२०८३ मंसिर १३ गते आइतवार / Nov 29 , 2026 , Sunday
२०८३ मंसिर १३ गते आइतवार

भारत भ्रमण : राष्ट्रिय हितको परीक्षा

Nada
भुपेन्द्र थापा ‘माधव’
२०८३ मंसिर १३ गते ०६:००
Shares
भारत भ्रमण : राष्ट्रिय हितको परीक्षा

नेपाल र भारतबीचको सम्बन्ध भूगोल, इतिहास, संस्कृति, अर्थतन्त्र र जनस्तरको आत्मीयताले जोडिएको छ । खुला सिमाना, धार्मिक तथा सांस्कृतिक निकटता र आर्थिक परनिर्भरताले यी दुई देशलाई स्वाभाविक रूपमा एकअर्कासँग नजिक बनाएको छ । तर निकटता र समानता एउटै कुरा होइनन् । मित्रता र परस्पर सम्मान पनि केवल औपचारिक अभिव्यक्तिले स्थापित हुँदैनन् ।  त्यसका लागि राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र पारस्परिक लाभको सुनिश्चितता आवश्यक हुन्छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको २०२६ नोभेम्बर २२–२३ को भारत भ्रमणलाई यही ऐतिहासिक पृष्ठभूमिमा मूल्यांकन गर्नुपर्छ । यो भ्रमण दुई प्रधानमन्त्रीबीचको शिष्टाचार भेटघाट मात्र होइन, विगतका असमान सम्बन्धलाई सुधार्ने र नयाँ पुस्ताको नेतृत्वले नेपालको राष्ट्रिय हितलाई कति प्राथमिकता दिन्छ भन्ने महत्वपूर्ण परीक्षा पनि हो ।

इतिहासका सन्धि र नेपालको कमजोर कूटनीति

नेपाल–भारत सम्बन्धमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि सबैभन्दा बढी विवाद र बहसको विषय बन्दै आएको छ । राणा प्रधानमन्त्री मोहनशमशेरको शासनकालमा भएको यस सन्धिले दुवै देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे पनि यसको दोस्रो धारालगायत केही प्रावधानले नेपालको स्वतन्त्र निर्णय क्षमतामाथि प्रश्न उठाउँदै आएका छन् । हतियार आयातमा परामर्श र आर्थिक गतिविधिमा राष्ट्रिय व्यवहारसम्बन्धी व्यवस्थालाई बदलिँदो राजनीतिक तथा अन्तर्राष्ट्रिय परिस्थितिअनुसार पुनरावलोकन गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ । 

त्यसपछि भएका कोसी र गण्डक सम्झौताले नेपालको जलस्रोत कूटनीतिमा अर्को बहस जन्माए । सन् १९५४ को कोसी सम्झौता र १९५९ को गण्डक सम्झौता बाढी नियन्त्रण, सिँचाइ र विकासका उद्देश्यले गरिएका थिए । तर डुबान, विस्थापन, जग्गाको क्षतिपूर्ति, स्थानीय जनताको अधिकार र लाभको असमान वितरणले नेपालमा असन्तुष्टि बढायो । पछि दुवै सम्झौता संशोधन गर्नुपरेको तथ्यले प्रारम्भिक वार्तामा नेपालको हित पर्याप्त सुरक्षित हुन नसकेको देखाउँछ ।

सन् १९९६ को महाकाली सन्धिलाई पनि ठूलो राष्ट्रिय उपलब्धिका रूपमा प्रस्तुत गरिएको थियो । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबाट ऊर्जा, सिँचाइ र आर्थिक लाभ प्राप्त हुने अपेक्षा गरिएको थियो । तर तीन दशक पुग्न लाग्दा समेत आयोजना कार्यान्वयनको निर्णायक चरणमा पुग्न सकेको छैन । नेपालका जलस्रोत र सम्भावनालाई कागजमा मात्र सीमित राखेर समृद्धि हासिल हुँदैन भन्ने यसले देखाएको छ ।

टनकपुर प्रकरण, कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका सीमा विवादले पनि नेपालको कूटनीतिक कमजोरीलाई उजागर गरेका छन् । तर सबै सन्धि–सम्झौतालाई एउटै अर्थमा राष्ट्रघाती भन्नु पनि इतिहासको न्यायोचित मूल्याङ्कन हुँदैन। तिनका सकारात्मक पक्ष र नेपालको वास्तविक लाभसमेत केलाउनुपर्छ। मूल प्रश्न हो—नेपालले आफ्नो स्रोत, भूगोल र सार्वभौमिकताबाट प्राप्त गर्नुपर्ने लाभ किन पूर्ण रूपमा प्राप्त गर्न सकेन ? 

