
काठमाडौं : निसानको नयाँ प्रिमियम एसयुभी 'टेकटन' नेपाली बजारमा सार्वजनिक हुने भएको छ। नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रा.लि.ले आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने 'नाइमा मोबिलिटी एक्स्पो २०२६'मार्फत एसयुभी 'टेकटन' पहिलो पटक सार्वजनिक गर्न लागेको हो ।
विश्व बजारमा गत जुलाई ९, २०२६ मा सार्वजनिक भएको निसान टेकटनले निसानको ७५ वर्ष लामो एसयुभी विरासतलाई निरन्तरता दिएको छ । प्रतिष्ठित निसान पेट्रोलबाट प्रेरित डिजाइन र अत्याधुनिक प्रविधिले सुसज्जित यो गाडी एक्स्पो अवधिभर निसानको स्टलमा मुख्य आकर्षणका रूपमा रहनेछ ।
निसान टेकटन १०० प्रतिशत टर्बोचार्ज्ड इन्जिन लाइनअपका साथ उपलब्ध हुनेछ । यसमा १.० लिटर टर्बो पेट्रोल इन्जिन (६-स्पीड म्यानुअल ट्रान्समिसन) र १.३ लिटर टर्बो जिडिआई इन्जिन (६-स्पीड ड्यूल-क्लच ट्रान्समिसन - डिसिटी) का विकल्पहरू रहेका छन् । यसले १६३ पिएससम्मको पावर र २८० एनएमसम्मको अधिकतम टर्क प्रदान गर्दछ, जसले सहरको सवारी र लामो यात्रा दुवैलाई सहज र शक्तिशाली बनाउने कम्पनीले जनाएको छ ।
गाडीको भित्री भागमा 'टेक-लिंक' एचडी इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ, जसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा रहेको छ । यसका साथै 'गुगल बिल्ट-इन' प्रविधिमार्फत गुगल म्याप्स र गुगल असिस्टेन्ट जस्ता स्मार्ट कनेक्टिभिटी सुविधाहरू उपलब्ध हुनेछन् । आकर्षक बडी लाइन, मस्कुलर डिजाइन र सिग्नेचर सि-आकारको एलइडी हेडल्याम्पले यसलाई सडकमा प्रभावशाली उपस्थिति प्रदान गर्दछ ।
सुरक्षालाई विशेष प्राथमिकता दिँदै टेकटनमा ६ वटा एयरब्याग स्ट्यान्डर्ड रूपमा उपलब्ध गराइएको छ । यसमा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम अन्तर्गत एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ र ३६०-डिग्री क्यामेरा प्रणाली जस्ता सुविधाहरू समावेश छन् ।
नाइमा एक्स्पोमा पुग्ने आगन्तुकहरूले ६ दिनसम्म चल्ने उक्त कार्यक्रममा टेकटनलाई नजिकबाट अवलोकन गर्ने र निसानका विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।