
काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहरीकरणसँग जोडिएको सुकुम्वासी समस्या समाधानका लागि राज्यले सहरभित्रै सम्मानजनक आवासको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
काठमाडौँ उपत्यकाका विभिन्न बस्तीबाट विस्थापित सुकुम्वासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टर छाड्न सरकारले निर्देशन दिएपछि भट्टराईले असन्तुष्टि जनाएका हुन् ।
बस्तीबाट हटाइएका वास्तविक सुकुम्वासीको स्थायी बसोबासबारे महिनौँसम्म टुंगो लाग्न नसक्नुलाई उनले विडम्बनापूर्ण अवस्थाका रूपमा चित्रण गरेका छन् ।
ग्रामीण अर्थतन्त्र र सहरी क्षेत्रमा आवासविहीन नागरिकको अवस्थाबीचको सम्बन्ध उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘स्मरण रहोस्, हाम्रो जस्तो अल्पविकसित देशमा ग्रामीण निर्वाहमुखी अर्थतन्त्र धराशायी भएर वैकल्पिक रोजगारीकानिम्ति शहर पस्न बाध्य श्रमिकहरू नै मुख्य रूपमा शहरमा आवासविहीन अर्थात् सुकुम्वासी बन्दछन् ।’
सरसफाइ, घरेलु काम, हेरचाह तथा ढुवानीजस्ता अत्यावश्यक सेवा क्षेत्रमा श्रम उपलब्ध गराएर सुकुम्वासी नागरिकले सहरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ छ ।
विश्वका विभिन्न मुलुक र सहरमा निश्चित ऐतिहासिक चरणमा देखिने यस्तो समस्यालाई आधुनिक राज्यले कानुनसम्मत र न्यायपूर्ण ढंगले सम्बोधन गर्नुपर्ने भट्टराईले बताएका छन् ।
‘फोहर उठाएर फ्याँकेजस्तो तरिकाले यो आर्थिक-सामाजिक र मानवीय समस्या कहिल्यै हल हुनै सक्दैन।’
सुकुम्वासी समस्यालाई सहरीकरणको क्रममा उत्पन्न हुने ऐतिहासिक प्रक्रियाका रूपमा बुझेर विपन्न नागरिकको सम्मानजनक आवास सुनिश्चित गर्दै दिगो समाधान खोज्नु नै संविधान र समावेशी लोकतन्त्रको मर्म भएको भट्टराईको धारणा छ ।