
काठमाडौं : चार वर्षको प्रतीक्षापछि फेरि एकपटक विश्व फुटबलको सबैभन्दा ठुलो उत्सव सुरु हुँदै छ । मैदानमा गोलको वर्षा हुनेछ, रंगशालामा लाखौं समर्थकको हुटिङ गुन्जिनेछ र टेलिभिजन तथा डिजिटल स्क्रिनमा अर्बौं आँखाहरू टहलिनेछन् । अमेरिका, क्यानडा र मेक्सिकोका सहरहरू अब विश्व फुटबलको उत्सवमा झुम्नेछ । जुन ११मा जब पहिलो सिठी बज्नेछ, त्यससँगै सुरु हुनेछ, इतिहासकै सबैभन्दा ठुलो, लामो र भव्य फिफा विश्वकप–२०२६ ।
फुटबलको दुनियाँमा विश्वकपको तुलना अरू कुनै पनि प्रतियोगितासँग हुन सक्दैन । युरोपेली च्याम्पियन्स लिगमा गुणस्तरीय खेल प्रदर्शन भए तापनि, एउटा सिंगो देशको प्रतिनिधित्व हुने र लामो परम्परा बोकेको विश्वकपको जस्तो गरिमा अरूमा पाइँदैन । पछिल्लो फिफा विश्वकप–२०२२ विश्वभरका करिब तीन अर्ब मानिसले टेलिभिजनमार्फत हेरेका थिए भने फाइनल खेलमा एक अर्ब मानिसको नजर थियो । विश्वकप फुटबलको लोकप्रियता यो तथ्यांकले नै पुष्टि गर्छ ।
उत्तर अमेरिकाका तीन राष्ट्रहरू– अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्न लागेको यस संस्करणको विश्वकपमा पहिलोपटक ४८ टोली सहभागी हुँदै छन् । यसअघि ३२ टोली मात्र सहभागी हुने गरेकामा अब प्रतियोगिताको दायरा विस्तार गरिएको छ, जसले गर्दा थप देश र खेलाडीले विश्व मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन् ।
नयाँ ढाँचाअनुसार प्रतियोगितामा चार टोलीका दरले १२ समूह छन् । हरेक समूहका शीर्ष दुई टोली र तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट आठ टोली ‘राउन्ड अफ ३२’मा प्रवेश गर्नेछन् । त्यसपछि ‘राउन्ड अफ १६’, क्वार्टरफाइनल र सेमिफाइनल हुँदै फाइनल समीकरण हुनेछन् ।
फुटबलको यो महाकुम्भ ३९ दिनसम्म चल्नेछ । उद्घाटन खेल जुन ११मा मेक्सिको सिटीमा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ । अन्य दुई आयोजक राष्ट्रमध्ये क्यानडाले जुन १२मा बोस्निया एन्ड हर्जगोभिनासँग र अमेरिकाले सोही दिन पाराग्वेसँग खेल्दै आफ्नो अभियान सुरु गर्नेछन् ।
साविक विजेता अर्जेन्टिनाले जुन १६मा अल्जेरियाविरुद्ध खेल्दै उपाधि रक्षाको यात्रा सुरु गर्नेछ । यस्तै, पोर्चुगलले जुन १७मा प्रजातान्त्रिक गणतन्त्र कंगोसँग सामना गर्नेछ ।
समूह चरणका केही रोमाञ्चक खेलमा जुन १३ मा ब्राजिल विरुद्ध मोरक्को, जुन १७मा इंग्ल्यान्डविरुद्ध क्रोएसिया र जुन २७मा कोलम्बियाविरुद्ध पोर्चुगल रहेका छन् । समूह चरणका खेलहरू जुन २७मा समाप्त हुनेछन् । ‘राउन्ड अफ ३२’का खेल जुन २८ देखि जुलाई ३ सम्म, ‘राउन्ड अफ १६’का खेल जुलाई ४ देखि ७ सम्म हुनेछ । यस्तै, क्वार्टरफाइनलमा खेल जुलाई ९ देखि ११ सम्म, सेमिफाइनलका खेल जुलाई १४ र १५ तथा तेस्रो स्थानका लागि हुने खेल जुलाई १८मा हुनेछ । फाइनल खेल जुलाई १९ मा हुनेछ ।

इतिहास
विश्वकपको औपचारिक सुरुवात हुनुअघि ग्रीष्मकालीन ओलम्पिकमा आयोजना हुने फुटबल प्रतियोगितालाई नै सबैभन्दा प्रतिष्ठित मानिन्थ्यो । तर १९२०को दशकमा फुटबल खेलमा व्यावसायिकता भित्रिन थाल्यो, जुन तत्कालीन ओलम्पिकको भावनासँग मेल खाँदैनथ्यो । यही कारण फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नै छुट्टै विश्वस्तरको प्रतियोगिता आयोजना गर्ने योजना बनायो । सन् १९२८ मे २६मा पहिलोपटक आधिकारिक रूपमा विश्वकप आयोजना गर्ने घोषणा गरिएको थियो ।
