
बुटवल : डिसिसी प्रिमियर लिग सिजन–२ अन्तर्गत आइतबार बुटवलमा सम्पन्न खेलमा प्रिन्ट हब किंग्स विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । उसले एपिएस युनाइटेडलाई २९ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
टस जितेर पहिले फिल्डिङ रोजेको एपिएस युनाइटेडविरुद्ध प्रिन्ट हब किंग्सले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै १८६ रनको बलियो योगफल खडा गरेको थियो । टोलीका लागि बिपिन भट्टराईले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा अविजित १०३ रन बनाए। त्यस्तै, फर्सुराम न्यौपानेले ३२ बलमा ६५ रनको योगदान दिए ।
१८७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको एपिएस युनाइटेडले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५७ रन मात्र बनाउन सक्यो । टोलीका प्रवत न्यौपानेले २६, रिंकु थापाले २५ तथा शंकर चापागाईंले २१ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।
बलिङतर्फ मिथु आलमले ३ विकेट लिए भने बिपिन भट्टराई र फर्सुराम न्यौपानेले समान २–२ विकेट हात पारे ।
यस जितसँगै प्रिन्ट हब किंग्सले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
म्यान अफ द म्याच विपिन भट्टराई घोषित भए । उनले अविजित १०३ रन बनाउनुका साथै २ विकेट समेत लिए । प्रतियोगिता सिटी एक्सप्रेसको प्रस्तुति तथा एक्सपोर्ट एजुकेसको प्रायोजनमा भएको हो ।