२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ओमानलाई हराउँदै नेपाल एसियन गेम्स छनोटको फाइनलमा

Nada
२०८३ जेठ २४ गते १२:०७
Shares
ओमानलाई हराउँदै नेपाल एसियन गेम्स छनोटको फाइनलमा

काठमाडौं : सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई एकतर्फी रूपमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

ncell

आइतबार बिहान सिंगा ओभल मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको सहज जित निकाल्दै उपाधिनजिक पुगेको हो । ओमानले प्रस्तुत गरेको ९५ रनको सामान्य लक्ष्य नेपालले मात्र ९.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा लोकेश बमले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । उनले २६ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अविजित ४४ रन बनाए । कप्तान रोहित पौडेलले पनि संयमित इनिङ्स खेल्दै अविजित २१ रन जोडे । यी दुईले तेस्रो विकेटका लागि अविजित ६८ रनको साझेदारी गर्दै नेपाललाई सहज जित दिलाए ।

नेपालले सुरुवातमै दुई विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल २० रन बनाएर समिर ओथमानको बलमा आउट भए भने अर्का ओपनर आसिफ शेख मात्र १ रनमा पेभिलियन फर्किए । त्यसपछि रोहित र लोकेशले इनिङ्स सम्हाल्दै टोलीलाई लक्ष्यसम्म पुर्‍याए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ओमान नेपाली बलरहरूको दबाबमा टिक्न सकेन । ओमान १९.४ ओभरमा अलआउट हुँदै ९४ रनमा सीमित भयो ।

ओमानको सुरुवात निकै कमजोर रह्यो । टोलीले ९ रन जोड्दासम्म शीर्ष तीन ब्याटर गुमाइसकेको थियो । करण केसीको घातक स्पेलका कारण ओमान दबाबमा परेको थियो । सुहेब अल बालुसी र नावेद अल बालुसी खाता नै खोल्न नसकी आउट हुँदा मोहम्मद अल बालुसी ९ रनमा पेभिलियन फर्किए ।

त्यसपछि जुबेर अली अकबर र कप्तान सुफ्यान मेहमुदले चौथो विकेटका लागि ३५ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरे । जुबेरले २२ रन बनाउँदा कप्तान सुफ्यानले सर्वाधिक ३८ रन जोडे । अब्दुल जालिलले १६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि करण केसी सर्वाधिक सफल बलर बने । उनले ४ ओभरमा एक मेडनसहित २० रन खर्चेर ३ विकेट लिए र ‘प्लेयर अफ द म्याच’ घोषित भए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र शाहब आलमले समान १–१ विकेट हात पारे ।

लगातार उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रूपमा फाइनल पुगेको नेपालले अब हङकङ र मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यस प्रतियोगिताको सेमिफाइनलमा पुगेका नेपाल, ओमान, हङकङ र मलेसिया चारै टोली आगामी एसियाली खेलकुदका लागि छनोट भइसकेका छन् ।

सम्बन्धित खबर