विश्व इतिहासमा पहिलो आधिकारिक विश्वकप सन् १९३०मा उरुग्वेमा आयोजना भयो । जुलाई ३ देखि जुलाई ३० सम्म चलेको उक्त ऐतिहासिक प्रतियोगितामा जम्मा १३ वटा राष्ट्रले सहभागिता जनाएका थिए । आयोजक उरुग्वेले फाइनलमा अर्जेन्टिनालाई ४–२ गोल अन्तरले पराजित गर्दै पहिलो विश्वकपको उपाधि उचालेर इतिहास रचेको थियो । त्यसयता, दोस्रो विश्वयुद्धको समयमा बाहेक हरेक चार–चार वर्षमा यो प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको छ ।
विश्वकपको इतिहासमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिल सबैभन्दा सफल टोलीको रूपमा स्थापित छ । ब्राजिलले हालसम्म पाँचपटक उपाधि जितेको छ भने जर्मनी र इटालीले समान चार–चारपटक उपाधि आफ्नो पोल्टामा पारेका छन् । अर्जेन्टिनाले सन् २०२२को पछिल्लो उपाधिसहित तीनपटक विश्वकप जितेको छ । महादेशीय आधारमा हेर्दा युरोप र दक्षिण अमेरिकाको मात्रै वर्चस्व देखिन्छ । युरोपेली राष्ट्रहरूले हालसम्म १२ पटक र दक्षिण अमेरिकी राष्ट्रहरूले १० पटक उपाधि जितेका छन्, जबकि एसिया र अफ्रिकाबाट अहिलेसम्म कुनै पनि टोली फाइनल पुग्न सकेका छैनन् ।
विश्वकपको इतिहासमा आयोजक राष्ट्रले उत्कृष्ट प्रदर्शन गर्ने गरेको रोचक तथ्य छ । हालसम्म ६ पटक आयोजक राष्ट्रले नै उपाधि जितेका छन् । कमजोर मानिएका टोलीहरूले पनि घरेलु मैदानमा खेल्दा ठुला उपलब्धि हासिल गरेका उदाहरण छन् । सन् १९५८मा आयोजक स्विडेन फाइनल पुगेको थियो भने सन् २००६मा आयोजक दक्षिण कोरियाले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।
विश्वकपको एउटै संस्करणमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान फ्रान्सका जस्ट फन्टेनको नाममा छ, उनले सन् १९५८मा १३ गोल गरेका थिए । समग्र विश्वकपको इतिहासमा भने ब्राजिलका रोनाल्डोले १८ गोल र जर्मनीका मिरोस्लाभ क्लोजले १६ गोल गरेका छन् ।
खेलको लोकप्रियतासँगै यसको पुरस्कार राशिमा पनि ठुलो वृद्धि भएको छ । सन् १९८२मा जम्मा २० मिलियन डलर पुरस्कार राशि रहेकामा, सन् २०२२को कतार विश्वकपमा यो रकम बढेर ४४० मिलियन डलर पुगेको थियो, जहाँ विजेता अर्जेन्टिनाले मात्रै ४२ मिलियन डलर प्राप्त ग¥यो । यसपटकको विश्वकप विजेता टोलीले ५० मिलियन डलर प्राप्त गर्ने फिफाले जनाएको छ ।
सन् १९३०मा १३ टोलीबाट सुरु भएको विश्वकपको स्वरूप समयसँगै बदलिँदै गएको छ । सन् १९८२मा २४ टोली पुगेकोमा सन् १९९८ देखि ३२ टोली सहभागी हुन थाले । सन् २०२६ सम्म आइपुग्दा ४८ टोली विश्वकपमा सहभागी हुँदै छन् । यसले विश्वकपको प्रतिस्पर्धा र यसप्रतिको आकर्षणलाई अझ उचाइमा पुर्याउने निश्चित छ ।

जो खेल्दै छन् अन्तिम विश्वकप