बालेन्द्रको भ्रमण : उपलब्धि र सम्भावना

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा केही महत्वपूर्ण सहमति र उपलब्धि सार्वजनिक भएका छन् । भारतले नेपाललाई दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ । तर यसको प्रकृति स्पष्ट बुझ्नु पर्छ । ५६ अर्ब रुपैयाँ विपद् पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधारका लागि अनुदान हो भने एक खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका आयोजनाका लागि ऋण सुविधा हो । त्यसैले पूरै रकमलाई अनुदानका रूपमा प्रचार गर्नु उचित हुँदैन । ऋणको ब्याजदर, भुक्तानी अवधि, उपयोगका सर्त र प्रतिफलबारे स्पष्ट जानकारी सार्वजनिक हुनुपर्छ ।

भ्रमणका क्रममा आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। अनुसन्धान तथा शिक्षा, प्रहरी तालिम, प्रशासनिक क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार, स्वास्थ्य, दिगो सहरी विकास र पशुपालन तथा मत्स्य विकास त्यसका प्रमुख क्षेत्र हुन् । नेपालमा भारतीय प्राविधिक शिक्षण संस्थाको बाह्य परिसर स्थापना गर्ने सहमतिले उच्च शिक्षा र अनुसन्धानमा अवसर सिर्जना गर्न सक्छ ।

पारवहनका दृष्टिले पनि महत्त्वपूर्ण सहमति भएको छ। कोलकाता र विशाखापट्टनम बन्दरगाहसँगै गुजरातको दीनदयाल बन्दरगाह र आवश्यक पूर्वाधार तयार भएपछि ओडिसाको पारादीप बन्दरगाह प्रयोग गर्न नेपालले पहुँच पाउने भएको छ । यसले तेस्रो मुलुकसँगको व्यापारमा विकल्प विस्तार गर्न सक्छ । काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमतिले हवाई सम्पर्क विस्तारको सम्भावना बढाएको छ ।

त्यस्तै, रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्गको स्थल सर्वेक्षण अन्तिम भएको घोषणा, नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य, अयोध्या–जनकपुर रेलसेवा सञ्चालन, भारत र नेपाल जोड्ने विद्युत् प्रसारण लाइन निर्माण तथा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास भ्रमणका महत्त्वपूर्ण उपलब्धि हुन् । पञ्चेश्वर, सप्तकोसी र सुनकोसीजस्ता बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई अन्तिम रूप दिने प्रतिबद्धता पनि व्यक्त भएको छ।

यी सहमतिले नेपालको व्यापार, ऊर्जा, शिक्षा, यातायात र पूर्वाधार विकासमा अवसर खोल्न सक्छन् । तर सहमति हुनु र परिणाम प्राप्त हुनु फरक कुरा हुन् । विगतमा पनि नेपालले यस्ता अनेकौँ प्रतिबद्धता सुनेको छ । त्यसैले कार्यान्वयनको समयसीमा, जिम्मेवारी र पारदर्शिता सुनिश्चित गर्नुपर्छ ।

उपलब्धिभन्दा ठूलो चुनौती : राष्ट्रिय स्वार्थको सुरक्षा

यस भ्रमणमा सबैभन्दा गम्भीर प्रश्न सीमा विवादको समाधान हो । संयुक्त वक्तव्यले विद्यमान सीमा समस्यामा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिएको छ । यो सकारात्मक पहल हो, तर कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद समाधान भएको होइन । नेपालले आफ्नो आधिकारिक नक्सामा समेटेको भूभागको वास्तविक स्वामित्व र प्रशासनिक पहुँच सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ ।

