
काठमाडौं : वैदेशिक राेजगार क्षेत्रकाे अग्रणी संस्था इम्पावर हन्टर एचआर सोलुसन प्रा.लि.काे पहलमा युएईस्थित एक राेजगारदाताले भोटेकोशी बाढीप्रभावितका लागि करिब ८ लाख ४० हजार रुपैयाँ बराबर हुने २० हजार दिराम सहयोग गरेको छ ।
इम्पावर हन्टर एचआरका बिजनेस डेभलपमेन्ट डाइरेक्टर तीर्थबहादुर गिरीसमेतको उपस्थितिमा युएईस्थित राेजगारदाता सफारी हाइफर मार्केट ग्रुपका सञ्चालक अब्दुल साहिवले दुबईस्थित नेपाली महावाणिज्यदूत हरिप्रसाद ओडारीलाई उक्त रकम हस्तान्तरण गरेका छन् । उक रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार काेषमा जम्मा भएको नेपाल वैदेशिक राेजगार व्यवसायी संघका सचिव समेत रहेकम म्यानपावर सञ्चालन केदारनाथ अधिकारीले जानकारी दिए ।
कठिन समयमा आफूहरू नेपालको साथमा रहेको भन्दै सफारी सञ्चालक साहिवले बाढीबाट प्रभावित नेपाली जनतालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले कम्पनीले प्रदान गरेको रकम बाढी प्रभावित क्षेत्रमा प्रभावितहरूकाे स्वास्थ्य, शिक्षा, मेडिकल, तालिम, आवास जस्ता विषयमा सदुपयोग हाेस् भन्ने चाहेको पनि उल्लेख गरे ।