
काठमाडौं : देशको विज्ञान तथा प्रविधि अनुसन्धानलाई नेतृत्व दिनुपर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) अहिले आफैँ संस्थागत विवादको केन्द्रमा परेको छ ।
वैज्ञानिक अनुसन्धान, प्रविधिको विकास र नयाँ आविष्कारका लागि स्थापित प्रतिष्ठानका कर्मचारी सडकमा उत्रिएका छन् । उनीहरूको आन्दोलन कुनै एउटा प्रशासनिक निर्णय वा कर्मचारीको सेवासुविधामा सीमित छैन । संस्थाको स्वायत्तता, नेतृत्व चयन प्रक्रिया, वैज्ञानिकको पेसागत भविष्य र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको कार्यशैलीमाथि नै प्रश्न उठाउँदै कर्मचारीले आन्दोलन थालेका हुन् ।
नास्टका प्रवक्ता तथा वरिष्ठ वैज्ञानिक डा. रामचन्द्र पौडेलले मन्त्रीसँग पटक–पटक संस्थाका समस्या र सुधारका विषयमा छलफल गर्न खोजिए पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।
‘अध्यादेश ल्याइँदा पनि हाम्रो प्रतिक्रिया बुझिएन । मन्त्रीज्यूको फेसबुकबाट एकै पटक निर्णय हुन्छ । यति ठूलो निर्णय गर्दा हाम्रो राय, सुझाव नसमेटिँदा चित्त दुखाइ हो,’ उनले भने ।
सरकारले ल्याएको ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३’ र त्यससम्बन्धी नियमावली खारेजीको माग गर्दै शुक्रबारदेखि आन्दोलनमा उत्रिएका कर्मचारीले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको राजीनामासमेत माग गरेका छन् ।
सरोकारवालासँग पर्याप्त छलफल नगरी अध्यादेश र नियमावली ल्याइएको, आफ्ना सुझाव बेवास्ता गरिएको तथा सुधारका नाममा संस्थामाथि हस्तक्षेप बढाइएको पौडेलले बताए ।
मन्त्री पुनको कार्यशैली, मन्त्रालयबाट हुने हस्तक्षेप, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र कर्मचारीसँगको संवादहीनतालाई पनि आन्दोलनको कारण बताइएको छ । उनका अनुसार मन्त्री नास्टका सहकुलपति भए पनि संस्थाकै कर्मचारी र पदाधिकारीसँग परामर्श नगरी बाहिरबाट निर्णय लाद्ने प्रवृत्ति देखिएको छ ।
नास्टका कर्मचारीको मुख्य चासोमध्ये एउटा नास्टको नाम र संस्थागत संरचना परिवर्तन हो ।
‘प्रतिष्ठानको नाम परिवर्तनलाई सामान्य प्रशासनिक विषयका रूपमा लिन हुँदैन,’ उनले भने, ‘लामो समयदेखि अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग कायम भएका सम्बन्ध, समझदारीपत्र (एमओयू), सहकार्य र संस्थागत पहिचानमा नाम परिवर्तनले असर पार्न सक्छ ।’
संस्थाको नाम र संरचना परिवर्तन गर्नुभन्दा अनुसन्धानको वातावरण सुधार्ने, प्रयोगशाला सुदृढ बनाउने र दक्ष जनशक्तिलाई प्रोत्साहन गर्ने काम प्राथमिकतामा पर्नुपर्ने माग छ ।
त्यस्तै, कर्मचारीहरूले प्रस्तावित नियमावलीमा कार्यक्रम मूल्यांकनमा ८० प्रतिशत अंक प्राप्त नगरे पदबाट हटाउन सकिने व्यवस्थाले वैज्ञानिकलाई स्वतन्त्र अनुसन्धानभन्दा नेतृत्वलाई खुसी पार्नुपर्ने अवस्थामा पुर्याउने चिन्ता व्यक्त गरेका छन् ।
‘वैज्ञानिकको कामको मूल्यांकन आवश्यक भए पनि त्यसको आधार अनुसन्धानको गुणस्तर, दीर्घकालीन योगदान र वैज्ञानिक उपलब्धि हुनुपर्ने कर्मचारीको धारणा छ,’ पौडेलले भने, ‘झोलेको ट्याग लगाउँदै कर्मचारीलाई धम्क्याउने, थर्काउने र मनोबल गिराउने कार्य भइरहेको छ ।’
करिब एक वर्षअघि लोकसेवा आयोगको प्रक्रिया पूरा गरेर नियुक्त भएका युवा वैज्ञानिकहरू अनुसन्धान र भविष्यमा विद्यावारिधि गर्ने योजनासहित प्रतिष्ठानमा प्रवेश गरेका थिए । तर नयाँ कानुनी व्यवस्था र कर्मचारी मूल्यांकनसम्बन्धी प्रस्तावित प्रावधानले उनीहरूमा अन्योल र असुरक्षा बढाएको कर्मचारीको भनाइ छ ।
वरिष्ठ वैज्ञानिक पौडेलका अनुसार नयाँ नियुक्त कर्मचारीलाई दुई वर्षसम्म हेर्ने र त्यसपछि अवकाश दिन सकिने विषयले समेत युवा जनशक्तिमा निराशा बढाएको छ । सरकारी प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त भएका वैज्ञानिकलाई संस्थामै भविष्य सुनिश्चित नहुने अवस्था सिर्जना भए दक्ष जनशक्ति विदेश पलायन हुन सक्ने उनको चिन्ता छ ।
