२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

अभिमुखीकरण महासंघ कार्यसमिति विघटन, पौडेलको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति

Nada
२०८३ साउन २० गते ०६:२०
Shares
अभिमुखीकरण महासंघ कार्यसमिति विघटन, पौडेलको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ निर्वाचनका लागि नेपाल वैदेशिक रोजगार अभिमुखीकरण महासंघका अध्यक्ष रामराजा गौतम नेतृत्वको कार्यसमिति विघटन गरी तदर्थ समिति गठन गरेको छ ।

ncell

प्रशासन कार्यालयले महासंघको कार्यसमिति विघटन गरेपछि निवर्तमान उपाध्यक्ष टुनुकाजी पौडेलको संयोजकत्वमा ९ सदस्यीय तदर्थ कार्यसमिति गठन गर्दै तीन महिनाभित्र नयाँ कार्यसमितिको निर्वाचन गराउन निर्देशन दिएको छ ।

नयाँ कार्यसमिति चयन नहुन्जेल तदर्थ समितिले महासंघका कामकारबाही सञ्चालन गर्ने अख्तियारी पनि पाएको छ ।

तदर्थ कार्यसमितिमा निवर्तमान अध्यक्ष रामराजा गौतम, पूर्वअध्यक्ष पूर्णबहादुर मल्ल, पूर्वउपाध्यक्ष कल्पना पाण्डे, विष्णुगोपाल गड्तौला, निवर्तमान महासचिव लक्ष्मीप्रसाद लामिछाने, निवर्तमान कोषाध्यक्ष नारायणप्रसाद अधिकारी, निवर्तमान कार्यसमिति सदस्य बाबुराम खड्का तथा पूर्व कार्यसमिति सदस्य जयप्रकाश यादवलाई सदस्य तोकिएको छ ।

निवर्तमान अध्यक्ष गौतमको नेतृत्वमा २०७८ सालमा दुई वर्षे कार्यकालका लागि कार्यसमिति चयन भएको थियो । प्रशासन कार्यालयले तत्कालीन कार्यसमितिले समयमै नयाँ कार्यसमिति चयन गरी कार्यजिम्मेवारी हस्तान्तरण गर्नुपर्नेमा सो गर्न नसकेको र संस्थाभित्र विवाद बढ्दै गएको जनाएको छ । विवाद समाधानका लागि साउन १२ गते भएको छलफलअनुसार तदर्थ समिति गठन गरिएको प्रशासन कार्यालयले बताएको छ ।

निर्देशनअनुसार निवर्तमान कार्यसमितिले तीन दिनभित्र संस्थाको सम्पूर्ण जिम्मेवारी नयाँ गठित तदर्थ समितिलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउनुपर्नेछ । साथै तदर्थ समितिले महासंघको विधान, प्रचलित विधि, पद्धति तथा कानुनको परिपालना गर्दै कार्य सञ्चालन गर्ने, गराउने तथा अनुमति प्राप्त र महासंघमा आबद्ध रहेका एवं आबद्ध हुन इच्छुक अभिमुखीकरण संस्थाहरूलाई विधानबमोजिम कुनै रोकावटबिना सदस्यता प्राप्ति, नवीकरणलगायतका कार्य सहज रूपमा गर्ने व्यवस्था मिलाउने अख्तियारी पाएको छ ।

त्यसैगरी महासंघको विधान तथा प्रचलित कानुनको परिपालना गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी एवं लोकतान्त्रिक प्रक्रिया अपनाई तीन महिनाभित्र अर्थात् २०८३ साल कात्तिक मसान्तभित्र नयाँ कार्यसमिति चयन गरी जिम्मेवारी हस्तान्तरण गर्न, तदर्थ समितिलाई तोकिएको जिम्मेवारी पूरा गर्न सबैले सहयोग तथा समन्वय गर्न, व्यावसायिक निष्ठाको पालना गर्न तथा प्रचलित कानुन, विधि, पद्धति र प्रक्रिया पूरा गरी संस्थाको अधिकतम हितलाई ध्यानमा राखी निर्वाचनका कार्य सम्पन्न गर्न प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

महासंघबाट हुने महत्वपूर्ण निर्णय तथा कार्यहरूको जानकारी नियमित रूपमा जिल्ला प्रशासन कार्यालयलाई गराउन पनि निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले महासंघको व्यावसायिक तथा सर्वोत्तम हितलाई ध्यानमा राखी संस्था दर्ता ऐन, २०३४ को दफा ११ बमोजिम उक्त निर्देशन जारी गरेको जनाएको छ ।

निवर्तमान अध्यक्ष रामराजा गौतमले व्यवसायीहरूको बृहत्तर हितका लागि प्रशासन कार्यालयले गरेको निर्णयलाई आफूसहित सबै व्यवसायीले सहज रूपमा लिएको बताए ।

ताजा खबर

सम्बन्धित खबर