२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

साउदीमा सम्पर्कविहीन नेपालीको उद्धार, दुई श्रमिक सकुशल स्वदेश फिर्ता

Nada
अन्जान गुभाजु
२०८३ साउन १९ गते १४:०३
Shares
साउदीमा सम्पर्कविहीन नेपालीको उद्धार, दुई श्रमिक सकुशल स्वदेश फिर्ता

जेद्दा, साउदी अरेबिया : साउदी अरेबियामा लामो समयदेखि परिवार तथा कम्पनीको सम्पर्कविहीन अवस्थामा रहेका दुई नेपाली श्रमिकलाई नेपाली महावाणिज्यदूतावास, जेद्दाको पहलमा उद्धार गरी सकुशल नेपाल पठाइएको छ ।

ncell

केही समयअघि साउदी अरबको जिजान क्षेत्रमा करिब ६–७ महिनादेखि सम्पर्कविहीन रहेका सिराहा निवासी विरिन्द्र महरालाई महावाणिज्यदूतावासले स्थानीय निकायसँग समन्वय गरी उद्धार गरेको थियो । आवश्यक कागजी प्रक्रिया तथा फाइनल एक्जिटको व्यवस्था मिलाएर उनलाई सुरक्षित रूपमा नेपाल फर्काइएको थियो ।

त्यसैगरी, मोरङ निवासी अनिश राईलाई पनि करिब पाँच महिनापछि परिवारको सम्पर्कमा ल्याउँदै स्वदेश फर्काइएको छ । परिवारसँग सम्पर्क टुटेपछि महावाणिज्यदूतावासले निरन्तर खोजी अभियान सञ्चालन गरेको थियो । गत २५ जुलाईमा उनी अल खुम्राह क्षेत्रमा फेला परेपछि महावाणिज्यदूतावासको संरक्षणमा राखी आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो । त्यसपछि ३ अगस्टमा उनलाई सकुशल नेपाल पठाइएको हो ।

नेपाल फर्कने क्रममा अनिश राईलाई सुरक्षित रूपमा साथ दिई आफन्तको जिम्मा लगाउन सहयोग गर्ने रामकृष्ण तामाङप्रति महावाणिज्यदूतावासले हार्दिक आभार व्यक्त गरेको छ ।

पछिल्लो समय विदेशमा विभिन्न कारणले सम्पर्कविहीन हुने, अलपत्र पर्ने तथा समस्यामा पर्ने नेपाली श्रमिकको उद्धारमा नेपाली महावाणिज्यदूतावास, जेद्दाले स्थानीय सरकारी निकाय, रोजगारदाता तथा नेपाली समुदायसँग समन्वय गर्दै सक्रिय रूपमा काम गरिरहेको छ ।

महावाणिज्यदूतावासले समस्यामा परेका नेपाली नागरिक वा उनीहरूका परिवारलाई समयमै सूचना उपलब्ध गराउन आग्रह गर्दै यस्ता घटनामा छिटो समन्वय भए उद्धार र स्वदेश फिर्तीको प्रक्रिया थप सहज हुने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर