
काठमाडौं : करिब साढे दुई वर्षको लामो प्रतिबन्धपछि मलेसियाको श्रम बजार बंगलादेशी श्रमिकहरूका लागि खुला भएको छ । नेपालसँग मलेसियाको रोजगारीमा व्यवधान उत्पन्न भएका बेला बंगलादेशका लागि भने मलेसियाको श्रम बजार खुला भएको हो ।
नेपाल र मलेसियाबीचको श्रम समझदारीमा स्वास्थ्य परीक्षण र मलेसियामा रकम पठाएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेपछि असोज १५ देखि नेपाली श्रमिक मलेसिया जाने क्रम बन्द भएको छ ।
सन् २०२४ को जुन महिनादेखि मलेसियाले बंगलादेशबाट कामदार लिन रोकेको थियो । तर, बंगलादेश सरकारले निरन्तर गरेको उच्चस्तरीय कूटनीतिक पहलपछि पहिलो चरणमा १०३ जना बंगलादेशी श्रमिक शून्य लागतमा शुक्रबार मलेसिया पुगेका छन् ।
बंगलादेशका प्रधानमन्त्री तारिक रहमान र उनको सरकारको प्रभावकारी कूटनीतिक प्रयासका कारण छोटो समयमै मलेसियाको रोजगारी खुलेर बंगलादेशका लागि ऐतिहासिक उपलब्धि हासिल भएको बंगलादेशी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
मलेसिया जाने श्रमिकको पहिलो टोलीलाई बंगलादेशका प्रधानमन्त्री तारिक रहमान आफैं उपस्थित भएर बिदाइ गरेका थिए । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाका लागि बंगलादेशी उच्चायुक्तको कार्यालयका उच्च अधिकारीहरूले उनीहरूको भव्य स्वागत गरेका थिए ।
मलेसियाको श्रम बजार पुनः खुलेसँगै आगामी दिनमा थप हजारौं बंगलादेशी श्रमिक शून्य लागतमा मलेसिया जाने बाटो खुलेको बताइएको छ ।
बंगलादेश ओभरसिज इम्प्लोइमेन्ट एन्ड सर्भिसेस लिमिटेडद्वारा सञ्चालित ‘शून्य लागत’ भर्ना कार्यक्रमअन्तर्गत ११२ जना बंगलादेशी श्रमिक छनोट भएका थिए । तीन वर्षको करारमा गएका उनीहरूको करार नवीकरण गर्न सकिने प्रकृतिको छ । बंगलादेशमा उनीहरूको भर्ना प्रक्रियामा प्रतिश्रमिक करिब २६ हजार ३५० टाका अर्थात् करिब ३१ हजार ३५७ रुपैयाँ खर्च भएको बताइएको छ ।
यस कार्यक्रममार्फत १० हजार श्रमिक मलेसिया पठाइँदै छ । त्यसमध्ये थप २२५ जना आगामी डिसेम्बरमा प्रस्थान गर्ने तयारीमा रहेको बंगलादेशका सरकारी अधिकारीहरूले बताएका छन् ।