२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एसियन गेम्स छनोटमा धाँधलीको आरोप, पौडी खेलाडी अदालतको शरणमा

Nada
सपना बोहरा
२०८३ असार २ गते २०:३१
Shares
एसियन गेम्स छनोटमा धाँधलीको आरोप, पौडी खेलाडी अदालतको शरणमा

काठमाडौं : जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि नेपाली पौडी खेलाडी छनोट प्रक्रियामा गम्भीर अनियमितता र धाँधली भएको आरोप लगाउँदै राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा अभिभावकहरूले निष्पक्ष छानबिनको माग गरेका छन् ।

ncell

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले नेपाल पौडी संघले पूर्वघोषित मापदण्ड विपरीत प्रतियोगिता चलिरहेकै क्रममा छनोट प्रक्रिया परिवर्तन गरेर खेलाडीमाथि अन्याय गरेको आरोप लगाए ।

नेपाल पौडी संघले वैशाख १० गते सूचना जारी गर्दै जेठ २३ र २४ गते हुने ‘तेस्रो नेपाल एक्वाटिक च्याम्पियनसिप’ लाई एसियन गेम्सको ‘प्रि–क्वालिफिकेशन’ अर्थात् प्रारम्भिक छनोट प्रतियोगिताका रूपमा घोषणा गरेको थियो । उक्त सूचनामा महिला र पुरुषतर्फ ८–८ जना खेलाडी छनोट गरी असारको तेस्रो साता अन्तिम छनोट प्रतियोगिता सञ्चालन गरिने स्पष्ट उल्लेख गरिएको थियो ।

खेलाडीहरूका अनुसार सोही आधारमा तयारी गरी प्रतियोगितामा सहभागी भएका थिए । तर जेठ २३ गते पहिलो दिनको खेल सम्पन्न भएपछि २४ गते बिहान नेपाल पौडी संघले छाप र हस्ताक्षरविनाको सूचना सामाजिक सञ्जाल तथा खेलस्थलमा टाँसेर उक्त प्रतियोगितालाई नै अन्तिम छनोटमा परिणत गरेको थियो । साथै, ८–८ खेलाडी छनोट गर्ने पूर्वनिर्धारित व्यवस्था हटाएर महिला र पुरुषतर्फ २–२ जना मात्र छनोट गरिने निर्णय सार्वजनिक गरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपालका शीर्ष पौडी खेलाडी इर्भिन श्रेष्ठले आधाभन्दा बढी खेल सम्पन्न भइसकेपछि नियम परिवर्तन गर्नु खेलकुदको स्थापित मान्यता र प्रक्रियाविपरीत भएको बताए ।

उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जेठ २२ गते पाँच दिनभित्र एसियन गेम्सका लागि खेलाडीको नाम पठाउन पत्राचार गरेको बहाना बनाइए पनि आयोजक पक्षले असार १७ गते (जुलाई १) सम्म नामावली बुझाउन सकिने समय दिएको दाबी गरे । समय पर्याप्त हुँदाहुँदै केही व्यक्तिको स्वार्थ पूरा गर्न रातारात मापदण्ड परिवर्तन गरिएको उनको आरोप थियो ।

इर्भिनका अभिभावक महेश्वर श्रेष्ठले खेलाडीहरूले लामो समयको मेहनत र लक्ष्यका आधारमा तयारी गरेको अवस्थामा बीचमै नियम परिवर्तन गरिनु गम्भीर विषय भएको बताए । उनले खेल नियम र प्रक्रियाअनुसार प्रतियोगिता सञ्चालन गरी देखिएका त्रुटिहरू सच्याउन सम्बन्धित निकायसँग माग गरे ।

राष्ट्रिय पौडी खेलाडी मेधावी केसीले खेलकुद क्षेत्रमा हुने यस्ता चलखेलकै कारण प्रतिभावान खेलाडीहरू निराश भई विदेश पलायन हुन बाध्य भइरहेको बताइन् । उनले छनोट हुने वा नहुनेभन्दा पनि प्रक्रिया पारदर्शी, पूर्वसूचित र नियमसम्मत हुनुपर्नेमा जोड दिइन् ।

पौडी प्रशिक्षक मेघ लामाले प्रतियोगिताको तालिका र छनोटका मापदण्ड पटक–पटक परिवर्तन हुँदा खेलाडीको मानसिक अवस्था र तयारीमा प्रत्यक्ष असर पर्ने बताए । निर्धारित योजना र नियमअनुसार प्रतियोगिता सञ्चालन भए मात्र निष्पक्ष नतिजा आउने उनको भनाइ थियो ।

खेलाडीहरूले पत्रकार सम्मेलनमार्फत जारी गरेको विज्ञप्तिमा नेपाल पौडी संघले वैशाख १० गते जारी गरेको सूचना तथा जेठ ७ गते संशोधित खेल तालिकामा समेत ८–८ जना खेलाडी अन्तिम छनोट चरणमा पुग्ने व्यवस्था कायम रहेको उल्लेख गरेका छन्। तर प्रतियोगिता सुरु भइसकेपछि अचानक मापदण्ड परिवर्तन गरिनु खेलाडीमाथिको अन्याय भएको उनीहरूको दाबी छ ।

यसैबीच, विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । खेलाडीहरूले छनोट प्रक्रियामा भएको भनिएको धाँधलीविरुद्ध अदालतमा रिट दायर गरेका छन् । सर्वोच्च अदालतले असार ३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ भने नेपाल पौडी संघ, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीलाई लिखित जवाफ पेस गर्न आदेश समेत दिएको छ ।

खेलाडीहरूले निष्पक्ष छानबिन गरी पूर्वनिर्धारित नियमअनुसार छनोट प्रक्रिया अघि बढाउन माग गर्दै भविष्यमा कुनै पनि खेल संस्थाले खेलाडीमाथि मनपरी निर्णय गर्न नसक्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । उनीहरूले खेलकुदका सम्बन्धित निकायले पनि खेलाडीसरह नियम र अनुशासनको पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित खबर