
कपिलवस्तु : सडक निर्माणको अन्तिम भुक्तानी तथा बिल फरफारक गरिदिने भन्दै निर्माण व्यवसायीसँग घुस लिएको आरोपमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका करार इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार नगरपालिकाअन्तर्गत सम्पन्न सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी तथा फरफारक गराउने क्रममा चौधरीले निर्माण व्यवसायीसँग घुस मागेका थिए । अनुसन्धानका क्रममा ह्वाट्सएप च्याट र मोबाइल बैंकिङमार्फत रकम लेनदेन भएको प्रमाण फेला परेको अख्तियारले जनाएको छ ।
चौधरीले निर्माण व्यवसायीसँग ५० हजार रुपैयाँ नगद र फोनेपेमार्फत एक लाख रुपैयाँ गरी कुल एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोप छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम एक लाख ५० हजार रुपैयाँ बिगो, सोही बराबर जरिवाना र कानुनअनुसार थप सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको जनाएको छ ।