२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

विद्युत् प्राधिकरणमा डिजिटल अभियान, डिएमएस र सफ्टवेयर बेस्ड बिलिङ सिस्टम सुरु

Nada
२०८३ साउन २० गते १५:३९
Shares
विद्युत् प्राधिकरणमा डिजिटल अभियान, डिएमएस र सफ्टवेयर बेस्ड बिलिङ सिस्टम सुरु

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आफ्नो 'डिजिटल एनइए' अवधारणालाई थप सुदृढ बनाउँदै विद्युत व्यापार विभागमार्फत निर्मित डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) तथा सफ्टवेयर बेस्ड बिलिङ सिस्टम सुरुवात गरेको छ ।

ncell

बुधबार प्राधिकरणमा आयोजित विशेष कार्यक्रममा कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले दुवै प्रणालीको औपचारिक शुभारम्भ गरे । कार्यक्रममा व्यवसाय विकास निर्देशनालयका उप कार्यकारी निर्देशक चन्दा न्यौपाने, विद्युत् व्यापार विभागका निर्देशक थर्कबहादुर थापा तथा विभागका कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रणालीको प्राविधिक प्रस्तुतीकरण ई. सन्जिब भट्टराईले गरेका थिए ।

​कार्यक्रमको सुरुवात गर्दै निर्देशक थापाले प्रविधिको प्रयोगसँगै विभाग थप पारदर्शी र स्वतन्त्र ऊर्जा प्रवर्धक (आइपिपिएस)मैत्री बन्दै गएको र यसले आगामी दिनमा विद्युत् खरिद सम्झौता (पिपिए) तथा निर्माण व्यवस्थापनसम्बन्धी कार्यलाई थप सहज बनाउने बताए ।

त्यसैगरी, कार्यकारी निर्देशक श्रेष्ठले डिजिटल नेपाल विद्युत् प्राधिकरण निर्माणको लक्ष्यमा विभागको यो पहलको प्रशंसा गर्दै यी प्रणालीहरूलाई यथाशीघ्र निरन्तर कार्यान्वयनमा ल्याउन र समयसापेक्ष परिष्कृत गर्दै लैजान निर्देशन दिए ।

​नयाँ सञ्चालनमा आएको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) मार्फत अब निर्माणाधीन आयोजनाहरूले आफ्ना चौमासिक प्रगति विवरण, सञ्चालित आयोजनाहरूले वार्षिक प्रतिवेदन, समन्वय समितिका माइन्युट र बिमा विवरणहरू अनलाइनबाटै बुझाउन सक्नेछन् ।

साथै, आइपिपिएसहरूले विभागसँग गर्ने पत्रआदान-प्रदान डिएमएसबाटै गर्न सक्नेछन् भने सम्पूर्ण पिपिए र आयोजनाका जानकारीहरू एउटै एकीकृत प्लेटफर्ममा उपलब्ध हुनेछन् ।

सफ्टवेयर बेस्ड बिलिङ सिस्टममार्फत सञ्चालनमा रहेका आयोजनाहरूले एभाइलाबिलिटी डिक्ल्यरेसन तथा रिभाइज्ड एभाइलाबिलिटी डिक्ल्यरेसन पेस गरी अनलाइनबाटै स्वीकृति लिन सक्ने, संयुक्त मिटर रिडिङ पेस गर्न सक्ने र मासिक विद्युत् बिलहरू अनलाइनबाटै प्रक्रियामा लैजान सक्ने बताइएको छ ।

यस नयाँ डिजिटल प्रणालीको सुरुवातसँगै निजी क्षेत्रका ऊर्जा प्रवर्धक र विद्युत् प्राधिकरणबीचको प्रशासनिक तथा व्यावसायिक कार्यसम्पादन थप छरितो, पारदर्शी र प्रविधिमैत्री हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर