
साउदी अरब (रियाद) : साउदी अरबको दक्षिण-पश्चिमी क्षेत्रमा रहेको जाजानस्थित साउदी अरामकोको तेल प्रशोधन केन्द्रमा बिहीबार भएको हवाई आक्रमणमा एक नेपाली श्रमिकको मृत्यु भएको छ भने विभिन्न देशका अन्य श्रमिक घाइते भएका छन् ।
साउदी अरबको ऊर्जा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सी (SPA) ले दिएको जानकारीअनुसार जाजान तेल प्रशोधन केन्द्रलाई लक्षित गरी शत्रुपक्षबाट हवाई प्रक्षेप्यास्त्र आक्रमण भएको थियो ।
आक्रमणपछि केन्द्रमा आगलागी भएको र केही समयका लागि प्रशोधन केन्द्रका सञ्चालन गतिविधि रोकिएको थियो । आगलागी नियन्त्रणमा लिइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रारम्भिक विवरणमा मृत्यु हुने व्यक्ति नेपाली नागरिक रहेको पुष्टि भएको छ । घाइतेहरू विभिन्न राष्ट्रियताका श्रमिक रहेको र उनीहरूको उपचार भइरहेको छ । घटनापछि आपत्कालीन उद्धार तथा प्राविधिक टोली परिचालन गरी क्षतिको मूल्याङ्कन र संरचनाको सुरक्षाबारे परीक्षण भइरहेको छ ।
यसैबीच, यमनमा हुथी विद्रोहीविरुद्ध सक्रिय साउदी नेतृत्वको गठबन्धनले जाजानस्थित तेल प्रशोधन केन्द्रमा हुथी समूहले आक्रमण गरेको दाबी गरेको छ ।
गठबन्धनले उक्त आक्रमणमा प्रयोग भएको भनिएको यमनको होदेदाह क्षेत्रमा रहेको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण केन्द्रसमेत ध्वस्त पारेको जनाएको छ । यद्यपि साउदी ऊर्जा मन्त्रालयको प्रारम्भिक विज्ञप्तिले आक्रमणकारी पक्षको नाम उल्लेख गरेको छैन ।
साउदी अरबमा पछिल्लो समय बढ्दै गएको सुरक्षा चुनौतीबीच नेपाली श्रमिकसमेत प्रभावित हुन थालेका छन् । यसअघि अक्टोबर २१ मा साउदी अरामकोको शैबाह तेल क्षेत्रमा रोकिएको ड्रोनको अवशेष खस्दा नेपाली श्रमिक भारत महतोको मृत्यु भएको थियो ।
त्यस्तै नोभेम्बर २४ मा रियादको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा भएको आक्रमणमा तीन नेपालीसहित ११ जना घाइते भएको समाचार सार्वजनिक भएको थियो । नेपालको परराष्ट्र मन्त्रालयले पनि साउदी अरबमा नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते नेपालीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेको छ ।
मन्त्रालयका अनुसार घाइते तीन नेपालीमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जनाको उपचार जारी छ । यद्यपि मन्त्रालयले आफ्नो विज्ञप्तिमा पछिल्लो जाजान घटनामा मृत्यु भएका नेपालीको पहिचान र घटनासँगको सम्बन्ध स्पष्ट खुलाएको छैन ।
जाजानको पछिल्लो घटनामा ज्यान गुमाउने नेपाली श्रमिकको नाम, ठेगाना र कार्यरत कम्पनीबारे भने साउदी अधिकारीहरूले हालसम्म सार्वजनिक गरेका छैनन् ।