२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई २ विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो पटक फाइनल यात्रा तय गरेको छ । रत्नायकेले ब्याटिङमा अविजित ५३ रन बनाउनुका साथै बलिङमा २ विकेट लिए ।

Nada
२०८३ मंसिर ३ गते २१:१४
Shares
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

काठमाडाै‌- श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो पटक फाइनलमा स्थान बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधिनजिक पुगेको हो । चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा ग¥यो ।

सुदूरपश्चिमको जितमा रत्नायके नायक बने । कठिन अवस्थामा पनि एक छेउ सम्हालेर खेलेका उनले अविजित ५३ रन बनाए । ४२ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे । टोलीलाई जित दिलाउने चौका पनि उनकै ब्याटबाट निस्कियो । बलिङमा समेत प्रभाव जमाएका रत्नायकेले दुई विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले सुरुदेखि नै सहज लय समात्न सकेन । आक्रामक सुरुवात गरेका ओपनर विनोद भण्डारीले १३ बलमा २३ रन बनाए पनि अर्का ओपनर जर्ज मन्से ८ रनमै रोकिए । स्कट कुगेलेइन २ र इशान पाण्डे १० रनमा आउट भएपछि सुदूरपश्चिम ४५ रनमा चार विकेट गुमाएर दबाबमा परेको थियो ।

त्यसपछि रत्नायकेले कप्तान दीपेन्द्रसिंह ऐरीसँग पाँचौँ विकेटका लागि ३१ रन र आरिफ शेखसँग छैटौँ विकेटका लागि २६ रनको साझेदारी गरे । दीपेन्द्रले १५ र आरिफले १० रन बनाए । तर, उनीहरू आउट भएपछि पनि रत्नायकेले धैर्य गुमाएनन् । अन्तिमसम्म टिकेर उनले टोलीलाई फाइनल पु¥याए ।

बलिङमा चितवनका रञ्जित कुमारले दुई विकेट लिए । कमलसिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाहुद्दिन खानले एक–एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । उसका लागि डाविन मालानले सर्वाधिक अविजित ७१ रन जोडे । ५१ बल खेलेका उनले ९ चौका र दुई छक्का प्रहार गरे ।

मालानले एकातिरबाट इनिङ्स सम्हाले पनि अर्को छेउबाट नियमित विकेट गुम्दा चितवन ठूलो योगफल बनाउन असफल भयो । सातौँ विकेटका लागि उनले सलाहुद्दिन खानसँग ४० रनको साझेदारी गरे । खानले १६ बलमा १८ र कमलसिंह ऐरीले ८ बलमा १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका स्कट कुगेलेइनले तीन विकेट लिए । रत्नायकेले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले एक–एक विकेट लिए ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिमले फाइनल पुग्न दोस्रो अवसर पाएको थियो । त्यसलाई सदुपयोग गर्दै टोलीले उपाधि भिडन्तमा स्थान बनाएको हो । अब सुदूरपश्चिमले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर