
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले सहभागिता जनाउने अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिज को खेल तालिका सार्वजनिक भएको छ । अगस्ट २१ देखि ३० सम्म अस्ट्रेलियाको डार्विनमा हुने प्रतियोगितामा नेपालले लिग चरणमा कुल ६ खेल खेल्नेछ ।
नेपालले प्रतियोगिताको पहिलो खेल अगस्ट २१ मा घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध खेल्दै अभियान सुरु गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे हुनेछ ।
दोस्रो खेलमा नेपालले अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स टोलीको सामना गर्नेछ । त्यसपछि अगस्ट २४ मा होबार्ट हुरिकेन्स एकेडेमीविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ ।
यस्तै, अगस्ट २६ मा नेपालले एसिटी कोमेट्ससँग खेल्नेछ भने अगस्ट २७ मा किंग्समेनको चुनौती सामना गर्नेछ । लिग चरणको अन्तिम खेलमा नेपाल अगस्ट २९ मा भिक्टोरियाविरुद्ध मैदान उत्रिनेछ ।
नेपाल लगातार दोस्रो वर्ष यस प्रतियोगितामा सहभागी हुन लागेको हो । गत संस्करणमा नेपालले ६ खेल खेल्दा दुई जित र चार हारको नतिजा निकालेको थियो । यसपटक भने नेपाली टोली अघिल्लो प्रदर्शनमा सुधार गर्दै प्रभावशाली नतिजा निकाल्ने लक्ष्यसहित मैदान उत्रिने तयारीमा छ ।
नेपालको खेल तालिका :
अगस्ट २१ : नर्दर्न टेरिटोरी स्ट्राइकविरुद्ध (दिउँसो २:१५ बजे)
अगस्ट २२ : बंगलादेश हाई–परफर्मेन्स टोलीविरुद्ध (दिउँसो २:१५ बजे)
अगस्ट २४ : होबार्ट हुरिकेन्स एकेडेमीविरुद्ध (दिउँसो ३:१५ बजे)
अगस्ट २६ : एसीटी कोमेट्सविरुद्ध (दिउँसो ३:१५ बजे)
अगस्ट २७ : किंग्समेनविरुद्ध (बिहान ९:१५ बजे)
अगस्ट २९ : भिक्टोरियाविरुद्ध (राति ११:१५ बजे)