२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पाँचौं मोना भलिबल कपको उपाधि तनहुँलाई, बचत रकम म्याग्दीको कभर्ड हल निर्माणमा पठाइने

Nada
तिलु शर्मा पौडेल
२०८३ जेठ २४ गते १८:५०
Shares
पाँचौं मोना भलिबल कपको उपाधि तनहुँलाई, बचत रकम म्याग्दीको कभर्ड हल निर्माणमा पठाइने

दोहा, कतार : पाँचौं मोना भलिबल कप २०२६ कतारको उपाधि आयोजक मोना कतार खेलकुद विभागको टिमलाई पराजित गर्दै तनहुँले आफ्नो पोल्टामा पारेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारको खेलकुद विभागसँगको सहकार्यमा मोना कतार खेलकुद विभागद्वारा आयोजित प्रतियोगिताको उपाधि तनहुँले आफ्नो पोल्टामा पारेको हो ।

ncell

इस्लाम धर्मावलम्बीहरूको महान् चाड इद-उल-अजहा (बकर इद) र नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा म्याग्दी जिल्लामा भलिबल कभर्ड हल निर्माणार्थ सहयोग जुटाउने उद्देश्यका साथ यो प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिताको सेमिफाइनल खेलहरू निकै रोमाञ्चक भएका थिए । जसमा पहिलो सेमिफाइनलमा युथ क्लबलाई पराजित गर्दै तनहुँले फाइनलको यात्रा तय गरेको थियो भने अर्को सेमिफाइनल खेलमा ओमसलाल अलीलाई हराउँदै आयोजक मोना कतार फाइनलमा प्रवेश गरेको थियो ।

अल्खोरस्थित इनडोर कभर्ड हलमा करिब ८०० जना दर्शकको बाक्लो उपस्थिति र भव्य उत्साहका माझ खेलिएको फाइनल खेलमा तनहुँ र मोना कतार आमने सामने भएका थिए । फाइनलमा मोना कतारलाई पराजित गर्दै तनहुँले प्रतियोगिताको मुख्य उपाधि चुम्न सफल भयो । यस्तै, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा ओमसलाल अलीलाई पराजित गर्दै यूथ क्लबले तृतीय स्थान हासिल गर्‍यो भने ओमसलाल अलीले सान्त्वना अर्थात् चौथो स्थानमा चित्त बुझायो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने तनहुँले ४ हजार कतारी रियाल नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । यसैगरी द्वितीय हुने मोना कतारले २५ सय कतारी रियाल, तृतीय हुने युथ क्लबले १४ सय कतारी रियाल र सान्त्वना स्थान हासिल गर्ने ओमसलाल अलीले ५०० कतारी रियालसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । विधागत उत्कृष्टतातर्फ तनहुँका विकास मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, युथ क्लबका उमेश तामाङले बेस्ट सर्भर, तनहुँका दीपक थापाले बेस्ट ब्लकर, म्याग्दीका श्री रोकाले बेस्ट डिफेन्स, तनहुँका अभिषेक मगरले बेस्ट लिफ्टर र म्याग्दीका होम खत्रीले बेस्ट स्पाइकरको उपाधि जिते ।

प्रतियोगिताको उद्घाटन तथा समापन समारोह एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यता तथा मोना कतारका अध्यक्ष बाबुराम भण्डारीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले इदमा सुरु भएको खेल शुक्रबार मात्र समापन हुँदा समय केही लामो लागेको जस्तो देखिएता पनि मोना कतारले निकै उत्कृष्ट, व्यवस्थित र सफल तवरले प्रतियोगिता सम्पन्न गरेकोमा खुसी व्यक्त गरे ।  दर्शकहरूको अभूतपूर्व उपस्थितिले फाइनल खेल थप उत्कृष्ट बनेको भन्दै पन्थीले एनसिसीले कतारमा रहेका सम्पूर्ण नेपाली संघ-संस्थाहरूसँग मिलेर सहकार्य गर्न चाहेको र सांस्कृतिक कार्यक्रमहरू जस्तै प्रवासमा खेलकुदको विकासका लागि पनि उल्लेख्य साथ र सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमका क्रममा मध्यान्ह दैनिकसँग विशेष कुरा गर्दै मोना कतारका खेल संयोजक कृष्ण पटेलले छिट्टै नै समीक्षा बैठक मार्फत प्रतियोगिताको पूर्ण आय-व्यय सार्वजनिक गरिने जानकारी दिए । उनले खेलबाट बचत भएको सम्पूर्ण रकम छिट्टै नै म्याग्दी जिल्ला भलिबल संघमा पठाइने स्पष्ट पारे । प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नका लागि रोयल नेपाल यूथ एसोसिएसन कतारले विशेष सहयोगीको भूमिका निर्वाह गरेको ।

मोना कतारका वरिष्ठ उपाध्यक्ष देवी कँडेलले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भण्डारीले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघ संस्थाहरूसहित आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण संघ-संस्था, स्वयंसेवक, रेफ्री, खेलाडी सहित उपस्थित समर्थकहरूलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गरे । भण्डारीले म्याग्दीमा भलिबल कभर्ड हल निर्माण गर्नु भनेको नेपाली भलिबलको भविष्य सुरक्षित गर्नु सरह भएको उल्लेख गर्दै यस पवित्र र सामाजिक कार्यका लागि थप सहयोगको अपेक्षा राखेको बताए ।

प्रतियोगिताको फाइनल समारोहमा मोना कतारका संस्थापक अध्यक्ष, खेलकुद विभागका संयोजक पल सुन्दास, खेल संयोजक डम्बर थजाली मगर, मोना कतारका भूतपूर्व अध्यक्षहरू तथा संरक्षकहरू लगायत कतारमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। समापन समारोहमा मोना कतारका खेल संयोजक डम्बर थजाली मगर बेस्ट कोचका रुपमा सम्मानित भएका थिए ।

नेपाली समुदायबीच निकै प्रतिस्पर्धात्मक र रोचक बनेको यस कडा प्रतिस्पर्धात्मक प्रतियोगितामा कुल २९ टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर