
काठमाडौं : श्रम अडिटका लागि म्यानपावर कम्पनीहरूलाई ३९ वटा प्रश्नावली समावेश भएको फारम युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको श्रम तथा रोजगार कार्यालय टेकुले पठाएको देखिएको छ।
बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र दोलखा गरी जम्मा आठ जिल्लामा स्थापित उद्योग प्रतिष्ठानमा श्रम सम्बन्धी ऐन, नियम तथा नीति निर्देशनहरुको प्रभावकारी कार्यान्वयनमार्फत श्रमिकहरुको हक अधिकारको संरक्षण र संवर्द्धन गर्दै स्वस्थ, सुरक्षित र मर्यादित कार्य वातावरणको सिर्जनालगायतका कार्यहरू उक्त कार्यालयबाट सम्पादन हुँदै आएको छ ।
श्रम शक्तिको विकास र सदुपयोगका लागि सुमधुर औद्योगिक श्रम सम्बन्ध कायम गर्ने, बालश्रम निवारण र सुधार, श्रमिक आपूर्तिकर्तालाई इजाजत पत्र प्रदान तथा नवीकरण गर्ने, कार्यस्थल अनुगमन गरी स्वास्थ्य तथा सुरक्षाको दृष्टिले स्वस्थकर तथा सुरक्षित बनाउन आवश्यक सुझाव सल्लाह दिने लगायतका कार्यहरु गर्ने र गर्न लगाउने, श्रम ऐन, बोनस ऐन तथा सोसँग सम्बन्धित नियमहरू उद्योग प्रतिष्ठानमा लागू गराउने कामको जिम्मेवारी पाएको उक्त कार्यालयले म्यानपावर कम्पनीहरूसंग श्रम ऐन २०७४ र श्रम नियमावली २०७५, वोनस ऐन लगायतसंग सम्बन्धित प्रावधान कार्यान्वयन भए नभएको जानकारी माग गरेको हो। कतिपय वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार ऐनले मात्रै आफुहरूलाई हेर्ने ठानिरहेको अवस्थामा श्रम तथा रोजगार कार्यालय टेकुबाट पठाइएका प्रश्नावलीले उनीहरू आन्तरिक श्रम ऐनको परिपालनामा पनि बाँधिएको देखिएको छ।
यसअघि सामाजिक सुरक्षा कोषमा म्यानपावर कम्पनीमा कार्यरत कर्मचारीलाई समेटिएको थियो ।
मध्यान्ह दैनिकको साउन १८ गते सोमबारको अंकमा “म्यानपावर कम्पनीलाई विभागका ३९ प्रश्न” शीर्षकको समाचारमा श्रम तथा रोजगार कार्यालय, टेकु हुनु पर्नेमा वैदेशिक रोजगार विभागको नाम असावधानीबस पर्न गइ पाठक तथा सम्बन्धित सबैमा पर्न गएको असुविधा प्रति क्षमायाचना सहित सच्चाइएको छ।