२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

म्यानपावर कम्पनीलाई श्रम तथा रोजगार कार्यालयका ३९ प्रश्न

Nada
२०८३ साउन १८ गते ०६:०५
Shares
म्यानपावर कम्पनीलाई श्रम तथा रोजगार कार्यालयका ३९ प्रश्न

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम तथा रोजगार कार्यालय टेकुले श्रम अडिटका लागि म्यानपावर कम्पनीहरूलाई ३९ वटा प्रश्न पठाएको छ । अधिकांश व्यवसायीले हालसम्म सुन्दै नसुनेका ती प्रश्न श्रम ऐन, २०७४, श्रम नियमावली, २०७५, बोनस ऐनलगायतसँग सम्बन्धित छन् ।

ncell

कार्यालयले श्रम अडिट प्रतिवेदनअन्तर्गत म्यानपावर कम्पनीमा कार्यरत श्रमिकको संख्यात्मक विवरण, श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ कार्यान्वयन भएको वा नभएको अवस्था, योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू गरिएको वा नगरिएको अवस्था, बोनस ऐन र नियमावली कार्यान्वयन भए वा नभएको अवस्था तथा ट्रेड युनियन ऐन र नियमावली कार्यान्वयन भए वा नभएको अवस्थाबारे विवरण भर्न भनेको छ ।

विवरण फारममा नियमित रोजगारी, कार्यगत रोजगारी, समयगत रोजगारी र आंशिक रोजगारीमा रहेका सहित कार्यरत सम्पूर्ण श्रमिकको संख्या उल्लेख गर्नुपर्नेछ । साथै, यस वर्ष आकस्मिक रोजगारीमा श्रमिकलाई काममा लगाइएको भए त्यसको अनुमानित संख्या, महिला, पुरुष तथा विदेशी श्रमिकको संख्या, व्यवस्थापकीय काममा रहेका श्रमिक तथा श्रम आपूर्तिकर्तामार्फत कार्यरत श्रमिकको संख्या पनि पठाउनुपर्नेछ ।

श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ को पालना भए वा नभएको सम्बन्धमा ऐनको दफा ११ बमोजिम सबै प्रकारको रोजगारीमा रहेका श्रमिकसँग रोजगार सम्झौता गरिएको वा नियुक्तिपत्र प्रदान गरिएको छ वा छैन भन्ने विवरण मागिएको छ । यदि प्रदान नगरिएको भए कति जनालाई किन प्रदान नगरिएको हो भन्ने कारण खुलाउनुपर्नेछ ।

विदेशी नागरिकलाई काममा लगाइएको भए ऐनको परिच्छेद–६ र नियमावलीको परिच्छेद–३ बमोजिम श्रम इजाजत लिएको छ वा छैन, छैन भने किन र छ भने कति जनालाई लिएको हो भन्ने विवरण खुलाउनुपर्नेछ । साथै, १८ वर्ष पूरा नभएका कुनै बालबालिकालाई काममा लगाइएको भए कसरी र के काममा लगाइएको हो भन्ने विवरण पनि दिन भनिएको छ ।

प्रशिक्षार्थीलाई काममा लगाइएको भए त्यससम्बन्धी जानकारी पनि भर्नुपर्ने कार्यालयले जनाएको छ । आंशिक रोजगारीमा श्रमिक कार्यरत छन् वा छैनन्, भएमा कानुनबमोजिम सुविधा तथा सामाजिक सुरक्षा प्रदान गरिएको छ वा छैन भन्ने विवरण पनि मागिएको छ ।

यस्तै, ऐनको दफा २८ बमोजिम श्रमिकलाई दैनिक आठ घण्टा र सातामा ४८ घण्टाभन्दा बढी काममा लगाउने गरिएको छ वा छैन भन्ने प्रश्नसमेत सोधिएको छ ।

*यसअघि श्रम तथा रोजगार कार्यालय हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । सं.

सम्बन्धित खबर