२०८३ मंसिर १३ गते आइतवार / Nov 29 , 2026 , Sunday
२०८३ मंसिर १३ गते आइतवार

एक्सनमा गगन थापा : निगरानीमा देउवा पक्षका ३१ बढी सांसद

Nada
जीवन शर्मा
२०८३ मंसिर १३ गते ०६:३५
Shares
एक्सनमा गगन थापा : निगरानीमा देउवा पक्षका ३१ बढी सांसद

काठमाडौं : ‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिह्न लिएर लडेको र अर्को पार्टीमा लाग्छ भने त्यो कांग्रेसको सदस्य कायम रहँदैन,’ नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समितिको बैठकमा भने । 

यसबारे प्रष्ट गर्दै उनले थपेका छन्, ‘(पार्टी भन्दा फरक गतिविधिमा संलग्न भएका) राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा सदस्य, स्थानीय तहमा मेयर उपमेयरबाट राजीनामा गर्नुहोला । तपाईंले राजीनामा गर्नुभएन भने पार्टीको विधानले जे गर्नु पर्ने हो, गर्छ ।’ 

मंसिर ८–१२ मा कांग्रेसको केन्द्रीय समितिको बैठक बसेको थियो । उक्त बैठक पार्टीको आधिकारीक झण्डा र चुनावचिह्न रूखलाई अनाधिकृत प्रयोग गरिएकोप्रति गम्भीर बनेको हो ।  विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कांग्रेसले गत असोज १८–२४ मा १५ औं महाधिवेशन सम्पन्न गरी निर्वाचन आयोगमा नयाँ समिति र विधान अध्यावधिक गरिसकेको छ । 

तर, महाधिवेशन बहिस्कार गर्ने पूर्वसभापति शेरबहादुर देउवा समुहले समानान्तर महाधिवेशनको अन्तिम तयारीमा छ । उसले कांग्रेसको आधिकारीक चुनावचिह्न रूख र चारतारे भण्डा १४औं महाधिवेशनबाट निर्वाचित नेतृत्वकै हुने दाबीसहित समानान्तर महाधिवेशन तयारी गरेपछि संस्थापन पक्ष आक्रमक बनेको हो ।  

शेरबहादुर देउवा पक्षको गतिविधिलाई अर्को पार्टीको गतिविधिको संज्ञा दिँदै सभापति थापाले आफैँले उक्त पक्षमा लागेका जनप्रतिनिधिलाई पार्टी विधान अनुसार पदमुक्त गर्ने चेतावनी दिएका हुन् ।  कांग्रेसको संस्थापन इतर समुहका नेताहरू समानान्तर महाधिवेशनको तयारी गरीरहँदा संस्थापन पक्षले दिएको चेतावनी पछि कांग्रेसको पूर्वसभापति देउवा समुहमा लागेका जनप्रतिनिधिहरू तरंगित भएका छन् । 

समानान्तर महाधिवेशनमा सक्रिय भएका स्थानीय, प्रदेश, संघ र राष्ट्रिय सभाका जनप्रतिनिधिहरूमाथि कांग्रेसले कारबाही गर्ने नेताहरूले दाबी गरेका छन् । शनिबार पार्टी बैठकको निर्णय सार्वजनीक गरेको कांग्रेसले पार्टीको लेटरप्याड, लोगो र  झण्डालाई अनाधिकृतरूपमा प्रयोग गरेकोप्रति गम्भीररूपमा लिएको जनाएको छ । पार्टीविरूद्ध अनाधिकृत गतिविधि रोक्ने निर्वाचन आयोगमा पत्र लेख्ने बैठकले निर्णय गरेको हो । 

देउवा पक्षको गतिविधिमा लाग्ने नेताहरूमाथि केही दिनमै अर्को कदम चाल्ने तयारी रहेको कांग्रेस महामन्त्री डा डिला संग्रौलाले बताइन् । उनले भनेकी छन्, ‘पार्टीभित्रको आन्तरिक विवाद र वैधानिकताको प्रश्न १५औं महाधिवेशनबाट समाप्त भइसकेको छ । मुलप्रवाहबाट बाहिर गएर गतिविधि गर्नेमाथि कारबाही हुन्छ ।’ पार्टीको आधिकारिक निर्णयविरुद्ध विद्रोही उम्मेदवारी दिने वा असहयोग गर्ने जो कोहीलाई पार्टीले कडा कारबाही गर्ने सन्देश स्पष्ट रूपमा तल्लो तहसम्म प्रवाह गर्न उनले पार्टी पङ्तीलाई आग्रह समेत गरेकी छन् ।  

लामो समयदेखिको आन्तरिक अन्योल, वैधानिकताको बहस र विभिन्न अवरोधहरूलाई चिर्दै निर्वाचन आयोगले नेपाली कांग्रेसको विधानसम्मत विवरण र आधिकारिकतालाई अद्यावधिक गरी मान्यता प्रदान गरिसकेकाले आन्तरिक विवाद र वैधानिकताको प्रश्नलाई सदाका लागि समाप्त भएको महामन्त्री संग्रैलाको जिकीर छ । 

देउवा पक्षको महाधिवेशनमा खुलेर लाग्नेहरूलाई पदमुक्त गर्न लागिएको कांग्रेस नेताहरूको दाबी छ । संस्थापन पक्षले पार्टीको नाम, झण्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरिसकेको  छ । केन्द्रीय समिति बैठकले केही व्यक्ति तथा समूहले नेपाली कांग्रेसको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न ‘रुख’ को अनधिकृत प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा विभिन्न गतिविधि सञ्चालन गर्दै आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको निश्कर्ष निकालेको छ । 

यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याएको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बताए । ‘आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना गर्न गरिएका अवाञ्छित कार्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘पार्टीको नाम, झण्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको छ ।’ 

तर, समानान्तर राजनीतिक गतिविधि गर्दै आएको संस्थापन इतर पक्षले शनिबार नै पत्रकार सम्मेलन गरेर जवाफ फर्काएको छ । इतर समूहका प्रचार–प्रसार समितिका संयोजक एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक्ने दाबी गरे । ‘कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न, पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न सक्दैन्,’ उनले भने, ‘उहाँहरूको कार्यसमितिलाई अद्यावधिक गर्‍यो भन्दैमा कारबाही गर्छौँ भन्ने ढङ्गको अभिव्यक्तिमा कुनै तुक छैन । हामी १४औं महाधिवेशनको म्याण्डेट अनुसार १५औं नियमित महाधिवेशनको तयारीमा छौं ।’ 

तर, नेताहरूका अनुसार दुबै पक्षमा नलागी तटस्थ बसेकाहरूको हकमा भने कारबाही हुने छैन । अर्थात्, महाधिवेशन भएको करिव दुई महिनासम्म पार्टीको संरचना बाहिर रहेका नेताहरूलाई ल्याउने कोशीस जारी छ । यो सम्भव भइसकेको छैन । यस्तो अवस्थामा पार्टी नेतृत्वले मातहतका नेता कार्यकर्तालाई अक्रमक बन्न आन्तरिक निर्देशन दिएको छ ।

सभापति  गगन थापाले महाधिवेशन बहिस्कार गरेर समानान्तर महाधिवेशनका नाममा लेटरप्याड तथा झण्डा र लोगो अनाधिकृत प्रयोग गर्नेहरूप्रति  ‘अफेन्सिप’ हुन निर्देशन दिइसकेको एक पदाधिकारीले बताए । ‘सभापतिले अव डिफेन्सिप हैंन अफेन्सीप’ हुनुपर्‍यो भनेर भन्नु भएको छ’ ती पदाधिकारीले मध्यान्हसँग भने, ‘सभापतिले संवादबाटै आन्तरिक समस्या समाधानमा खोजिरहनुभएको छ । तर, महाधिवेशन बहिस्कार गर्ने साथिहरूले चोइटिएर जानेबाटो रोजेपछि हामीले प्रष्ट भनेका छौं, पार्टीको मुलधारमा आउनेलाई स्वागत छ, छाडेर जानेहरूले पार्टीको झण्डा र लोगो दुरुपयोग गरे कारबाही हुन्छ ।’ 

जनप्रतिनिधिहरू तरंगित

आफू निर्वाचित भएको दल त्याग गरेको अवस्थामा पार्टीले पदमुक्त गर्ने प्रक्रिया अघि बढाउन सक्ने राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रतिनिधि सभामा ३८ सांसद मध्ये देउवा पक्षमा खुलेका समानुपातिक तर्फबाट हरिना देवी कामी र सुशिला ढकाल आचार्य कारर्वाही पर्ने देखिएका छन् । 

त्यस्तै राष्ट्रिय सभामाका २४ सांसदमध्य कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, जीतजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, जगत तिमिल्सिना नारायणदत्त भट्ट देउवा पक्षमा लागेका छन् । प्रदेश सभातर्फ मधेस र कर्णालीमा देउवा पक्षको महाधिवेशनमा लाग्ने प्रदेश सांसद कुनै पनि छैनन् । कोशी प्रदेश सभामा कांग्रेसका २९ सांसद रहेकोमा केदार कार्की, भूपेन्द्र राई र रामकुमार खत्री देउवा पक्षमा छन् । त्यस्तै बागमती प्रदेशका ३६ सांसदमा आठ जना देउवा समूहको महाधिवेशनतिर लागेका छन् ।

विमल ठकुरी, दिपेन्द्र श्रेष्ठ, श्याम खड्का, गोविन्द लम्साल, विनु रायमाझी, माया श्रेष्ठ, कञ्चन वादे र मसिना खड्का देउवा पक्षमा लागेपछि उनीहरू कारबाहीको सूचीमा छन् ।  गण्डकी प्रदेश सभामा रहेका २७ कांग्रेस सांसद मध्य जीत शेरचन र दिपेन्द्र थापा देउवा पक्षमा लागेकाले पार्टीमा नफर्कीए कारबाही हुने अवस्था छ ।  २८ जना प्रदेश सांसद रहेको लुम्बिनी प्रदेशमा रोज राणा र माया पुन मात्रै देउवा पक्षमा छन् । देउवा समुहबाट राणालाई लुम्बिनी प्रदेश सभापति र पुनलाई उपसभापति बनेका छन् ।  

त्यस्तै सुदूरपश्चिममा १७ सांसद मध्ये कमलबहादुर शाह, मेघराज खड्का, प्रकाश बहादुर बम, डम्मरी महरा, सरस्वती खड्का, शिवराज भट्ट र मधु भारती गरी ७ सांसद देउवा पक्षमा खुलेका छन् । कांग्रेसका नेताहरूका अनुसार स्थानीय तहमा कांग्रेसबाट निर्वाचित र हाल देउवा पक्षको महाधिवेशनमा सक्रिय जनप्रतिनिधिहरूको तथ्यांक संकलन जारी रहेको छ । पूरा विवरण आइसकेपछि थप कदम चाल्ने कांग्रेसले तयारी गरेको नेताहरूले दाबी गरेका छन् ।

जनप्रतिनिधिहरू तरंगित बन्नुसँग पार्टीको अध्यावधिकको अवस्था समेत जोडिन पुगेको छ ।  २००३ सालमा स्थापित नेपाली कांग्रेस नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल हो । पार्टीको नाम, झण्डा, चुनाव चिह्न, छाप तथा केन्द्रीय कार्यालयको ठेगानासहितको विस्तृत विवरण निर्वाचन आयोगमा अभिलेखीकृत रहेको कांग्रेसको दाबी छ । 

नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, नेपाली कांग्रेसको २०८२ पुस २७ देखि ३० गतेसम्म सम्पन्न केन्द्रीय विशेष महाधिवेशनको म्यान्डेट तथा पार्टीको विधानको धारा ४३ ले निर्धारित गरेको समयावधिभित्र २०८३ असोज १६ देखि २३ गतेसम्म पार्टीको १५औँ नियमित महाधिवेशन सम्पन्न भई गगनकुमार थापाको सभापतित्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्यसमितिमा भएको परिवर्तनको विवरण तथा विधान संशोधनको विवरण निर्वाचन आयोगबाट मिति २०८३ मंसिर ८ गते अद्यावधिक भइसकेको छ । 

संस्थापन इतर समुहले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न, छाप तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न, नगराउन तथा त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा प्रस्तुत वा प्रचारप्रसार नगर्न केन्द्रीय कार्यसमिति बैठकले आग्रह गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद दुलाल भन्छन्, ‘भ्रमपूर्ण कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सवै सदस्य, तहगत समिति तथा सुभेच्छुकहरूमा समेत बैठकले अपिल गरेको छ ।’ 

laxmi recruitement

सम्बन्धित खबर