
काठमाडौं : विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोना र विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडियाबीच पाँच वर्षे रणनीतिक साझेदारी औपचारिक रूपमा सुरु भएको छ । १ जुलाई २०२६ बाट कार्यान्वयनमा आएको यो सम्झौता सन् २०३०/३१ सिजनसम्म कायम रहनेछ ।
यस सहकार्यअन्तर्गत माइडिया एफसी बार्सिलोनाको 'मुख्य साझेदार' तथा 'आधिकारिक होम एप्लायन्स साझेदार' बनेको छ । यससँगै बार्सिलोनाको पुरुष पहिलो टोलीले खेलका दिन तथा प्रशिक्षणका क्रममा लगाउने जर्सीको बायाँ बाहुलामा माइडियाको लोगो समावेश गरिएको छ । सन् २०२६/२७ सिजनका लागि सार्वजनिक गरिएको नयाँ घरेलु जर्सीमा माइडियाको लोगो पहिलोपटक देखिएको हो ।
यो साझेदारी जर्सीमा लोगो राख्ने कुरामा मात्र सीमित रहने छैन । आगामी पाँच सिजनसम्म माइडिया र एफसी बार्सिलोनाले संयुक्त सामग्री निर्माण, खेलदिवस सञ्चार, समर्थक सहभागिता तथा विभिन्न बजारअनुकूल गतिविधिमार्फत विश्वभरका उपभोक्ता र फुटबल समर्थकसँग जोडिने योजना बनाएका छन् । खेलकुदको उत्कृष्टता, प्रविधिमा नवप्रवर्तन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा जोड्नु यस सहकार्यको प्रमुख उद्देश्य रहेको छ ।
एफसी बार्सिलोनाका प्रथम उपाध्यक्ष राफाएल युस्तेले स्मार्ट होम समाधान र नवप्रवर्तनप्रति माइडियाको प्रतिबद्धता क्लबको भविष्यको सोचसँग मेल खाने बताएका छन् । त्यस्तै, माइडिया इन्टरनेसनल बिजनेसका अध्यक्ष लुइस फुले विश्वकै सफल फुटबल क्लबसँगको यो दीर्घकालीन सहकार्य उत्साहजनक भएको उल्लेख गरेका छन् ।
नेपाली समर्थकका लागि नयाँ उत्साह नेपालमा ठुलो संख्यामा रहेका बार्सिलोना समर्थकहरूका लागि पनि यो साझेदारीले नयाँ उत्साह थपेको छ । अब नेपाली समर्थकले आफ्नो मनपर्ने क्लबको जर्सीमा माइडियाको उपस्थिति प्रत्यक्ष देख्न पाउनेछन्, जसले ब्रान्डसँग भावनात्मक सम्बन्ध सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
नेपालमा सिजी इलेक्ट्रोनिक्सले माइडियाका उत्पादनहरूको बिक्री तथा वितरण गर्दै आएको छ । माइडियाका वासिङ मेसिन, रेफ्रिजरेटर, डिशवाशर, किचन एप्लायन्स तथा अन्य स्मार्ट होम समाधानहरू नेपाली उपभोक्तामाझ लोकप्रिय छन् । सन् १९६८ मा स्थापना भएको माइडियाले प्रविधिलाई प्रयोगकर्तामैत्री बनाउँदै दैनिक जीवनलाई सरल र प्रभावकारी बनाउने उद्देश्य राखेको छ ।