२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

युएईमा नेपालीले आधा दर्जन समस्याबारे गृहमन्त्रीलाई गराए ध्यानाकर्षण 

Nada
निशान्त पाठक
२०८३ मंसिर १ गते ११:१९
Shares
युएईमा नेपालीले आधा दर्जन समस्याबारे गृहमन्त्रीलाई गराए ध्यानाकर्षण 

दुबई, युएई : संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका प्रवासी नेपालीहरूले गृहमन्त्री सुदन गुरुङलाई आधा दर्जनभन्दा बढी समस्या समाधानका लागि ध्यानाकर्षण गराएका छन् । नेपालीहरूले युएईमा घरेलु कामदारका रूपमा काम गरिरहेका कतिपय नेपाली महिला श्रमिक धेरै वर्षदेखि नेपाल फर्कन नपाएको पीडा सुनाएका छन् ।

करार अवधि सकिएपछि नेपाल आई पुनः रोजगारीमा फर्कन श्रम स्वीकृति नपाइने डरले बर्सौंदेखि परिवार भेट्नसमेत आउन सकेका छैनन् । यस विषयमा नेपाल सरकारले विशेष पहल गरिदिनुपर्ने माग उनीहरूको छ ।

प्रवासी नेपालीहरूले ४५–५० डिग्रीसम्मको चर्को गर्मीमा दैनिक १३–१४ घण्टासम्म काम गर्दा मासिक तलब जम्मा ८ देखि ९ सय दिराम मात्र पाइरहेको भन्दै न्यूनतम तलब कम्तीमा १ हजार ८०० देखि २ हजार दिरामसम्म पु¥याउने विषयमा युएई सरकारसँग कूटनीतिक पहल गरिदिन माग गरेका छन् । यसबाट लाखौं नेपाली श्रमिकलाई राहत मिल्ने उनीहरूले बताएका छन् ।

थोरै कम्पनीले मात्रै नियमित तलब दिने तर कतिपय कम्पनीले महिनौंसम्म तलब नदिएको उनीहरूको गुनासो छ । नेपालमा आमा–बुबाको मृत्यु हुँदा वा परिवारमा ठुलो विपत्ति पर्दासमेत बिदा नदिने मात्र होइन, पासपोर्ट नै लुकाएर नेपाल जान नदिएका गुनासा पनि उनीहरूले मन्त्री गुरुङलाई सुनाएका छन् । 

युएई र नेपालबीच श्रम सम्झौता छ । तर कतिपयले सम्झौतामा उल्लेख भएको काम, तलब र सेवा–सुविधा नदिने र कसैले काम नै नपाएर अलपत्र पर्ने गरेका छन् ।

नेपालीहरूले यस्ता कम्पनीहरूको मागपत्र प्रमाणीकरण र वास्तविक रोजगारीको अवस्थाबारे कडा अनुगमन गर्न माग गरेका छन् । कतिपय नेपालीहरू अन्जानमा कानुनी समस्यामा फसेर जेलमा छन् । कतिपयले आफ्नो सजाय वा कानुनी प्रक्रिया पूरा गरिसक्दा पनि फर्कने टिकट जुटाउन नसकेका कारण नेपाल फर्कन पाएका छैनन् । कसैको आवश्यक कागजात नबनेको र कसैलाई कानुनी सहयोगको आवश्यकता भए पनि सहयोग पाउन नसकेको उनीहरूले बताएका छन् ।

यस्ता समस्यामा परेका नेपालीहरूलाई आवश्यक कानुनी सहयोग, यात्रा कागजात तथा स्वदेश फर्कने टिकटको व्यवस्था गरी छिटोभन्दा छिटो नेपाल फर्काउन पहल गर्न पनि नेपालीहरूको माग छ ।

युएईमा बसेर नेपाली समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्दा सुन तस्करी, अवैध हुन्डी कारोबार, मानवतस्करी तथा नेपालीलाई विभिन्न प्रलोभनमा पारेर ठगी गर्नेहरूमाथि आवश्यक छानबिन तथा नियन्त्रण गर्न माग पनि गरिएको छ ।

संख्या बढ्दै जाँदा युएईमा नेपाली श्रमिकका समस्या र गुनासा पनि बढेका छन् । यहॉ कार्यरत वा व्यवसाय गरी बसेका नेपालीहरूले हरेकपटक नेपाल सरकारका मन्त्रीहरूको युएई भ्रमणमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराउने गरेका छन् । तथापि समस्याको ठोस समाधान भएको महसुस नभएको पनि कतिपयको भनाइ छ ।

रेमिट्यान्स पठाउने नेपालीहरूलाई विशेष सहुलियत र सुविधा दिनुपर्ने माग समेत नेपालीहरूले राखेका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर