२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मेक्सिको र दक्षिण अफ्रिकाबीच उद्घाटन भिडन्त, को बलियो ?

Nada
२०८३ जेठ २८ गते १४:४१
Shares
मेक्सिको र दक्षिण अफ्रिकाबीच उद्घाटन भिडन्त, को बलियो ?

काठमाडौं : विश्व फुटबलको महाकुम्भ, फिफा विश्वकप २०२६ को औपचारिक सुरुवात बिहीबार मेक्सिकोको ऐतिहासिक एस्टाडियो एजेका रंगशालामा हुँदैछ । उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दैछ, जुन सन् २०१० को विश्वकप उद्घाटन खेलको पुनरावृत्ति पनि हो ।

ncell

यसपटकको विश्वकप अहिलेसम्मकै ठुलो स्वरूपमा आयोजना हुँदैछ, जसमा ४८ टिमले १०४ खेल खेल्नेछन् । ऐतिहासिक एस्टाडियो एजेका रंगशाला तीनवटा विश्वकपका उद्घाटन खेलहरू (१९७०, १९८६ र २०२६) आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बन्दै इतिहास रच्दैछ । करिब ८० हजार दर्शकको उपस्थितिको अपेक्षा गरिएको यस खेलअघि चार पटककी ग्रामी विजेता शाकिरा, कोलम्बियाली गायक जे बाल्भिन र दक्षिण अफ्रिकी गायिका टायलालगायतले प्रस्तुति दिनेछन् ।

मेक्सिको र दक्षिण अफ्रिकामा को बलियो ?

मेक्सिको फिफा वरीयतामा १४औं स्थानमा छ भने दक्षिण अफ्रिका ६०औं स्थानमा रहेको छ । मेक्सिकोको यो १७औं विश्वकप सहभागिता हो भने दक्षिण अफ्रिका १६ वर्षको अन्तरालपछि आफ्नो चौथो विश्वकप खेल्दैछ ।

यी दुई टोलीबीच हालसम्म चार पटक भेट भएको छ, जसमा मेक्सिकोले दुई खेल जितेको छ भने दक्षिण अफ्रिकाले एक खेल जितेको छ । सन् २०१० को विश्वकप उद्घाटन खेलमा यी दुईबीच १-१ गोलको बराबरी भएको थियो ।

मेक्सिको पछिल्ला आठ खेलमा अपराजित छ र उसले पछिल्ला तीन मैत्रीपूर्ण खेलमा घाना, अष्ट्रेलिया र सर्बियालाई पराजित गरेको छ । अर्कोतर्फ, दक्षिण अफ्रिकाको तयारी केही कमजोर देखिएको छ । उसले पछिल्ला तीन मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेको छैन । दक्षिण अफ्रिकाले जमैका र निकारागुआसँग बराबरी खेलेको थियो भने पानामासँग हार बेहोरेको थियो ।

घरेलु मैदान र दर्शकको साथ मेक्सिकोको लागि ठुलो शक्ति हो, तर यसले टोलीमाथि जित्नै पर्ने दबाब पनि सिर्जना गरेको छ । दक्षिण अफ्रिकाका लागि भने भिसा समस्याका कारण खेलाडीहरू ढिलो आइपुग्दा तयारी र वातावरणसँग अनुकूल हुन कठिन भएको छ । यद्यपि, दक्षिण अफ्रिकी प्रशिक्षक ह्युगो ब्रोसले आफ्नो टोली घरेलु टोलीलाई स्तब्ध पार्न सक्षम रहेको बताएका छन् ।

सम्भावित सुरुवाती-११

मेक्सिको : राउल रान्जेल (गोलकिपर), जिसस गालार्डो, जोहान भास्क्वेज, सेसर मोन्टेस, इजरायल रेयेस, ब्रायन गुटिएरेज, एरिक लीरा, अल्भारो फिडाल्गो, जुलियन क्विनोन्स, रोबर्टो अल्भारोडो र राउल जिमिनेज ।

दक्षिण अफ्रिका : रोन्वेन विलियम्स (गोलकिपर), खुलिसो मुदाउ, इमे ओकोन, म्बेकेजेली म्बोकाजी, अब्रे मोडिबा, टेबोहो मोकोएना, स्पेपेलो सिथोले, थालेन्टे मबाथा, त्सेपाङ मोरेमी, लाइल फोस्टर र ओस्विन अपोलिस ।

यो खेल नेपाली समयअनुसार बिहीबार राति पौने १ बजे सुरु हुनेछ । समूह 'ए' मा मेक्सिको र दक्षिण अफ्रिकासँगै चेकिया र दक्षिण कोरिया रहेका छन् ।

सम्बन्धित खबर