
क्वालालम्पुर : नेपाली राजदूतावास मलेसियाले मलेसियामा अवैधानिक रूपमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई यथाशीघ्र घरफिर्ती कार्यक्रममार्फत स्वदेश फर्कन आग्रह गरेको छ ।
व्यापक धरपकड र डिपोर्टका माध्यमबाट अवैधानिक श्रमिक सफाइको अभियान चलाइएको छ । मलेसिया सरकार गैरकानुनी रूपमा बसोबास गर्ने बिदेसी नागरिकविरुद्ध कडाइका साथ उत्रिएको छ । १० महिनामा २ लाख ४३ हजारलाई डिपोर्ट र ७० हजारजनालाई पक्राउ गरेको बताइएको छ ।
मलेसियामा आप्रवासी श्रमिकमाझ ‘बुंकुस’ नामले चिनिने आममाफी तथा स्वदेश फिर्ती कार्यक्रम (पिआरएम २.०)को म्याद आगामी मे २०२७ सम्म थपिएको छ ।
मलेसियाको अध्यागमन विभागका अनुसार अवैधानिक रूपमा बसेका विदेशी नागरिकले कुनै कानुनी कारबाही वा जेल सजायबिना नै तोकिएको जरिवाना तिरेर स्वदेश फर्किन पाउने गरी यो अवधि लम्ब्याइएको हो । भिसा अवधि सकिएर बसेकाका लागि ५ सय रिंगेट, भिसाको सर्त उल्लंघन गरेकाहरूका लागि ३ सय रिंगेट जरिवाना तोकिएको छ ।