२०८३ मंसिर १२ गते शनिवार / Nov 28 , 2026 , Saturday
२०८३ मंसिर १२ गते शनिवार

बृहत् निःशुल्क शिविरमा एकैदिन ६३३ जनाको आँखा परीक्षण

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ मंसिर ११ गते २१:१९
Shares
बृहत् निःशुल्क शिविरमा एकैदिन ६३३ जनाको आँखा परीक्षण

रौतहट : रौतहटको सदरमुकाम गौरस्थित गौर आँखा अस्पताल पुरेनवाले सञ्चालन गरिरहेको आँखा उपचार महाअभियानअन्तर्गत गौर नगरपालिकाको वडा नं ९ सिर्सियाको हनुमान मन्दिर नजिकै आयोजित बृहत् निःशुल्क आँखा शिविर शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ । ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई घरदैलोमै गुणस्तरीय नेत्र सेवा पुर्‍याउने उद्देश्यले आयोजित शिविरमा एकै दिन ६३३ जना सर्वसाधारणले आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन् । 

विगत एक दशकदेखि निरन्तर मानवीय सेवामा सक्रिय सामाजिक अभियन्ता विजय श्रीवास्तव र अजय श्रीवास्तवको विशेष पहल तथा रूईत फाउन्डेसनको आर्थिक सहयोगमा गौर आँखा अस्पताल पुरेनवाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा सहभागी कुल ६३३ जना सेवाग्राहीमध्ये १९५ जनालाई थप शल्यक्रियाका लागि छनोट गरिएको छ भने २९८ जनालाई निःशुल्क औषधि वितरण गरिएको अस्पतालले जनाए । 

बाँकी सेवाग्राहीलाई आवश्यक आँखा परीक्षण, परामर्श तथा प्राथमिक नेत्र उपचार सेवा उपलब्ध गराइएको अस्पतालका संयोजक सत्येन्द्र पाण्डेयले जानकारी दिए । 

उनका अनुसार शिविरमा मोतियाबिन्दुलगायत आँखाका समस्या पहिचान भई शल्यक्रियाका लागि छनोट गरिएका बिरामीहरूको अस्पतालमा रहने, खाने, औषधोपचार तथा शल्यक्रियालगायत सम्पूर्ण व्यवस्था पूर्ण रूपमा निःशुल्क गरिएको छ । आर्थिक अभावकै कारण अँध्यारो जीवन बिताउन बाध्य विपन्न तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी यो सेवा प्रदान गरिएको अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।

अस्पताल प्रशासक नगेश्वरप्रसाद चौधरीले शिविरको सफलताले ग्रामीण बस्तीमा लुकेर रहेका नेत्र रोगीहरूको पहिचान र उपचारमा ठोस टेवा पुगेको बताए ।

शिविरमा नेत्र अधिकृत बिनिता केशरीको नेतृत्वमा अर्चना सिंह, लालबाबु साह, शिवशंकर महतो, राजेश यादव र प्रद्युम्न यादवसहित आठ सदस्यीय स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले बिहान ९ बजे देखि साँझ ४ बजे सम्म सेवा प्रदान गरेको थियो । आधुनिक उपकरणसहित खटिएको टोलीले भिड व्यवस्थापन गर्दै छिटो, छरितो र भरपर्दो सेवा दिएको स्थानीयवासीले बताए ।

विगत एक दशकदेखि समाजसेवामा समर्पित श्रीवास्तव दाजुभाइले आफ्ना स्वर्गीय आमाबुवाको स्मृतिमा हरेक वर्ष यस्ता मानवीय तथा स्वास्थ्यमूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । शिविरमा उपचारका लागि आएका सेवाग्राहीहरूका लागि उनीहरूले आफ्नै निजी खर्चमा खाना, बसोबास, चिया तथा खाजाको समेत व्यवस्था मिलाएका थिए । सेवाग्राहीहरूले दाजुभाइको परोपकारी कदमको खुलेर प्रशंसा गरेका छन् ।

आँखा उपचार महाअभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन गौर आँखा अस्पतालका अध्यक्ष तथा रौतहट जिल्ला सभापति विजयकुमार सिंह, सदस्य तथा सचिव बच्चाबाबु यादव, अस्पताल प्रशासक नगेश्वरप्रसाद चौधरी र वरिष्ठ लेखा अधिकृत पवनकुमार न्यौपानेसहितको टोलीले सिर्सिया स्थित शिविरस्थलको निरीक्षण तथा अनुगमन गरेको संयोजक पाण्डेयले बताए । अनुगमनका क्रममा सेवा प्रवाह, बिरामीको चाप र व्यवस्थापनको अवस्थाबारे जानकारी लिइएको थियो ।

अस्पतालका अनुसार यसै महाअभियानअन्तर्गत आगामी मंसिर १९ गते रौतहटकै माधवनारायण नगरपालिकामा अर्को निःशुल्क आँखा शिविर सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भइसकेको छ । आगामी शिविरबाट पनि स्थानीय बासिन्दालाई समयमै लाभ लिन अस्पतालले आग्रह गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर