
काठमाडौं : ज्येष्ठ नागरिक तथा लब्धप्रतिष्ठित जिल्लावासीहरूलाई सम्मान गर्दै ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले आफ्नो २१औं स्थापना दिवस तथा छैटौं अधिवेशन सम्पन्न गरेको छ । समाजका अध्यक्ष बलबहादुर तामाङको अध्यक्षतामा शनिबार सम्पन्न स्थापना दिवस तथा अधिवेशनमा समाजले प्रकाशन गरेको स्थापनादेखि हालसम्मका दस्तावेज संकलनको लोकार्पण गरिएको छ ।
‘हाम्रो गौरव ! हाम्रो ताप्लेजुङ !!’ भन्ने नाराका साथ २०६२ सालमा स्थापित संस्थाले जिल्लाको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा पर्यटकीय विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । अधिवेशन उद्घाटनका अवसरमा अध्यक्ष तामाङले समाज काठमाडौंमा विभिन्न पेसा व्यवसाय गरी बसेका जिल्लावासीबीच आपसी एकता तथा भाइचाराको सम्बन्ध विकास गर्न सफल भएको बताए ।
कार्यक्रममा ताप्लेजुङ जिल्लामा जन्मिएर संसारका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेका ३२ जना प्राज्ञ, जिल्लाका मैवाखोला गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मिरिङदेन गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, सिदिङ्वा गाउँपालिका, सिरिजंघा गाउँपालिका, पाथीभरा गाउँपालिका र फुङलिङ नगरपालिकाका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी, बलबहादुर तामाङ सभापति एसइई उत्कृष्ट छात्रछात्रा पुरस्कार, ताप्लेजुङ कलाकार सम्मान लगायतका सम्मान प्रदान गरिएको थियो ।
सांसद विजय थेवेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघीय तथा प्रदेश सभामा जिल्लाबाट प्रतिनिधित्व गर्ने अन्य सांसदहरूको पनि उपस्थिति रहेको थियो ।
अध्यक्ष तामाङले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको क्षेत्रमा सहयोग पुर्याउन आर्थिक रूपमा विपन्न, असहाय तथा विभिन्न रोगबाट पीडित ताप्लेजुङवासीलाई सहयोग गर्ने नीति तथा मापदण्ड निर्माण गरी मानवीय सेवाको भावनालाई संस्थागत गर्ने प्रयास गरिएको जानकारी दिए । उनले जन्मजात मुटुरोग, क्यान्सर, मिर्गौला रोग तथा आगलागीबाट प्रभावित व्यक्ति र परिवारलाई सहयोग तथा सहयोग संकलनमा समन्वय गरिएको बताए ।
त्यसैगरी, जिल्लाको पर्यटन प्रवर्धन, सडक, केबलकार तथा अन्य भौतिक पूर्वाधार विकासका सवालमा सरोकारवालासँग समन्वय, छलफल र पैरवी गर्ने कार्यले संस्थालाई ताप्लेजुङको विकास र समृद्धिसँग प्रत्यक्ष रूपमा जोड्ने प्रयास गरेको पनि उनले उल्लेख गरे ।
उनले पर्यटन प्रवर्धनका क्षेत्रमा काठमाडौं–धरान–वसन्तपुर–गुफा–साँघु–फुङ्लिङ–पाथीभरा–ओलाङचुङगोला–तिप्ताला पर्यटन प्रवर्धन कार्यक्रम सञ्चालन गरेर ताप्लेजुङको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य अघि बढाएको बताए ।
संस्थाको पहिचान, गरिमा र संस्थागत स्मृतिलाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले पुस्तक प्रकाशन, संस्थाको लोगो अंकित टी–सर्ट, भित्तेपात्रो प्रकाशन तथा विभिन्न प्रचारप्रसारका गतिविधि सञ्चालन गरिएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा पूर्वमन्त्री डा. युवराज खतिवडा, डा. पासाङ शेर्पा, डा. केदार दाहाल, डा. हर्कराज तेम्बे, प्रा.डा. सुरेन्द्र केसी, प्रा.डा. निराजन भट्टराई, प्रा. डा. केशर प्रसाईं, डा. टिष्टा प्रसाईं, प्रा.डा. कमला श्रेष्ठ दाहाल, डा. कविता श्रेष्ठ, डा. सोमनाथ दाहाल, प्रा.डा. रितु गुरुङ, डा. सुदीपजंगबहादुर गुरुङ, डा. घनेन्द्र फागु, डा. वितरणजङ मादेन र डा. देवीप्रसाद प्रसाईंको उपस्थिति रहेको थियो ।
त्यसैगरी, डा. रणध्वज आङ्बुहाङ लिम्बू, डा. चित्र माबो, प्रा. डा. खेम कोइराला बन्धु, प्रा.डा. जीवनकुमार भट्टराई, प्रा.डा. रमेशप्रसाद भट्टराई, प्रा.डा. भरतकुमार भट्टराई, डा. तुलसीप्रसाद गौतम, डा. श्रद्धा आङ्बुहाङ, डा. सुम्मिक इवाराम लिम्बू, डा. राजीव सुब्बा, डा. डिल्लीराम प्रसाईं, डा. रमेश गुरागाईं, डा. धीरेन्द्र नाल्बो र डा. सोमनाथ दाहालको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय भेषभूषा तथा संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो ।