
काठमाडौं : आफूलाई ‘पाथीभरा माता’ दाबी गर्दै एक महिलालाई बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने समीर थापालाई प्रहरीले पक्राउ गरेको छ । उनले गरेको दुव्र्यवहार सामाजिक सञ्जालमा भाइरल भएपछि सुर्खेत प्रहरीले उनलाई पक्राउ गरेको हो ।
समीरले ती महिलाको कपाल लुछ्ने, कुटपिट गर्ने, खुट्टा ढोगाउने र पैताला चाट्न लगाउनेसम्मको हर्कत भिडियोमा देख्न सकिन्छ । भुइँमा लतार्दै गालामा थप्पड हानेको दृश्य छेउमा बस्नेले पनि आनन्द मानेर हेरिरहेका छन् । समीरले बोलेको अपशब्द, उनले गरेको हर्कतलाई नेपालको कानुनले सामाजिक अपराध मान्छ । त्यही अपराधको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद पोखरेलले बताएका छन् ।
‘भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि थापालाई पक्राउ गरिएको हो,’ उनी भन्छन्, ‘पीडित महिलाको सुरक्षा र उनले पाउने कानुनी उपचारका लागि प्रतिबद्ध छौं ।’
बोक्सीको आरोपमा गरिने हिंसाविरुद्ध कानुनी व्यवस्था भएको १० वर्ष नाघिसकेको छ । कानुन बने पनि यस्ता घटना पूर्ण रूपमा अन्त्य भएका छैनन् । देशका विभिन्न जिल्लामा अझै पनि महिलामाथि बोक्सीको आरोपमा कुटपिट, सार्वजनिक अपमान, सामाजिक बहिष्कार र मानसिक यातना दिने घटना सार्वजनिक भइरहेका छन् ।
धेरै महिलाले बोक्सीको आरोपमा ज्यानै गुमाएका छन् । आजभन्दा करिब १० वर्षपहिले अर्थात् २०७३ साल मङ्सिर १० गते काभ्रेमा त्यस्तै घटना घट्यो । बारीको काम गरेर घर फर्कंदै गरेकी सानो बाङ्थलीकी लक्ष्मी परियारलाई गाउँकै सूर्योदय माध्यमिक विद्यालयका शिक्षक हीरा लामा र उनकी आमा काइँली तामाङले बोक्सीको आरोप लगाउँदै मरणासन्न हुनेगरी विद्यालयकै खेल मैदानमा लगेर नाम्लो डोरीले बाँधेर कुटे, दिसा खुवाए । चिर्पटले हानेर टाउको फुटाए ।
शरीरको कपडासमेत सबै च्यातेर नांगेझार बनाएर सास मात्र बाँकी छोडेर उनीहरू हिँडे । उनका श्रीमान् घरमा थिएनन् । तीन छोराकी आमा उनी अस्पतालसम्म जान सक्ने अवस्थामा थिइनन् । गाउँकै स्वास्थ्यचौकीबाट औषधि ल्याएर खुवाइयो । मृत्यु हुनुभन्दा पहिले प्रहरी आएर मिलापत्र गराएको थियो । मंगलबार कुटपिट गरी मलमूत्र खुवाइएकी लक्ष्मीको शुक्रबार बिहानै मृत्यु भयो ।
बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ लागू भएपछि यस्ता कार्यलाई दण्डनीय अपराध घोषणा गरिएको छ । ऐन बनाएको एक वर्षपछि लक्ष्मीको बोक्सी आरोपकै कारण मृत्यु भएको थियो । ऐनले कसैलाई बोक्सीको आरोप लगाउने, अमानवीय व्यवहार गर्ने, कुटपिट गर्ने, यातना दिने वा सामाजिक रूपमा बहिष्कार गर्ने व्यक्तिलाई कानुनी कारबाहीको व्यवस्था गरेको छ । तर, त्यसको प्रभावकारी कार्यान्वयन, पीडितको संरक्षण र समुदायस्तरमा जनचेतना अभिवृद्धि अझै आवश्यक देखिन्छ ।
लक्ष्मी हत्या प्रकरणमा न्यायको प्रक्रिया लामो समयसम्म चल्यो । घटनापछि सुरु भएको अनुसन्धान र कानुनी प्रक्रियाले पीडित परिवारलाई तत्काल न्याय दिन सकेन । उच्च अदालत पाटनले २०७६ भदौ २९ गते यस प्रकरणमा फैसला सुनाउँदै हीरा लामा र काइँली तामाङलाई तीन वर्ष सात महिना कैद हुने फैसला गर्यो ।
बोक्सीको आरोपमा कुटिएकी श्रीमतीलाई साथ दिनुको सट्टा घाइते अवस्थामा पनि कुटपिट गरेको आरोपमा लक्ष्मीका श्रीमानमाथि पनि मुद्दा चलाइएको थियो । मिलन परियार जो लक्ष्मीका श्रीमान थिए । श्रीमतीमाथिको अन्याय र अत्याचार हेरेर बसेका उनी पीडककै पक्षमा देखिएको भन्दै अदालतले २ वर्षको सजाय सुनाएको थियो । लक्ष्मीको मृत्यु हुनुभन्दा केही समय पहिले पनि मिलनले उनलाई कुटपिट गरेका थिए ।
लक्ष्मी दलित समुदायकी महिला थिइन् । मानवअधिकारकर्मीले यो घटना केवल बोक्सीको आरोपको परिणाम मात्र नभई जातीय विभेद, लैंगिक असमानता र सामाजिक शक्ति सम्बन्धसँग पनि गाँसिएको विषयका रूपमा उठाए । नेपालमा बोक्सीको आरोपका अधिकांश पीडित महिला, दलित तथा आर्थिक रूपमा कमजोर समुदाय हुने विभिन्न अध्ययनले देखाएको छ ।
