
रियाद, साउदी अरब : साउदी अरेबियाको राजधानी रियादमा आयोजित नेपाली समुदायको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘१०औं सगरमाथा गोल्ड कप–२०२६’को उपाधि नेपालगन्ज फुटबल क्लबले जितेको छ । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईदको अवसरमा आयोजित उक्त प्रतियोगिताको फाइनलमा नवदिप फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै नेपालगन्ज च्याम्पियन बनेको हो ।
‘विकास, अनुशासन र गतिशीलता’ भन्ने मूल नाराका साथ सञ्चालित प्रतियोगितामा नेपालगन्ज एफसीले निर्धारित समयसम्म उत्कृष्ट प्रदर्शन गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
विजेता नेपालगन्ज एफसीले नगद ७ हजार ५ सय साउदी रियालसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता नवदिप फुटबल क्लबले नगद ३ हजार ८ सय साउदी रियालसहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा साउदीका लागि नेपाली कार्यवाहक राजदूत सिर्जना अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । प्रतियोगिता आयोजक क्लबका अध्यक्ष किरण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन नागेश तामाङले गरेका थिए । कार्यक्रममा ठुलो संख्यामा नेपाली खेलप्रेमीहरूको उपस्थिति रहेको थियो, जसले खेलाडीहरूको उत्साह थप बढाएको थियो ।
प्रवासी नेपालीहरूबीच आपसी एकता, भाइचाराको भावना सुदृढ गर्ने तथा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताको व्यवस्थापन र खेल सञ्चालनको सहभागीहरूले मुक्तकण्ठले प्रशंसा गरेका छन् । निष्पक्ष खेल र भव्य आयोजनाले प्रतियोगिताको गरिमा बढाएको सहभागीहरूको भनाइ छ ।
प्रतियोगितालाई सफल बनाउन मुख्य प्रायोजक नवदिप फुटबल क्लब, सह–प्रायोजक सगरमाथा रेस्टुरेन्ट, लालीगुराँस रेस्टुरेन्ट तथा फ्लाई सिटी ट्राभललगायत विभिन्न संघ–संस्था र व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ ।