२०८३ मंसिर ११ गते शुक्रवार / Nov 27 , 2026 , Friday
२०८३ मंसिर ११ गते शुक्रवार

कांग्रेसको आन्तरिक विवाद अन्त्य भएको डिला संग्रौलाको दाबी

एकजुट भएर स्थानीय निर्वाचनमा जुट्न कार्यकर्तालाई आह्वान

Nada
२०८३ मंसिर ११ गते १६:०४
Shares
कांग्रेसको आन्तरिक विवाद अन्त्य भएको डिला संग्रौलाको दाबी

काठमाडौँ : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले निर्वाचन आयोगले पार्टीको आधिकारिकता अद्यावधिक गरिसकेकाले कांग्रेसभित्रको विवाद अब अन्त्य भएको बताएकी छन् । उनले पार्टीका नेता तथा कार्यकर्तालाई विगतका विवाद बिर्सेर एकताबद्ध हुँदै आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्न आग्रह गरेकी छन् ।

शुक्रबार जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै संग्रौलाले अब अदालत र मुद्दामामिलामा अल्झिनुपर्ने अवस्था नरहेको बताइन् । निर्वाचन आयोगले विधानअनुसार पार्टीको विवरण र आधिकारिकतालाई मान्यता दिइसकेकाले आफूहरू नै आधिकारिक कांग्रेस भएको सन्देश देशभरका वडा र बुथ तहसम्म पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।

उनले पार्टीको ‘हामी तयार छौँ’ अभियानलाई नारामा मात्र सीमित नराखी संगठन निर्माणमा केन्द्रित गर्नुपर्ने बताइन् । बुथ समिति अद्यावधिक गर्ने, क्रियाशील सदस्यता वितरण तथा नवीकरणलाई पारदर्शी बनाउने र घरघरमा पुगेर जनताको विश्वास जित्ने अभियान सञ्चालन गर्न उनले आग्रह गरिन् ।

महामन्त्री संग्रौलाले वर्तमान सरकारका गतिविधिको आलोचना गर्दै जनविरोधी तथा अलोकतान्त्रिक कामको सशक्त विरोध गर्न कांग्रेस सडक र जनतामाझ जानुपर्ने बताइन् । स्वतन्त्र प्रेस, प्रहरी अनुसन्धान र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउँदै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइन् ।

त्यस्तै, चुच्चे नक्सा र ईपीजी प्रतिवेदनका विषयमा सरकारले राष्ट्रिय अडान कमजोर बनाएको आरोप लगाउँदै उनले प्रधानमन्त्रीसँग संसद् र सडक दुवै माध्यमबाट जवाफ माग्नुपर्ने धारणा राखिन् ।

आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै संग्रौलाले लोकप्रिय, जनतासँग निरन्तर सम्पर्कमा रहेका र स्वच्छ छवि भएका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताइन् । पार्टीको आधिकारिक निर्णयविरुद्ध विद्रोही उम्मेदवारी दिने वा असहयोग गर्नेहरूलाई कडा कारबाही गर्नुपर्नेमा समेत उनले जोड दिइन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर