२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

अनियन्त्रित महँगी, ग्यासको हाहाकार कायमै

Nada
छबि सापकोटा
२०८३ असोज १ गते ०६:३५
Shares
अनियन्त्रित महँगी, ग्यासको हाहाकार कायमै

काठमाडौं : चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको छ । प्रत्येक वर्ष चाडपर्वलाई कमाउने सिजन बनाउँदै व्यवसायीले अस्वाभाविक मूल्य बढाउने गरेकोमा यसपटक भोटेकोशी बाढी र कृष्णभिर पहिरोको बहाना थपिएको छ ।

ncell

भदौ १० गते भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण ग्यासका बुलेटसहित ठुला मालवाहक सवारी रोकिए । जसका कारण काठमाडौं उपत्यकामा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा असर परेको छ । यही अवस्थाको फाइदा उठाउँदै व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी आफूखुसी मूल्य निर्धारण गरिरहेको पाइएको छ । 

बजारमा ग्यास, चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । चाडपर्व नजिकिँदै गर्दा अभावको बहाना देखाउँदै कालोबजारी र मूल्यवृद्धि गर्ने प्रवृत्ति बढेको छ । सरकारले बजार व्यवस्था नियन्त्रण गर्न नसक्दा मुख्य चाडपर्व नजिकिँदा उपभोग्य वस्तुको मूल्य अकासिएको छ । महिनांैदेखि खाना पकाउने ग्यासको अभाव हुँदा पनि सहज आपूर्ति तथा बिक्री वितरणको व्यवस्था मिलाउन सरकार चुकेको छ । 

भोटेकोशी बाढी, कृष्णभिर पहिरो र मध्यपूर्व युद्धले आपूर्ति व्यवस्थामा व्यवधान आएकै थियो । त्यसमा स्टक राख्ने र सहज रूपमा बिक्रीवितरण गर्ने प्रणाली व्यवस्थित गर्न नसक्दा बजारमा हाहाकारको स्थिति उत्पन्न भएको छ । सरकारी निकायले न प्रभावकारी बजार अनुगमन गरेका छन्, न त वितरण प्रणालीलाई सुधारेका छन् । बजारप्रति निरन्तरको अविश्वासका कारण उपभोक्ता भने आवश्यकभन्दा धेरै ग्यास सिलिन्डर र उपभोग्य वस्तु थुपार्न लागिरहेका छन् । अहिलेको महँगी र ग्यासको अभावको मुख्य कारण यसैलाई मानिएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य दैनिक उपभोग्य वस्तुमा बिनाकारण मूल्य बढाउने काम भएको बताउँछन् । ‘अनावश्यक मूल्यवृद्धि गर्नलाई सरकारले कडा कारबाही गर्नुपर्छ,’ उनले भने । 

बाढी–पहिरोको बहाना

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार बाढी र पहिरोको बहानामा बजारमा कृत्रिम अभाव र कालोबजारी बढेको छ । ‘भोटेकोशीमा आएको विनाशकारी बाढी र कृष्णभिरलगायत राजमार्गमा गएको पहिरोले देशको मुख्य आपूर्ति प्रणाली अवरुद्ध हुँदा मनलाग्दी रूपमा बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढिरहेको छ,’ महर्जनले भने ।

प्राकृतिक विपत्तिको फाइदा उठाउँदै दाल, चामल, तरकारी, खानेतेल र एलपी ग्यासजस्ता अत्यावश्यक वस्तुमा अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना गरिएको उनले बताए । बजार अनुगमन कर्मकाण्डी मात्र हुँदा त्यसको असर बजारमा देखिएको महर्जन बताउँछन् । 

राज्य संयन्त्रको उपस्थिति बजारमा कमजोर हुँदा आपूर्ति शृंखला बिग्रिएको महर्जनको विश्लेषण छ । सरकारी स्वामित्वका साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समेत संकटका बेला बजार हस्तक्षेप गरी मूल्य नियन्त्रण गर्न नसकेको उनले बताए ।

बजारभाउ १५ दिनमै उकालो 

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार चाडपर्व नजिकिँदै गर्दा विशेषगरी चामल, दाल, तेल र चिनीको मूल्य बढेको छ । होलसेलमै मूल्य बढेपछि खुद्रा मूल्य पनि बढिरहेको उनले बताए ।

