले दुई वर्ष मिहिनेत गरेर मलेसियाको रोजगारी खुलाएको घटना पर्याप्त देखिन्छ । नेपालका विभागीय मन्त्री मात्रै नभएर प्रधानमन्त्रीसमेतले साँघुरिँदै गएका नेपाली श्रमिकका वैदेशिक रोजगारीका अवसरबारे चासो राखेर नयाँ गन्तव्य पहिल्याउने हो भने मात्रै ठगी नियन्त्रण सम्भव हुने अनुभवीहरू बताउँछन् । काठमाडौंमा जति कडाइ गरे पनि ठगी कम नहुने उनीहरूको भनाइ छ ।

परराष्ट्रमन्त्री खनाल मौन !

वैदेशिक रोजगार क्षेत्र सुधारका लागि खासै सरोकार नरहने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र गृहमन्त्री सुधन गुरुङको चासो देखिँदा वैदेशिक रोजगारका क्षेत्रमा निर्णायक भूमिका खेल्नसक्ने हैसियतमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल भने वैदेशिक रोजगारका मामिलामा प्रायः चुपचाप देखिएका छन् ।

नेपाली श्रमिक जाने र अन्य गरी विदेशमा नेपालका ४४ वटा कुल कूटनीतिक नियोग छन् । त्यसमा नेपाली दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावास पर्दछन् । परराष्ट्र मन्त्रालय माताहत रहेका ती निकायमा कार्यरत राजदूतदेखि कर्मचारीलाई निर्देशन दिएर मन्त्री खनालले नयाँ श्रम गन्तव्य खोज्न क्रियाशील गराउन सक्छन् ।

अघिल्लो वर्षको तुलनामा नेपाली श्रमिकका लागि आउने रोजगारको अवसरमा ठुलो गिरावट आउँदा परराष्ट्र मन्त्रालयले भने त्यसलाई आफ्नो जिम्मेवारी ठानेको व्यवहारमा देखिएको छैन । अरु त अरु नेपाली श्रमिकको आकर्षक गन्तव्य मानिएको मलेसियाको अवरुद्ध रोजगारी खुलाउन समग्र परराष्ट्र मन्त्रालयले नै के भूमिका खेलिरहेको छ त ? प्रश्न अनुत्तरित नै छ ।

laxmi recruitement

सम्बन्धित खबर