२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

एकै फिडरमा निर्भर प्युठानको विद्युत् प्रणाली : पूर्वाधार अपूरो हुँदा छैन भरपर्दो सेवा

Nada
मधुसुदन भण्डारी
२०८३ साउन २० गते १३:२०
Shares
एकै फिडरमा निर्भर प्युठानको विद्युत् प्रणाली : पूर्वाधार अपूरो हुँदा छैन भरपर्दो सेवा

प्युठान : मुलुकले पछिल्लो दशकमा विद्युत् उत्पादनमा उल्लेखनीय प्रगति गर्दै लोडसेडिङ अन्त्य गरेको छ । विद्युत् निर्यातको चर्चा पनि बढ्दो छ । तर उत्पादनमा भएको यो उपलब्धिको प्रत्यक्ष लाभ भने प्युठानका उपभोक्ताले अझै पूर्ण रूपमा अनुभूति गर्न सकेका छैनन् । जिल्लामा विद्युत् पहुँच विस्तार भए पनि वितरण प्रणाली कमजोर हुँदा भरपर्दो सेवा अझै चुनौतीपूर्ण बनेको छ ।

ncell

नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रले सार्वजनिक गरेको प्राविधिक प्रतिवेदनअनुसार जिल्लाको अधिकांश विद्युत् प्रणाली अझै एकल स्रोत (सिंगल सोर्स सप्लाई) मा आधारित छ । वितरण केन्द्रका प्रमुख इन्जिनियर प्रशान्त कुमार झाले एउटा फिडरमा समस्या आउँदा वैकल्पिक आपूर्ति नहुने भएकाले हजारौं उपभोक्ता विद्युत् सेवाबाट वञ्चित हुने अवस्था रहेको बताए ।

उनका अनुसार यो केवल प्राविधिक समस्या मात्र नभई वितरण पूर्वाधार निर्माणमा देखिएको दीर्घकालीन संरचनागत कमजोरीको परिणाम पनि हो ।

प्युठान वितरण केन्द्रले हाल ३४ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराइरहेको जनाएको छ । केन्द्रको सेवा प्युठान र स्वर्गद्वारी नगरपालिकासहित जिल्लाका सात गाउँपालिकासम्म विस्तार भएको छ । सयौं किलोमिटर वितरण लाइन र सयभन्दा बढी वितरण ट्रान्सफर्मर सञ्चालनमा रहे पनि बढ्दो मागअनुसार पूर्वाधार विस्तार हुन नसक्दा सेवा गुणस्तर प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

भौगोलिक रूपमा व्यापक वितरण सञ्जाल विस्तार भए पनि एउटै फिडरमा निर्भर प्रणाली, पुराना ट्रान्सफर्मर, बढ्दो विद्युत् लोड तथा वैकल्पिक आपूर्ति प्रणालीको अभावले बारम्बार विद्युत् अवरोध र भोल्टेज समस्या निम्त्याइरहेको छ ।

ऊर्जा विज्ञ प्रा. डा. गोविन्दराज पोखरेलका अनुसार कुनै क्षेत्रमा विद्युत् लाइन पुग्नु मात्र पर्याप्त हुँदैन । आधुनिक विद्युत् प्रणालीको मापन गुणस्तरीय, निरन्तर र सुरक्षित विद्युत् आपूर्तिबाट हुने भएकाले पहुँच र विश्वसनीयता फरक विषय हुन् ।

प्युठान नगरपालिका–८ दम्तीमा करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको ३३/११ केभी सबस्टेसन अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । सबस्टेसन निर्माण सम्पन्न भए पनि त्यससँग जोडिने ११ केभी वितरण लाइन पूर्ण रूपमा तयार नभएकाले यसको उद्देश्यअनुसार सेवा विस्तार हुन सकेको छैन ।

यसका कारण नयाँ लोड सेन्टर सञ्चालनमा आउन नसकेको, पुराना ट्रान्सफर्मरमा अत्यधिक भार परेको र वितरण प्रणालीको जोखिम बढेको प्राधिकरणले जनाएको छ ।

झिमरुक नदी तटीय क्षेत्र हुँदै विस्तार गरिएको प्रसारण लाइन व्यवस्थापनमा पनि समस्या रहेको भन्दै स्थानीय तहबाट गुनासो आउने गरेको छ ।

ऊर्जा पूर्वाधारमा मुख्य संरचना निर्माण हुने तर वितरण संरचना अधुरै रहने प्रवृत्ति नेपालका अन्य जिल्लामा पनि देखिने गरेको छ, जसले सार्वजनिक लगानीको प्रभावकारितामाथि प्रश्न उठाउने गरेको छ ।

दम्ती सबस्टेसनबाट नौबहिनी, मच्छी–ठुलावेसी तथा प्युठान नगरपालिका क्षेत्रमा विद्युत् आपूर्ति सुधार गर्ने उद्देश्यसहित करिब एक दशकअघि यो आयोजना निर्माण गरिएको थियो ।

सबस्टेसनबाट सञ्चालन हुने तीनवटा ११ केभी फिडर निर्माण सम्पन्न गर्न अझै करिब ८ करोड ५७ लाख रुपैयाँ आवश्यक रहेको प्युठान वितरण केन्द्रले जनाएको छ ।