खानेतेल र सनफ्लावर तेलको मूल्य लिटरमा ३० रुपैयाँसम्म बढेको छ । दालको मूल्य प्रतिकेजी २५ देखि ३० रुपैयाँसम्म बढेको छ भने चिनीको मूल्य प्रतिकेजी २० रुपैयाँ बढेको छ । माछा, मासु र अण्डाको मूल्यसमेत बढेको छ ।

बज्राचार्यका अनुसार पछिल्लो १५ दिनमै बजारमा मूल्य तीव्र रूपमा उकालो लागेको हो । पैसा तिरेर पनि उपभोक्ताले तीन महिनादेखि सहज रूपमा ग्यास पाउन सकेका छैनन् । ‘दसैं, तिहारलगायत चाडबाडको बेला सधैं चिनी अभाव गराइन्छ, महँगो बनाइन्छ तर बढी पैसा दियो भने चिनी जति पनि पाइन्छ । यस्तो किन हुन्छ ? ती उद्योगी व्यापारीमाथि कारबाही र अनुगमन किन हुँदैन ?’ बज्राचार्यले प्रश्न गरे । 

आपूर्ति व्यवस्थापनमै कमजोरी

बजारमा मूल्यवृद्धिको मुख्य कारण सरकारले आपूर्ति व्यवस्थापन गर्न नसक्नु रहेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । भोटेकोशी, कृष्णभिर पहिरो र मध्यपश्चिम एसिया द्वन्द्वले आपूर्तिमा देखिएको समस्या हटाउन सरकारले गम्भीर प्रयास नगरेको उनीहरूको गुनासो छ ।

चाडपर्वमा हरेक वर्ष समस्या आउने थाहा हुँदाहुँदै सरकारी संस्थानदेखि निजी क्षेत्रसम्मले पर्याप्त मौज्दात नराख्ने गरेको बताइएको छ । नेपालमा भण्डारण व्यवस्थापनको स्पष्ट नीति नहुँदा व्यवसायीले पर्याप्त स्टक राख्न नसकेको पनि व्यवसायीको भनाइ छ ।

बढी स्टक राख्दा कालोबजारीको आरोप लाग्ने र सरकारी निकायबाटै छापा पर्ने अवस्थाले स्टक व्यवस्थापन प्रभावित भएको उनीहरू बताउँछन् । बिक्री वितरणमा आफूखुसी मूल्य निर्धारण हुने र एउटै वस्तुको मूल्य स्थानअनुसार फरक हुँदा उपभोक्ताले वास्तविक मूल्य थाहा पाउन नसकेको गुनासो छ ।

बजार अनुगमनसमेत प्रभावकारी हुन नसकेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । ठुला व्यवसायीलाई भन्दा साना व्यवसायीलाई मात्र कारबाही गर्ने प्रवृत्तिले मूल्यवृद्धि नियन्त्रण हुन नसकेको उनीहरूको भनाइ छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत भने कृष्णभिर सडक खण्ड पहिरोका कारणले आपूर्तिमा समस्या देखिएको बताउँछन् । ‘अब बाटो खुल्दै छ । ग्यासका बुलेट आइरहेका छन् । खाना पकाउने ग्यास केही दिनमै सहज हुन्छ,’ उनले भने, ‘अन्य उपभोग्य वस्तुको समेत आयात र व्यवस्थापनमा सरकार गम्भीर छ ।’ 

उपभोक्ताको त्रासले पनि माग बढ्यो

बजारमा मूल्य बढ्दै गएपछि अझै बढ्ने त्रासले उपभोक्ताले आवश्यकताभन्दा बढी वस्तु खरिद गर्ने गरेका छन् । यसले बजारमा माग बढाउने र व्यवसायीले त्यसैको मौका छोपेर मूल्य बढाउने गरेको बताइएको छ ।

उपभोक्तामा बजार मूल्यप्रति विश्वास कमजोर हुँदा आपूर्ति केही घट्नेबित्तिकै अभावको त्रास फैलिने गरेको छ । त्यसको असर दैनिक उपभोग्य वस्तुको बजारमा देखिने गरेको छ । 

यता बजार अनुगमनका लागि संघीय, प्रदेश र स्थानीय तहदेखि वाणिज्य तथा उपभोक्ता आपूर्ति विभागसम्मका निकाय छन् । तर बजारमा भइरहेको अस्वाभाविक मूल्यवृद्धिप्रति प्रभावकारी अनुगमन र हस्तक्षेप हुन नसकेको उपभोक्ताको गुनासो छ । चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले आपूर्ति सहज बनाउनुपर्ने र मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन आवश्यक देखिएको छ । 

सम्बन्धित खबर