यसपटकको विश्वकप फुटबलका दुई महान् हस्ती लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोका लागि विशेष मानिएको छ । अर्जेन्टिनाका मेस्सी र पोर्चुगलका रोनाल्डोका लागि यो सम्भवतः अन्तिम विश्वकप उपस्थिति हुनेछ । रोनाल्डोले पोर्चुगलको नेतृत्व गर्दै कीर्तिमानी छैटौंपटक विश्वकप खेल्दै छन् । त्यस्तै, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले मेस्सीको नेतृत्वमा आफ्नो उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ । मेस्सी र रोनाल्डोसहित अन्य केही चर्चित खेलाडीका लागि पनि यो सम्भवतः अन्तिम विश्वकप उपस्थिति हुनेछ ।
लियोनल मेस्सी (अर्जेन्टिना)
लियोनल मेस्सी आफ्नो कीर्तिमानी छैटौं विश्वकप खेल्ने तयारीमा छन् । ३८ वर्षीय मेस्सीले गत संस्करणको विजेता अर्जेन्टिनाको रक्षात्मक नेतृत्व गर्नेछन् । यद्यपि, प्रतियोगिताको तयारीका क्रममा उनले चोटसँग संघर्ष गरिरहेका छन्, जसले गर्दा उनले सबै खेल खेल्न सक्नेमा केही आशंका उब्जिएको छ ।
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
४१ वर्षको उमेरमा क्रिस्टियानो रोनाल्डो आफ्नो छैटौं विश्वकप खेल्दै छन्, जुन एउटा कीर्तिमान हो । यो प्रतियोगिता उनका लागि विश्वकप ट्रफी जित्ने अन्तिम मौका हुन सक्छ, जुन उनको शानदार करियरमा अहिलेसम्म अभाव छ । उनले यो सिजन अल–नासरका लागि ३७ खेलमा ३० गोल गरेका छन् र पोर्चुगलका लागि उनको गोल संख्या १४३ पुगेको छ ।
लुका मोड्रिच (क्रोएसिया)
४० वर्षीय लुका मोड्रिचका लागि यो पाँचौं र अन्तिम विश्वकप हुने निश्चित छ । टोलीका कप्तान र प्लेमेकर मोड्रिच भर्खरै गालाको हड्डीको शल्यक्रिया गरेर मैदान फर्किएका हुन् र क्रोएसियाली टोली अझै पनि उनको खेल कौशलमा निकै निर्भर छ ।
नेयमार जुनियर (ब्राजिल)
३४ वर्षका नेयमार जुनियर मेस्सी वा रोनाल्डो भन्दा कम उमेरको भए तापनि चोटका कारण यो उनको चौथो र अन्तिम विश्वकप हुने प्रबल सम्भावना छ । साढे दुई वर्षको अन्तरालपछि राष्ट्रिय टोलीमा फर्किएका नेयमारको उपस्थितिले प्रशंसकहरूमा उत्साह भने थपेको छ ।
म्यानुएल नोयर (जर्मनी)
४० वर्षीय महान् गोलकिपर म्यानुएल नोयरले सन्यास फिर्ता लिँदै जर्मनीको पहिलो रोजाइको गोलकिपरका रूपमा पुनरागमन गरेका छन् । सन् २०१४को विश्वकप विजेता नोयरका लागि यो पाँचौं विश्वकप हुनेछ र उनी यसै प्रतियोगिताबाट बिदा हुने लगभग निश्चित छ ।
मोहम्मद सलाह (इजिप्ट)
३३ वर्षीय मोहम्मद सलाहका लागि यो दोस्रो र सम्भवतः अन्तिम विश्वकप हुन सक्छ । लिभरपुलबाट बिदा भएका र आफ्नो फर्मको उच्च विन्दुबाट केही तल झरेका सलाहबाट इजिप्टका जनताले यसपटक ऐतिहासिक प्रदर्शनको आशा राखेका छन् ।
केभिन डे ब्रुइन (बेल्जियम)
बेल्जियमको ‘गोल्डेन जेनेरेसन’का प्रमुख सदस्य केभिन डे ब्रुइन यसै महिना ३५ वर्ष पुग्दै छन् । हाल नापोलीबाट खेलिरहेका उनी आफ्नो चौथो विश्वकपमा बेल्जियमलाई अविस्मरणीय नतिजा दिलाउन चाहन्छन् । उनको पनि सम्भवतः यो अन्तिम विश्वकप हुने निश्चितजस्तै छ ।
भर्जिल भान डाइक (नेदरल्यान्ड्स)
नेदरल्यान्ड्सका ३५ वर्षीय कप्तान भर्जिल भान डाइकका लागि यो तेस्रो विश्वकप हो । अघिल्ला संस्करणमा क्वार्टरफाइनल र सेमिफाइनलसम्म पुगेको डच टोलीलाई यसपटक उपाधि दिलाउने उनको लक्ष्य रहनेछ ।
साडियो माने (सेनेगल)
३४ वर्षीय साडियो माने सन् २०२२को विश्वकप चोटका कारण गुमाएपछि यसपटक मैदान फर्किएका छन् । उनले यसअघि नै अफ्रिका कप अफ नेसन्स आफ्नो अन्तिम भएको बताएकाले यो उनको तेस्रो र सम्भवतः अन्तिम विश्वकप हुने निश्चितजस्तै छ ।
गुइलेर्मो ओचोआ (मेक्सिको)
मेक्सिकोका ४१ वर्षीय गोलकिपर गुइलेर्मो ओचोआ मेस्सी र रोनाल्डोसँगै छैटौं विश्वकप खेल्ने दुर्लभ सूचीमा परेका छन् । मेक्सिकोको तर्फबाट ६ वटा विश्वकप खेल्ने उनी पहिलो खेलाडी हुन् र उनले यो प्रतियोगितापछि सन्यास लिने घोषणा गरिसकेका छन् ।

नयाँ प्रतिभाको उदय
पुरानो पुस्ता बिदा हुँदै गर्दा विश्व फुटबलमा नयाँ प्रतिभाहरूको पनि उदय हुँदै छ । स्पेनका १७ वर्षीय लामिन यामल र ब्राजिलका युवा स्टार एन्ड्रिकले यसै विश्वकपमार्फत आफ्नो ग्लोबल डेब्यु गर्दै छन् । स्पेनको टोलीमा यामलसँगै निको विलियम्स र पेड्रीजस्ता खेलाडी छन् भने ब्राजिलको अग्रपंक्तिमा नेयमार जुनियरसँगै भिनिसियस जुनियर र एन्ड्रिकले चुनौती पेस गर्नेछन् ।
१. ल्यामिन यामाल (स्पेन)
बार्सिलोनाका १८ वर्षीय विंगर ल्यामिन यामाल यस विश्वकपमा सबैको आकर्षणको केन्द्र हुनेछन् । सन् २०२४को युरोपेली च्याम्पियनसिप जिताउन महत्वपूर्ण भूमिका खेलेका उनलाई विश्वकपको ‘योङ प्लेयर’ अवार्डको मुख्य दाबेदार मानिएको छ । यद्यपि, सिजनको अन्त्यतिर लागेको ह्यामस्ट्रिङ चोटका कारण उनको फिटनेसमा केही चासो व्यक्त गरिएको छ ।
२. निको पाज (अर्जेन्टिना)
स्पेनमा जन्मे–हुर्के पनि २१ वर्षीय निको पाजले विश्व विजेता अर्जेन्टिनाबाट खेल्ने निर्णय गरेका छन् । रियल म्याड्रिड एकेडेमीका यी प्रतिभा हाल इटालीको कोमोमा सेस्क फाब्रेगासको निगरानीमा निखारिएका छन् । प्रशिक्षक लियोनल स्कालोनीले ३८ वर्षीय लियोनल मेस्सीको कार्यभार व्यवस्थापन गर्दा पाजले महत्वपूर्ण जिम्मेवारी पाउन सक्छन् ।
३. डेजायर डोउ (फ्रान्स)
पेरिस सेन्ट जर्मेन (पिएसजी)का २० वर्षीय डेजायर डोउले गत वर्ष च्याम्पियन्स लिगको फाइनलमा दुई गोल गर्दै ‘म्यान अफ द म्याच’ अवार्ड जितेर आफ्नो क्षमता देखाइसकेका छन् । केलियन एम्बाप्पे र ओस्मान डेम्बेलेजस्ता दिग्गज खेलाडीहरू भएको फ्रान्सेली टोलीमा स्थान बनाउन उनले संघर्ष गर्नुपर्ने भए पनि उनको पछिल्लो प्रदर्शन निकै उत्साहजनक छ ।
४. निको ओ रेली (इंग्ल्यान्ड)
म्यानचेस्टर सिटीका २१ वर्षीय निको ओ रेली पेप ग्वार्दिओलाको विश्वास जित्न सफल खेलाडी हुन् । सुरुमा मिडफिल्डरका रूपमा करियर थालेका उनले सिटीका लागि लेफ्ट–ब्याकको भूमिकामा समेत उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रशिक्षक थॉमस टुचेलका लागि उनी इङ्ल्यान्डको डिफेन्समा एउटा महत्वपूर्ण विकल्प बन्न सक्छन् ।
५. एन्ड्रिक (ब्राजिल)
१९ वर्षीय एन्ड्रिकलाई ब्राजिलका महान् खेलाडी रोमारियोसँग तुलना गरिन्छ । रियल म्याड्रिडबाट लियोनमा ऋणमा रहेका उनले वेम्बलीमा इंग्ल्यान्डविरुद्ध गोल गर्दै रोनाल्डोपछिको कान्छो गोलकर्ताको कीर्तिमान बनाएका थिए । सन् १९९४मा रोमारियोले अमेरिकाकै भूमिमा ब्राजिललाई विश्वकप जिताए जस्तै इतिहास दोहो¥याउने उनको लक्ष्य छ ।
६. पेड्री (स्पेन)
स्पेनिस मिडफिल्डका मुख्य खम्बा पेड्रीलाई जाभी हर्नान्डेजको उत्तराधिकारी मानिन्छ । चोटका कारण केही समय प्रभावित भए पनि बार्सिलोनामा हान्सी फ्लिकको नेतृत्वमा उनले आफ्नो पुरानो लय र फिटनेस फिर्ता पाएका छन् । स्पेनको खेल शैलीलाई नियन्त्रण गर्ने जिम्मेवारी उनकै काँधमा हुनेछ ।
७. लुका भुस्कोभिक (क्रोएसिया)
टोटनह्यामका १९ वर्षीय डिफेन्डर लुका भुस्कोभिकले सानै उमेरमा ९१ वटा सिनियर खेल खेलिसकेका छन् । हाल ह्यामबर्गमा ऋणमा रहेका उनले जोस्को ग्वार्दिओलसँग मिलेर क्रोएसियाको रक्षापंक्तिलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

उपाधिका लागि १० मुख्य दाबेदार राष्ट्र
विश्वकपमा ४८ टोलीले प्रतिस्पर्धा गर्ने भए पनि विजेता भने एउटा टोली हुनेछ । सबै राष्ट्र उपाधि जित्ने लक्ष्यसहित नै मैदानमा उत्रिन्छन् । तर हालैको लय, टोलीको गहिराइ र विश्वस्तरीय खेलाडीहरूको उपस्थितिका आधारमा आगामी विश्वकप जित्न सक्ने प्रमुख टोलीहरूको चर्चा भने सर्वत्र छ । जानौं, आगामी विश्वकप जित्न सक्ने १० प्रमुख दाबेदार राष्ट्रबारे ।
१. स्पेन
युरोकप २०२४को विजेता स्पेनलाई धेरै विशेषज्ञहरूले मुख्य दाबेदार मानेका छन् । टोली छनोट चरणमा अपराजित रहँदै उत्कृष्ट लयमा छ । रोड्री र पेड्री जस्ता खेलाडीले सम्हालेको मिडफिल्ड र युवा स्टार लामिन यमलको आक्रमणले स्पेनलाई अत्यन्तै बलियो बनाएको छ । सन् २०१०को विजेता स्पेन पुनः विश्वको शिखरमा पुग्न सक्षम देखिन्छ ।
२. फ्रान्स
पछिल्ला दुई विश्वकपको फाइनल पुगेको फ्रान्ससँग उच्च स्तरका खेलाडीको कमी छैन । टोलीमा किलियन एम्बाप्पे मुख्य स्टार हुन् भने उनलाई ओस्मान डेम्बेले, विलियम सालिबा र माइकल ओलिसेजस्ता खेलाडीले साथ दिएका छन् । सन् १९९८ र २०१८को विजेता फ्रान्स तेस्रो उपाधि थप्ने दाउमा छ ।
३. इंग्ल्यान्ड
इंग्ल्यान्डको नयाँ ‘गोल्डेन जेनेरेसन’ लामो समयदेखिको उपाधि खडेरी अन्त्य गर्न तयार देखिन्छ । युरोकप २०२४को उपविजेता बनेको यो टोलीले छनोट चरणमा एक गोल पनि नखाई प्रभावशाली प्रदर्शन गरेको छ । कप्तान ह्यारी केनसँगै जुड बेलिंघम, बुकायो साका र मर्गान रोजर्स टोलीका मुख्य हतियार हुन् ।
४. अर्जेन्टिना
साविक विजेता अर्जेन्टिना अहिले पनि उत्तिकै बलियो मानसिकतामा छ । लियोनल मेस्सी आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्त्यतिर भए पनि टोलीमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज र एलेक्सिस म्याक एलिस्टारजस्ता प्रतिभाशाली खेलाडी छन् । हालैको कोपा अमेरिका सफलताले उनीहरूलाई थप मनोबल दिएको छ ।
५. ब्राजिल
पाँचपटकको विजेता ब्राजिल सधैं नै विश्वकपको मुख्य दाबेदार रहने गर्दछ । कार्लो एन्सेलोटीको नेतृत्वमा टोलीले रक्षात्मक रूपमा सुधार गरेको छ । भिनिसियस जुनियर र राफिन्हाले आक्रमण सम्हाल्नेछन् भने फिट भएमा नेयमारले पनि टोलीमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
६. पोर्चुगल
पोर्चुगलसँग बर्नाडो सिल्भा, ब्रुनो फर्नान्डेज र भिटिन्हा सम्मिलित विश्वकै उत्कृष्ट मिडफिल्डमध्ये एक छ । यो क्रिस्टियानो रोनाल्डोको सम्भवतः अन्तिम विश्वकप हुनेछ । नेसन्स लिग र छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको पोर्चुगलले अहिलेसम्म विश्वकप जित्न नसके पनि यसपटक उनीहरू निकै खतरनाक देखिन्छन् ।
७. जर्मनी
चारपटकको च्याम्पियन जर्मनी पछिल्ला प्रतियोगितामा संघर्षरत देखिए पनि नयाँ पुस्ताका खेलाडीले आशा जगाएका छन् । जमल मुसियाला, फ्लोरियन विर्ज र काइ हाभट्र्जले टोलीलाई आक्रामक बनाउनेछन् । रक्षापंक्तिमा केही कमजोरी देखिए पनि अनुभवी गोलकिपर मानुएल नोएरको फिर्तीले टोलीलाई राहत दिनेछ ।
८. नेदरल्यान्ड्स
प्राविधिक रूपमा दक्ष खेलाडी उत्पादन गर्ने नेदरल्यान्ड्स सधैं बलियो टोली मानिन्छ । रक्षापंक्तिमा भर्जिल भान डाइकको नेतृत्व रहनेछ भने डोनियल मालेन र तिजानी रेइन्डर्सले टोलीमा सिर्जनशीलता थप्नेछन् । तीनपटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको डच टोली यसपटक ‘विश्वकप श्राप’ तोड्न चाहन्छ ।
९. नर्वे
नर्वे यस प्रतियोगिताको ‘डार्क हर्स’ टोली बन्न सक्छ । टोलीसँग विश्वकै उत्कृष्ट स्ट्राइकर मध्येका एक अर्लिङ हालान्ड र मिडफिल्ड नियन्त्रण गर्न सक्ने मार्टिन ओडेगार्ड छन् । लामो समयपछि ठुला प्रतियोगितामा फर्किएको नर्वेले आफ्नो आक्रामक शक्तिका कारण जुनसुकै टोलीलाई समस्यामा पार्न सक्छ ।
१०. बेल्जियम
बेल्जियमको ‘गोल्डेन जेनेरेसन’को चमक केही कम भएको जस्तो देखिए पनि टोलीमा अझै धेरै अनुभवी र उत्कृष्ट खेलाडी छन् । केभिन डी ब्रुयनाको अनुभव र जेरेमी डोकुको गति टोलीका लागि मुख्य हुनेछ । सन् २०१८को सेमिफाइनलिस्ट बेल्जियम कुनै पनि ठुलो टोलीलाई आश्चर्यमा पार्न सक्षम छ ।
विश्वकपमा नदेखिने उत्कृष्ट टोलीहरू
यस विश्वकपमा टोली संख्या ३२ बाट ४८ पु¥याएर प्रतियोगिताको दायरा फराकिलो बनाइए पनि फुटबलका केही स्थापित र दिग्गज राष्ट्रहरू यसपटक मैदानमा देखिने छैनन् । छनोट चरणमा भएको अप्रत्याशित हारका कारण कैयौं चर्चित टोली विश्वकपको यात्राबाट बाहिरिएका छन् ।
१. इटाली
विश्व फुटबलको सबैभन्दा ठुलो स्तब्धता इटालीको अनुपस्थिति हो । चारपटकको विश्व विजेता इटाली लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन असफल भयो । सन् २०१४ पछि इटालीले विश्वकप खेल्न सकेको छैन । युइएफए प्लेअफको निर्णायक खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटालीको यात्रा समाप्त भएको हो ।
२. पोल्यान्ड
विश्वका उत्कृष्ट स्ट्राइकरमध्येका एक रोबर्ट लेवान्डोस्कीको २०२६को विश्वकप खेल्ने सपना पनि टुटेको छ । युइएफए प्लेअफको फाइनलमा स्विडेनसँग ३–२ ले पराजित भएपछि पोल्यान्ड बाहिरिएको हो । ३७ वर्ष पुगिसकेका लेवान्डोस्कीका लागि यो विश्वकप अन्तिम मौका हुन सक्ने ठानिएको थियो । पोल्यान्डको इतिहासमा १६६ खेलमा ८९ गोल गरेका उनको अनुपस्थितिले विश्वकपको चमकमा केही कमी ल्याउने निश्चित छ ।
३. कोस्टारिका
उत्तर र मध्य अमेरिकी क्षेत्रको बलियो टोली कोस्टारिका यसपटक विश्वकपमा देखिने छैन । सन् २०१४को विश्वकपमा इटाली, उरुग्वे र इंग्ल्यान्डजस्ता टोली सम्मिलित ‘ग्रुप अफ डेथ’ जितेर तहल्का मच्चाएको कोस्टारिका यसपटक हाइटीसँग १–०ले पराजित भएपछि छनोट हुन असफल भयो । विगत ६ विश्वकपमध्ये पाँचपटक छनोट भएको यो टोलीका लागि यसपटकको नतिजा निकै निराशाजनक रह्यो ।
