
काठमाडौं : वैदेशिक रोजगार विभागले भारतीय विमानस्थलबाट कामदार उडाएको प्रकरणमा थप कारबाहीको विवरण सार्वजनिक गरेको छ । विभागले यसअघि सचेत गराउने सूचीमा रहेका ५ सय ९८ म्यानपावर कम्पनीमध्ये ३९ म्यानपावर व्यवसायीलाई दोस्रो पटक कसुर कायम गर्दै प्रत्येकलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ भने थप १ सय २४ म्यानपावर कम्पनीलाई दोस्रो पटक कसुर कायम गरी ५० हजार रुपैयाँ जरिवाना किन नगर्ने भनी ७ दिनको स्पष्टीकरण सोधेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रतिकूल अवस्थामा सरकारकै सहमतिमा भारतीय विमानस्थलबाट म्यानपावर व्यवसायीले कामदार उडाएको घटनालाई कसुर कायम गर्न नहुने माग विभाग तथा मन्त्रालयमा जोडदार रूपमा गरिरहेका बेला विभागले मंगलबार साँझ आफ्नो वेबसाइटमा कारबाहीको थप विवरण सार्वजनिक गरेको हो ।
विभागले सार्वजनिक गरेको सूचनाअनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त संस्थाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ बमोजिम स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था कार्यान्वयन भए/नभएको सम्बन्धमा अनुगमन तथा अध्ययन गरिएको हो । त्यसका लागि २०८२ चैत १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा पठाइएका कामदारहरूको उडान विवरण उपलब्ध गराउन विभागले गत असार २६ गते सूचनामार्फत पुनः माग गरेको थियो ।
उक्त विवरणका आधारमा ३९ वटा इजाजतप्राप्त संस्थाले विभागको स्वीकृतिबिना विदेशी विमानस्थल प्रयोग गरी कामदारलाई वैदेशिक रोजगारीमा पठाएको देखिएको विभागले जनाएको छ । साथै, १२४ वटा इजाजतप्राप्त संस्थाले उडान विवरण उपलब्ध गराउन दिएको विभागको निर्देशनसमेत पालना नगरेको देखिएको विभागले बताएको छ ।
विभागले आफ्नो निर्देशन पालना नगरेकाले साउन १९ गतेको निर्णयअनुसार कारबाही तथा कारबाहीका लागि स्पष्टीकरण माग गरिएको जनाएको छ ।
३९ वटा संस्थाले असार १ गतेको पत्रअनुसार विवरण माग गर्दा विवरण नबुझाएको र असार २६ गतेको सूचनामार्फत विवरण बुझाउन पुनः अनुरोध तथा पत्राचार गर्दा विवरण बुझाएको, तर विभागको अनुमति नलिई भारतबाट उडान गरेको देखिएकाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ उल्लंघनको कसुरमा सोही ऐनको दफा ५४ बमोजिम दोस्रो पटक कसुर दोहोर्याएको भन्दै प्रत्येक इजाजतप्राप्त संस्थालाई ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको बताएको छ ।
१ सय २४ संस्थाले विदेशी विमानस्थलबाट कामदार उडाएको विवरण पहिलो पटक माग गर्दा विवरण नबुझाई विभागको निर्देशन पालना नगरेको र असार २६ गतेको सूचनामार्फत पुनः अनुरोध तथा पत्राचार गर्दा समेत तोकिएको म्यादभित्र उडानको विवरण नबुझाएकाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३७ उल्लंघनको कसुरमा ऐनको दफा ५४ बमोजिम कसुर दोहो¥याएको भन्दै ५० हजार रुपैयाँ जरिवाना किन नगर्ने भनी सात दिनभित्र स्पष्टीकरण पेस गर्न लगाउने निर्णय भएको विभागले जनाएको छ ।
विभागले पहिलो पटक विवरण माग गर्दा विभागमा दर्ता भएको विवरणको अभिलेख व्यवस्थापनमा समस्या भई पुनरावलोकन गर्दा विवरण बुझाएको देखिएका संस्थाहरूको हकमा असार २६ गते गरिएको कारबाही कार्यान्वयन नहुने निर्णय गरी त्यस विषयमा सम्बन्धित संस्थालाई पत्राचार गरिएको पनि बताएको छ ।