२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

खेलाडी छनोटमा पौडी संघको मनोमानी, नियम मिचेको भन्दै राखेपमा उजुरी

Nada
२०८३ जेठ २८ गते २१:३३
Shares
खेलाडी छनोटमा पौडी संघको मनोमानी, नियम मिचेको भन्दै राखेपमा उजुरी

काठमाडौं : सन् २०२६ मा जापानको ऐची नागोयामा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि पौडी खेलाडी छनोट प्रक्रियामा नेपाल पौडी संघले गम्भीर अनियमितता र पारदर्शिताको अभाव देखाएको भन्दै विवाद उत्पन्न भएको छ । प्रतियोगिताको अन्तिम समयमा आएर छनोटका मापदण्डहरू परिवर्तन गरिएको र खेलाडीहरूलाई मानसिक तनाव दिइएको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)मा उजुरी परेको छ ।

ncell

नेपाल पौडी संघले गत जेठ ८ गतेसार्वजनिक सूचना जारी गर्दै ‘तेस्रो नेपाल एक्वाटिक च्याम्पियनसिप’लाई प्रारम्भिक छनोटको आधार मानिने र ‘फिना पोइन्ट’का आधारमा ८ महिला र ८ पुरुष गरी १६ जना खेलाडी छनोट गरिने जनाएको थियो । तर प्रतियोगिताको अन्तिम दिन जेठ २४ गते राति १०ः३० बजे मात्र अर्को सूचना जारी गरी मापदण्ड परिवर्तन गरिएको थियो ।

नयाँ सूचनामा १६ जनाको सट्टा केवल २ महिला र २ पुरुष गरी जम्मा ४ जना मात्र छनोट गर्ने निर्णय गरिएको छ । उक्त सूचनामा संघको आधिकारिक छाप र हस्ताक्षर समेत नभएको र यो निर्णय निश्चित व्यक्तिलाई काखा र अरूलाई पाखा गर्ने ‘नातावाद’बाट प्रेरित रहेको उजुरीमा दाबी गरिएको छ ।

प्रतियोगिताको पहिलो दिनको पहिलो सत्रमा स्कोरबोर्ड प्रदर्शन नगरिएको, जसका कारण खेलाडीहरूले आफ्नो वास्तविक समय र प्रदर्शन थाहा पाउन नसकेको उजुरीमा उल्लेख गरिएको छ ।

अभिभावकहरूले वाडाको नियम अनुसार डोपिङ परीक्षणको माग गरेता पनि त्यस सम्बन्धी कुनै सूचना प्रकाशित नगरिएको बताएका छन् ।

अन्तिम समयमा आएर नियम परिवर्तन गर्दा कलिला उमेरका खेलाडीहरू मानसिक रूपमा विचलित भएको र खेलमा नकारात्मक असर परेको बताइएको छ ।

यो घटनापछि पौडी खेलाडी इर्भिन श्रेष्ठले जेठ २६ गते राष्ट्रिय खेलकुद परिषदमा लिखित उजुरी दर्ता गराएका छन् । उनले जेठ २४ गते जारी गरिएको ‘अवैधानिक’ सूचना खारेज गरी जेठ ८ गतेकै मूल मापदण्ड अनुसार पारदर्शी र निष्पक्ष रूपमा पुनः छनोट प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

यस सम्बन्धमा राष्ट्रिय खेलकुद परिषदले जेठ २७ गते नेपाल पौडी संघलाई पत्र लेख्दै उक्त निवेदन उपर आवश्यक प्रक्रिया अगाडि बढाउन र कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ ।

सुरुवाती सूचना अनुसार एउटै खेलाडीले फरक–फरक इभेन्टमा भाग लिन पाउने र ‘फिना पोइन्ट’का आधारमा छनोट हुने प्रावधान थियो । तर नयाँ नियमले एक ‘स्ट्रोक’ बाट एक खेलाडी मात्र छनोट हुने जस्ता अस्पष्ट प्रावधानहरू ल्याएको भन्दै खेलाडीहरूले असन्तुष्टि जनाएका छन् । असार दोस्रो साताभित्र गरिने भनिएको अन्तिम छनोट अघि यो विवादले नेपाली पौडी क्षेत्रमा अन्योल सिर्जना गरेको छ ।

सम्बन्धित खबर