४. डेनमार्क
युरोपेली फुटबलको अर्को बलियो टोली डेनमार्क पनि पेनाल्टी सुटआउटका कारण विश्वकपको दौडबाट बाहिरियो । प्लेअफको फाइनलमा चेकियासँग २–२को बराबरीपछि पेनाल्टीमा ३–१ले पराजित हुँदै डेनमार्कले विश्वकपमा छनोट हुने अवसर गुमायो । सन् २०२०को युरोकपमा सेमिफाइनलसम्म पुगेको यो टोलीको बहिर्गमनलाई फुटबल जगत्मा आश्चर्यका रूपमा हेरिएको छ ।
५. नाइजेरिया
अफ्रिकी फुटबलको एक पावरहाउस मानिने नाइजेरिया यसपटकको विश्वकपमा देखिने छैन । नाइजेरियाले पछिल्ला सातमध्ये ६ वटा विश्वकप खेलेको थियो र पछिल्ला लगातार तीन संस्करणमा आफ्नो उपस्थिति जनाएको थियो । नाइजेरिया डिआर कंगोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि विश्वकपमा छनोट हुन सकेन ।
६. क्यामरुन
अफ्रिकाबाट सबैभन्दा धेरै आठपटक विश्वकप खेलेको कीर्तिमानी टोली क्यामरुन २०२६को प्रतियोगितामा अनुपस्थित हुनेछ । सन् १९८२मा स्वतन्त्र राष्ट्रका रूपमा पहिलोपटक छनोट भएको क्यामरुन सन् १९८६ यता विश्वकपमा अनुपस्थित हुन लागेको यो तेस्रोपटक मात्र हो । क्यामरुन पनि डिआर कंगोसँगै छनोट खेलको इन्जुरी समयमा खाएको गोलका कारण स्तब्ध बन्यो ।

१६ सहरका रंगशाला
सन् २०२६को फिफा विश्वकप फुटबलको इतिहासमा पहिलोपटक तीनवटा देशहरू— अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दै छन् । जुन ११ देखि जुलाई १९ सम्म चल्ने यस प्रतियोगिताका लागि १६ वटा रंगशाला छनोट गरिएको छ । यो विश्वकप भौगोलिक रूपमा पनि अहिलेसम्मकै फराकिलो हुनेछ, जहाँ भ्यांकुभर र मेक्सिको सिटीजस्ता दुई टाढाका सहरबीचको दूरी करिब ४४ सय किलोमिटर छ ।
मेक्सिको सिटी स्टेडियम (मेक्सिको)
जुन ११मा आयोजना हुने उद्घाटन खेल यही ऐतिहासिक रंगशालामा हुनेछ । ८३ हजार दर्शक क्षमताको यो रंगशालामा सन् १९७० र १९८६को विश्वकप फाइनल भइसकेको छ, जहाँ पेले र म्याराडोनाजस्ता दिग्गजले ट्रफी उचालेका थिए ।
ग्वाडालजारा स्टेडियम (मेक्सिको)
४८ हजार दर्शक क्षमता भएको यो रंगशाला ज्वालामुखीको आकारबाट प्रेरित आधुनिक डिजाइनमा बनेको छ । यहाँ विश्वकपका चार खेल हुनेछन् ।
मोन्टेरे स्टेडियम (मेक्सिको)
५३ हजार पाँच सय क्षमताको यो रंगशाला मेक्सिकोको पहाडी शृंखलाको बीचमा अवस्थित छ । यहाँ पनि विश्वकपका चार खेल आयोजना हुनेछन् ।
टोरन्टो स्टेडियम (क्यानडा)
क्यानडाको पहिलो विशेष फुटबल रंगशाला मानिने यस रंगशालामा ४५ हजार दर्शक अट्नेछन् । यहाँ जुन १२ देखि जुलाई ३ सम्म ६ वटा खेल हुने तालिका छ ।
भ्यांकुभर स्टेडियम (क्यानडा)
क्यानडाको पश्चिमी तटमा रहेको यो रंगशालाको छत खुल्ने र बन्द हुने प्रविधिको छ । ५४ हजार क्षमताको यस रंगशालामा प्रतियोगिताका सात खेल हुनेछन् ।
सियाटल स्टेडियम (अमेरिका)
६९ हजार दर्शक क्षमता भएको यो रंगशाला आफ्नो विशिष्ट छतको बनावट र चर्को ध्वनिका लागि परिचित छ । यहाँ समूह चरण र नकआउट गरी ६ खेल हुनेछन् ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियम (अमेरिका)