जलस्रोतको उपयोगमा पनि समान लाभ र समान जिम्मेवारीको सिद्धान्त लागू हुनुपर्छ । नेपालका नदीमा बन्ने आयोजनाबाट भारतले ऊर्जा र सिँचाइको लाभ लिने तर नेपाली नागरिकले डुबान, विस्थापन र बाढीको पीडा मात्र व्यहोर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ । लगानी, ऋण र विकास सहकार्यका नाममा नेपालको स्रोत र नीतिगत निर्णयमा असमान प्रभाव पर्ने अवस्था आउन दिनु हुँदैन ।

सन् १९५० को सन्धिसहित पुराना सम्झौताहरूलाई समयानुकूल पुनरावलोकन गर्ने सम्भावना भ्रमणको संयुक्त दूरदृष्टि दस्तावेजले अघि सारेको छ । यो नेपालको लामो समयदेखिको मागसँग जोडिएको सकारात्मक पक्ष हो । तर पुनरावलोकनको सम्भावना खुल्नु र असमान प्रावधान हट्नु एउटै कुरा होइन । त्यसका लागि नेपालले स्पष्ट राष्ट्रिय कार्यसूची र बलियो वार्ता क्षमता प्रस्तुत गर्नुपर्छ ।

नयाँ नेतृत्व, पुरानै चुनौती

प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणलाई न त अन्ध समर्थन गर्न मिल्छ, न त प्रमाणबिना राष्ट्रघाती घोषणा गरेर खारेज गर्न । भ्रमणले केही आर्थिक, शैक्षिक, ऊर्जा र पारवहनसम्बन्धी अवसर दिएको छ । तर सीमा विवाद, जलस्रोतको लाभ बाँडफाँट, ऋणको दायित्व र पुराना सन्धिको पुनरावलोकन अझै अधुरा छन् । त्यसैले यसको वास्तविक उपलब्धि आगामी कार्यान्वयनबाट मात्र मापन हुनेछ ।

सरकारले भ्रमणका सबै सहमति र आर्थिक सर्त सार्वजनिक गर्नुपर्छ । संसद्मा विस्तृत छलफल गराउनुपर्छ। सीमा विवाद समाधानका लागि समयबद्ध कूटनीतिक पहल गर्नु पर्छ । पुराना सन्धि–सम्झौताको पुनरावलोकनलाई राजनीतिक नारामा सीमित नराखी परिणाममा पुर्‍याउनु पर्छ ।

नेपालको परराष्ट्र नीति कुनै शक्तिराष्ट्रको दबाब वा अर्को मुलुकसँगको प्रतिस्पर्धामा आधारित हुनु हुँदैन । भारतसँग मित्रता कायम राख्दै चीनलगायत अन्य मुलुकसँग पनि स्वतन्त्र र सन्तुलित सम्बन्ध विस्तार गर्नु नेपालको सार्वभौम अधिकार हो । इतिहासले प्रमाणित गरेको छ—राष्ट्रको भविष्य नेतृत्वको लोकप्रियताले होइन, राष्ट्रिय हितको पक्षमा गरिएका निर्णयले निर्धारण गर्छ । नयाँ अनुहार र नयाँ पुस्ता आउँदैमा पुरानो कूटनीतिक चरित्र स्वतः बदलिँदैन । त्यसका लागि निर्णय गर्ने साहस, राष्ट्रिय स्वार्थप्रतिको निष्ठा र कार्यान्वयन गर्ने क्षमता चाहिन्छ ।

अन्ततः नेपाललाई भारतसँग शत्रुता होइन, समानता चाहिएको छ; निर्भरता होइन, पारस्परिक सम्मान चाहिएको छ; एकपक्षीय लाभ होइन, न्यायोचित साझेदारी चाहिएको छ । भारतसँग मित्रता चाहिन्छ, तर मित्रताको मूल्यमा नेपालको राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता सुम्पिन सकिँदैन । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको वास्तविक सफलता पनि यही कसौटीमा मापन हुनेछ—नेपालले आफ्नो राष्ट्रिय हित कति सुरक्षित गर्‍यो ?

laxmi recruitement

सम्बन्धित खबर