कर्मचारीहरूले नयाँ संरचना निर्माण र प्रशासनिक व्यवस्थापनमा अनावश्यक खर्च गर्नुभन्दा नास्टका विद्यमान प्रयोगशाला सुदृढीकरण तथा अनुसन्धान बजेट बढाउनुपर्ने माग गरेका छन् । राज्यले संस्थाका लागि छुट्याएको स्रोतसाधनको उपयोग अनुसन्धानको प्राथमिकता र राष्ट्रिय आवश्यकताका आधारमा हुनुपर्ने उनीहरूको भनाइ छ ।
मन्त्रीको राजीनामासम्म पुग्यो विवाद
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबाट संस्थामा सुधार हुने, राजनीतिक नियुक्तिको प्रवृत्ति रोकिने र वैज्ञानिक गतिविधिले गति लिने अपेक्षा सुरुआती दिनहरूमा गरिएको कर्मचारीहरू बताउँछन् ।
तर अहिले तिनै मन्त्रीको राजीनामा माग्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
कर्मचारीहरूले मन्त्रालयबाट आउने निर्देशन औपचारिक संस्थागत प्रक्रियाभन्दा सामाजिक सञ्जाल र फोनमार्फत आउने गरेको आरोपसमेत लगाएका छन् ।
मन्त्रालयबाट विभिन्न व्यक्तिलाई नास्टमा पठाइएको, उनीहरूलाई फिर्ता पठाउने क्रममा विवाद भएको र कार्यकक्षमा तालासमेत लगाइएको प्रवक्ता पौडेलको भनाइ छ ।
‘हाम्रो प्रतिक्रिया बुझ्नेभन्दा मन्त्रीज्यूको फेसबुकबाटै एकै पटक निर्णय हुन्छ,’ उनले भने ।
यता, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दसैँअघि अध्यादेश आएको र अब नियमावली र कार्यविधि बनिसकेपछि काम अगाडि बढ्ने बताउँछन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही साथीहरूलाई धेरै किचकिच नगर्न अनुरोध छ । विज्ञ विद्वान्हरूले ठोस अवधारणापत्र पठाउनुहोला ।’
अध्यादेश ल्याएपछि नियमावली र कार्यविधि ल्याउनुपर्ने भएकाले अलि ढिलो भएको हो र मन्त्रालयको काम नदेखिएको उनले बताए ।
उनले सामाजिक सञ्जालबाटै भनेका छन्, ‘प्रक्रियागत काम सकेपछि काम गुटुङटुङ हुन्छ । अनुसन्धान र नवप्रवर्तन गर्न चाहनेहरू तयार रहनुहोस् र यो सूचना पढ्नुहोस् । यो केन्द्रमा सर्वसाधारणले आएर अनुसन्धान गर्न पाउनेछन् ।’
उनले आफ्नो फेसबुकबाट अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना एवं सञ्चालनका लागि अनुमानित लागतसहितको अवधारणापत्र आह्वानसम्बन्धी सूचना सार्वजनिक गरेका छन् ।
आठ जना विज्ञ सदस्य सिफारिस गर्न सार्वजनिक सूचना, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालक समिति गठनका सूचनादेखि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले बनाउने भनेको खाद्य पदार्थ तथा पेय पदार्थको अनुसन्धान तथा नवप्रवर्तन केन्द्रको सूचना पनि त्यसमै छ ।
तर कर्मचारीले अध्यादेश तथा नियमावली तत्काल खारेज गर्नुपर्ने, त्यसका नाममा भइरहेको मनोमानी रोक्नुपर्ने माग राखेका छन् ।
मन्त्रालयको हस्तक्षेप अन्त्य गर्नुपर्ने र सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली तथा नीति निर्माण गर्नुपर्ने पनि उनीहरूको मागमा छ ।
त्यस्तै, खुला प्रतिस्पर्धाबाट सक्षम नेतृत्व चयन, साविकको ऐनअन्तर्गत नियुक्त कर्मचारीको सेवासुरक्षा र कर्मचारीको मनोबल उच्च राख्ने वातावरण उनीहरूले खोजेका छन् ।
स्वदेशी दक्ष जनशक्तिलाई सम्मान र अवसर, विद्यमान संरचना सुदृढीकरण, प्रयोगशाला तथा अनुसन्धान बजेट वृद्धि र वैज्ञानिकलाई दबाबमुक्त अनुसन्धानको वातावरण सुनिश्चित गर्न उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
यसैमा उनीहरूले मन्त्री पुनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने मागसमेत समेटेका हुन् ।
‘विज्ञान बचाऔँ, वैज्ञानिक जोगाऔँ, देश बनाऔँ’ भन्ने नारासहित आन्दोलनमा उत्रिएका कर्मचारीले माग पूरा नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने प्रवक्ता पौडेलले बताएका छन् ।