
काठमाडौं : क्यानसास सिटीको क्षितिजमा सूर्य अस्ताउँदै गर्दा फुटबल जगतका एक महानायकले पुन: एकपटक समयलाई रोकेको भान हुन्थ्यो । फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार भएको अर्जेन्टिना र अल्जेरियाबीचको खेल केवल एउटा प्रतिस्पर्धा मात्र रहेन, ३८ वर्षीय लियोनल मेस्सीको एउटा ऐतिहासिक 'मास्टरक्लास' बन्यो ।
ठिक २० वर्ष अगाडि सन् २००६ को जर्मनी विश्वकपमा १८ वर्षको ठिटोका रूपमा डेब्यू गरेका मेस्सीले स्थानीय समयअनुसार मंगलबार राति क्यानसास सिटी स्टेडियममा आफ्नो २००औं अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । संयोग कस्तो भने, उनले जुन दिन डेब्यू गरेका थिए, ठिक २० वर्षपछि त्यही दिन उनले आफ्नो छैटौं विश्वकपको यात्रा सुरु गरे । योसँगै ६ वटा विश्वकप खेल्ने उनी विश्वकै पहिलो खेलाडी बनेका छन् ।
खेलको चौथो मिनेटमा मेस्सीले गोल गरे पनि त्यसलाई अफसाइड भन्दै मान्यता दिइएन । तर उनको जादु धेरै समय रोकिन सकेन । १७औं मिनेटमा २५ यार्ड टाढाबाट मेस्सीले आफ्नो देब्रे खुट्टाले प्रहार गरेको बल सिधै 'टप-राइट कर्नर' मा पुग्यो । अल्जेरियाका गोलकिपर लुका जिदानले त्यसलाई रोक्ने प्रयास गरे पनि मेस्सीको प्रहारमा यति शक्ति थियो कि बलले जाली चुम्यो ।
यो गोलसँगै क्यानसास सिटी स्टेडियममा उपस्थित करिब ७० हजार दर्शकले मेस्सीको नाम लिएर हुटिङ गरे । ६०औं मिनेटमा दोस्रो गोल गर्दै मेस्सी इतिहासको नजिक पुगे । खेलको ७६औं मिनेटमा निको गोन्जालेजको पासमा गोल गर्दै मेस्सीले आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे । यो ह्याट्रिकसँगै उनले धेरै कीर्तिमानहरू आफ्नो नाममा लेखाए ।
मेस्सीले विश्वकपमा आफ्नो १६औं गोल गर्दै जर्मनीका मिरोस्लाभ क्लोसको विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका छन् । ३८ वर्षको उमेरमा ह्याट्रिक गर्दै उनले क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोडेका छन् । विश्वकपका पछिल्ला लगातार पाँच खेलमा गोल गर्ने उनी पहिलो खेलाडी पनि बनेका छन् । यो उनको १२०औं अन्तर्राष्ट्रिय गोल पनि थियो ।
ह्याट्रिक पूरा गरेपछि मेस्सीले दुवै हात आकाशतर्फ उठाउँदै दर्शकको सम्मान स्वीकार गरे । उनलाई मैदानबाट बाहिर पठाउँदा रंगशालामा उपस्थित दर्शकले उठेर सम्मान (स्ट्यान्डिङ ओवेशन) दिएका थिए । खेलपछि मेस्सीले भने, 'यो क्षण परिवार र साथीहरूसँग मनाउन पाउनु साँच्चै सुन्दर छ। हाम्रा फ्यानहरूले फेरि एकपटक अर्जेन्टिना फुटबलका लागि कति पागल छ भनेर देखाए ।'
अर्जेन्टिनाका समर्थकहरूका लागि मेस्सी केवल एक खेलाडी मात्र होइनन्, उनी एक 'नायक' र 'आदर्श' हुन् । क्यानसास सिटी चिफ्सका चर्चित क्वार्टरब्याक प्याट्रिक महोम्ससमेत मेस्सीको यो जादु हेर्न मैदानमा उपस्थित थिए ।
साविक विजेता अर्जेन्टिनाले मेस्सीको यो सानदार प्रदर्शनसँगै विश्वकप २०२६ मा सुखद सुरुवात गरेको छ । अब अर्जेन्टिनाले सोमबार डलासमा अस्ट्रियासँग र जुन २७ मा जोर्डनसँग खेल्ने तालिका छ । यदि मेस्सीले अर्जेन्टिनालाई फेरि पनि उपाधि दिलाउन सके भने, उनी लगातार दुई विश्वकप जित्ने पहिलो अर्जेन्टिनी कप्तान बन्नेछन्, जुन उपलब्धि महान् डिएगो म्याराडोनाले पनि हासिल गर्न सकेका थिएनन् ।