सिलिकन भ्यालीमा अवस्थित ७१ हजार क्षमताको यो रंगशाला दिगो वास्तुकलाका लागि चिनिन्छ । यहाँ ६ वटा खेल आयोजना हुनेछन् ।
लस एन्जलस स्टेडियम (अमेरिका)
७० हजार क्षमताको यो रंगशाला विश्वकै महँगो रंगशालामध्ये एक हो, जसको निर्माण लागत करिब ५.५ अर्ब डलर रहेको छ । यहाँ क्वार्टरफाइनलसहित आठ खेल हुनेछन् ।
ह्युस्टन स्टेडियम (अमेरिका)
टेक्ससमा रहेको ७२ हजार दर्शक क्षमताको यस रंगशालामा नकआउट चरणका खेलहरूसहित कुल ७ खेल हुनेछन् ।
ड्यालस स्टेडियम (अमेरिका)
९४ हजार दर्शक क्षमता भएको यो रंगशाला २०२६ विश्वकपकै सबैभन्दा ठुलो रंगशाला हो । यहाँ सेमिफाइनलसहित कुल नौवटा खेल खेलाइनेछ ।
कान्सास सिटी स्टेडियम (अमेरिका)
७३ हजार क्षमताको यो रंगशाला अमेरिकी फुटबलको ऐतिहासिक स्थान मानिन्छ, जहाँ विश्वकपका ६ खेल हुनेछन् ।
एटलान्टा स्टेडियम (अमेरिका)
७५ हजार दर्शक अट्ने यस आधुनिक रंगशालामा एउटा सेमिफाइनलसहित कुल आठ खेल आयोजना हुने तालिका छ ।
मियामी स्टेडियम (अमेरिका)
६५ हजार क्षमताको यस रंगशालामा क्वार्टरफाइनल र जुलाई १९मा हुने तेस्रो स्थानका लागि प्रतिस्पर्धासहित सात खेल हुनेछन् ।
फिलाडेल्फिया स्टेडियम (अमेरिका)
६९ हजार दर्शक क्षमताको यो रंगशालामा समूह चरण र नकआउट गरी ६ वटा खेल हुनेछन् ।
बोस्टन स्टेडियम (अमेरिका)
६५ हजार क्षमताको यो रंगशाला दुई दशकभन्दा बढी समयदेखि ठुला फुटबल प्रतियोगिताको आयोजक रहँदै आएको छ । यहाँ क्वार्टरफाइनलसहित सात खेल हुनेछन् ।
न्युयोर्क न्युजर्सी स्टेडियम (अमेरिका)
८२ हजार पाँच सय दर्शक क्षमता भएको यो रंगशालामा जुलाई १९मा विश्वकपको फाइनल खेल हुनेछ र नयाँ विश्व विजेताको टुंगो लाग्नेछ ।

विश्वकप खेल्ने राष्ट्र
१. अल्जेरिया
२. अर्जेन्टिना
३. अस्ट्रेलिया
४. अस्ट्रिया
५. बेल्जियम
६. बोस्निया एन्ड हर्जगोभिना
७. ब्राजिल
८. क्यानडा
९. केप भर्डे
१०. कोलम्बिया
११. क्रोएसिया
१२. कुरासाओ
१३. चेकिया
१४. प्रजातान्त्रिक गणतन्त्र कंगो
१५. इक्वेडर
१६. इजिप्ट
१७. इंग्ल्यान्ड
१८. फ्रान्स
१९. जर्मनी
२०. घाना
२१. हाइटी
२२. इरान
२३. इराक
२४. आइभोरी कोस्ट
२५. जापान
२६. जोर्डन
२७. मेक्सिको
२८. मोरक्को
२९. नेदरल्यान्ड्स
३०. न्युजिल्यान्ड
३१. नर्वे
३२. पानामा
३३. पाराग्वे
३४. पोर्चुगल
३५. कतार
३६. साउदी अरब
३७. स्कटल्यान्ड
३८. सेनेगल
३९. दक्षिण अफ्रिका
४०. दक्षिण कोरिया
४१. स्पेन
४२. स्विडेन
४३. स्विट्जरल्यान्ड
४४. ट्युनिसिया
४५. टर्किए
४६. उरुग्वे
४७. संयुक्त राज्य अमेरिका
४८. उज्वेकिस्तान
यी हुन् विश्वकप विजेताहरू
१९८२
विजेता : इटाली
उपविजेता : पश्चिम जर्मनी
१९८६
विजेता : अर्जेन्टिना
उपविजेता : पश्चिम जर्मनी
१९९०
विजेता : पश्चिम जर्मनी
उपविजेता : अर्जेन्टिना
१९९४
विजेता : ब्राजिल
उपविजेता : इटाली
१९९८
विजेता : फ्रान्स
उपविजेता : ब्राजिल
२००२
विजेता : ब्राजिल
उपविजेता : जर्मनी
२००६
विजेता : इटाली
उपविजेता : फ्रान्स
२०१०
विजेता : स्पेन
उपविजेता : नेदरल्यान्ड्स
२०१४
विजेता : जर्मनी
उपविजेता : अर्जेन्टिना
२०१८
विजेता : फ्रान्स
उपविजेता : क्रोएसिया
२०२२
विजेता : अर्जेन्टिना
उपविजेता : फ्रान्स