त्यस्तै, महोत्तरीकी मरनीदेवी महतोको कहानी पनि लक्ष्मीको भन्दा कम छैन । उनलाई २०५८ साल साउन ३० गते बोक्सीको आरोपमा मलमूत्र खुवाउनेदेखि कुटपिट गरी चरम यातना दिइएको थियो । मरोस् भनेर छाडिएकी उनी प्रहरीले उद्धार गरेपछि बाँचेकी थिइन् । त्यो घटनापछि उनी सशक्त भएर यस्ता अन्धविश्वासका विरुद्धमा आवाज उठाउन सक्ने भइन् । आफूले भोगेको पीडा अरूले भोग्नु नपरोस् भनेर आफूलाई कुरीतिविरुद्ध उभ्याइन् । उमेरले ७० वर्ष पुग्न लागेकी उनी रुढिवादी परम्पराविरुद्ध जनचेतना फैलाउने अभियन्ता बनेकी छिन् ।
महोत्तरीकी शिलादेवी झा, रामेछापकी बिबी माया तामाङ जसलाई धामीझाँक्री बस्ने क्रममा ‘पितृ चढेको’ बहाना बनाई कुटपिट गरी हत्या गरेका थिए । यस्ता घटनामा महिलाभन्दा पुरुष तुलनात्मक रूपमा कम पीडित देखिए पनि केही त्यस्ता अपराध छन् जसले सोच्न बाध्य बनाउने गरेको देखिन्छ ।
काभ्रेकै ‘चमार सिंह’ भनिने जनकबहादुर मगरलाई २०६५ साल असोज २९ गते उनकै भतिजाहरूले बोक्सीको आरोप लगाई कुटपिट गरी हत्या गरेका थिए । घटनाका दोषीहरू १५ वर्षपछि २०८० सालमा मात्र पक्राउ परेका थिए । रसुवाका तुलु सार्की थिङमाथि २०७३ सालमा आफन्त र भतिजाहरूले बोक्सीको आरोप लगाई जंगलमा लगेर जिउँदै आगो लगाई खाल्डोमा पुरेका थिए ।
मानवअधिकारकर्मी र महिला अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूका अनुसार अधिकांश पीडित महिला, विशेषगरी दलित, ज्येष्ठ नागरिक, एकल महिला तथा आर्थिक रूपमा कमजोर समुदायका सदस्य हुन्छन् । धेरै घटनामा बिरामी पर्नु, पशु मर्नु, बाली नष्ट हुनु वा पारिवारिक विवादजस्ता समस्याको दोष प्रमाणबिनै कुनै महिलामाथि थोपर्ने गरिएको पाइन्छ ।
यस्ता घटना आज पनि व्याप्त छन् । धेरै घटना प्रहरीसम्म पुग्दैनन् । गाउँ समाजमै मिलेमतोमा छाडिन्छ । यति हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षमा देशभर कुल २९ वटा मुद्दा दर्ता भएको देखिन्छ । दर्ता भएका मुद्दामध्ये पनि मधेशमा बढी अपराध भएको तथ्यांक छ । ७२ प्रतिशतभन्दा धेरै घटना मधेशमा हुने गरेको छ ।
बोक्सीको आरोपमा अधिकांश पीडित महिला छन् । करिब ९३ प्रतिशत महिलालाई बोक्सीको आरोप लाग्ने गरेको छ भने गृहिणी, घरायसी काम गर्ने, न्यून अवस्था भएका महिला यसबाट बढी पीडित छन् । पीडित महिला भए पनि पीडकमा भने पुरुषको उपस्थिति बढी छ । ६४ प्रतिशत पुरुषहरू यस्ता घटनामा संलग्न देखिन्छन् ।
पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने २०५ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीको प्रतिवेदन अनुसार ७७/७८मा ६१, ७८/७८मा ४९, ७९/८० मा ४३, ८०/८१मा २३ र ८०/८१मा २९ वटा बोक्सी आरोप कसुरमा मुद्दा दर्ता भएको छ । तथ्यांकलाई हेर्दा अपराध केही कम हुँदै गएको देखिए पनि सन्तोषजनक भने नरहेको अधिकारकर्मीहरू बताउँछन् ।
बोक्सी अथवा तन्त्र विद्याजस्ता सामाजिक कुरीतिलाई कानुनले मात्र नियन्त्रण गर्न नसकिने समाजशास्त्री भानु नेपाल बताउँछन् । ‘यो सामाजिक मनोविज्ञान हो, सामाजिक चेतनाको विकास नभएसम्म यस्ता घटनामा कमी आए पनि निर्मूल पार्न सकिँदैन,’ उनी भन्छन्, ‘चेतनाले कहिलेकाहीँ कानुन नचिन्ने हुन्छ, लिखित कानुनमाथि अन्धविश्वास हावी हुने अवस्था रहेसम्म यस्ता घटना घटिरहन्छ ।’ शिक्षा र स्थानीयको जीवनस्तर सुधार गर्ने पहल गरियो भने केही हदसम्म अपराध कम हुने उनको विश्वास छ ।
ऐनले बोक्सीको आरोपमा हिंसात्मक गतिविधिमा संलग्न हुनेलाई पहिलोपटक ६ महिनादेखि आठ वर्ष कैद सजाय र दोस्रोपटक कसुर गरे १५ वर्षसम्मको कैद सजायको व्यवस्था गरेको छ । यस्तै, पाँच हजार देखि ५० हजारसम्म जरिवानाको व्यवस्था पनि सो ऐनमा उल्लेख छ ।