कतिपय स्थानमा पोल गाडिए पनि लाइन विस्तार हुन सकेको छैन भने कतै लाइन तयार भए पनि ट्रान्सफर्मर जडान हुन बाँकी छ । सडक विस्तारका क्रममा विद्युत् संरचना क्षति पुग्नु, स्थानीय अवरोध तथा बजेट अभावले पनि काम प्रभावित भएको प्राधिकरणको भनाइ छ ।

प्युठानको अधिकांश भूभाग पहाडी तथा विकट भएकाले लामो वितरण लाइन, पहिरो, वन क्षेत्र, वर्षायाम र सडक पहुँचको अभावले मर्मतसम्भार जटिल र खर्चिलो बनेको छ ।

प्राधिकरणले दुर्गम कार्यक्षेत्र, एकल फिडर प्रणाली र बारम्बार हुने ट्रिपिङलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरेको छ ।

यस्तो अवस्थामा सानो प्राविधिक समस्या आउँदा पनि ठूलो क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुने जोखिम रहने ऊर्जा क्षेत्रका प्राविधिकहरू बताउँछन् । विकसित मुलुकहरूले यही जोखिम न्यूनीकरणका लागि बहुविकल्पीय (रेडन्डेन्ट) वितरण प्रणाली अपनाउने गरेका छन् ।

विद्युतीय चुलो, सिँचाइ, ग्रामीण विद्युतीकरण, साना उद्योग तथा व्यवसाय विस्तारसँगै प्युठानमा विद्युत् माग तीव्र रूपमा बढिरहेको छ । तर वितरण ट्रान्सफर्मरको क्षमता त्यसअनुसार विस्तार हुन नसक्दा समस्या झन् जटिल बन्दै गएको छ ।

प्राधिकरणले पुराना ट्रान्सफर्मर प्रतिस्थापन तथा थप ट्रान्सफर्मर जडानका लागि छुट्टै बजेट आवश्यक रहेको जनाएको छ । समयमै क्षमता विस्तार नगरे आगामी वर्षहरूमा भोल्टेज ड्रप, ट्रिपिङ र उपकरणमा क्षति बढ्ने जोखिम रहेको प्राविधिकहरूको भनाइ छ ।

गत आर्थिक वर्षमा विभिन्न स्थानमा नयाँ वितरण ट्रान्सफर्मर जडान, ट्रान्सफर्मर फाउन्डेसन सुदृढीकरण, मिटर प्रतिस्थापन तथा ग्राहकको केवाईसी अद्यावधिकजस्ता काम सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ ।

No description available.

यद्यपि यी प्रयासले तत्काल सेवा व्यवस्थापनमा केही सुधार ल्याए पनि दीर्घकालीन समाधानका लागि ठूलो पूर्वाधार लगानी आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ ।

प्राधिकरणले आगामी एक वर्षभित्र दम्ती सबस्टेसन पूर्ण रूपमा सञ्चालनमा ल्याउने, तीनवटा ११ केभी फिडर सञ्चालन गर्ने, थप ट्रान्सफर्मर जडान गर्ने तथा बजार क्षेत्रमा एबीसी (ABC) केबलमार्फत सुरक्षित वितरण प्रणाली विस्तार गर्ने योजना अघि सारेको छ ।

यस्तै, आगामी तीन वर्षभित्र वैकल्पिक विद्युत् आपूर्ति प्रणाली विकास गर्ने, नयाँ सबस्टेसन निर्माण गर्ने तथा हाल कायम रहेको एकल स्रोतमा आधारित विद्युत् आपूर्ति प्रणाली अन्त्य गर्ने दीर्घकालीन लक्ष्य पनि सार्वजनिक गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको जिम्मेवारी विद्युत् उत्पादनसँगै भरपर्दो प्रसारण र वितरण प्रणाली विकास गर्नु पनि हो । राष्ट्रिय ऊर्जा नीतिले आधुनिक, सुरक्षित र उपभोक्तामैत्री वितरण प्रणालीलाई प्राथमिकतामा राखे पनि प्युठानको अवस्था हेर्दा नीति र व्यवहारबीच अझै ठुलो दूरी रहेको देखिन्छ ।

नेपालले विद्युत् उत्पादनमा उल्लेखनीय सफलता हासिल गरे पनि उपभोक्ताले अनुभव गर्ने सेवा भने वितरण पूर्वाधारको प्रभावकारिताले निर्धारण गर्छ । प्युठानको अवस्था हेर्दा लोडसेडिङ अन्त्य हुनु मात्र ऊर्जा सुरक्षाको अन्तिम उपलब्धि नभएको स्पष्ट हुन्छ ।

बहुविकल्पीय वितरण प्रणाली, पर्याप्त ट्रान्सफर्मर, समयमै सञ्चालन हुने सबस्टेसन र सुरक्षित फिडर सञ्जाल निर्माण नभएसम्म प्युठानजस्ता पहाडी जिल्लाका उपभोक्ताले गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पाउने अपेक्षा अझै अधुरै रहने देखिन्छ । अहिले प्युठान समाधानका योजना तयार भए पनि तिनको प्रभावकारी कार्यान्वयन, पर्याप्त बजेट र राजनीतिक प्रतिबद्धताको प्रतीक्षामा रहेको जिल्लाका ऊर्जा क्षेत्रका सरोकारवालाहरूको निष्कर्ष छ ।

ताजा खबर

सम्बन्धित खबर