
काठमाडौं : टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले आफ्ना चार जना राष्ट्रिय भलिबल खेलाडीलाई मलेसिया भ्रमणमा पठाउँदै छ । शुक्रबार मलेसिया प्रस्थान गर्न लागेका खेलाडीलाई क्लबका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले बिहीबार गैरीधारास्थित क्लबको कार्यालयमा खादा लगाएर बिदाइ गरे ।
गत वैशाखमा सम्पन्न १०औं प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा क्लब दोस्रो अर्थात् फस्ट रनरअप भएको थियो । प्रतियोगिता सञ्चालन भइरहेका बेला क्लबका संरक्षक तथा हार्भेस्ट मुन ट्राभल्स प्रा.लि.का अध्यक्ष रामप्रसाद श्रेष्ठले चार जना खेलाडीलाई एक हप्ताको मलेसिया भ्रमण गराउने, दुई जना उत्कृष्ट खेलाडीलाई प्रोत्साहनस्वरूप एक वर्षसम्म मासिक ३० हजार रुपैयाँ तलब दिने तथा तीन जना विदेशी खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका थिए ।
क्लबका अध्यक्ष बासुदेव श्रेष्ठले सोही घोषणा र प्रतिबद्धताअनुसार तीन जना विदेशी खेलाडीलाई जनही १५ सय अमेरिकी डलर प्रदान गरिसकेको, चिरन खड्का र सुवास कुँवरलाई मासिक ३० हजार रुपैयाँ तलब प्रदान गरिएको तथा चार जना खेलाडीलाई मलेसिया भ्रमणमा पठाउन लागिएको बताए । क्लबले १२ जना खेलाडी सहभागी गराई गोलाप्रथा अर्थात् लक्की ड्रमार्फत मलेसिया जाने चार भाग्यमानी खेलाडी छनोट गरेको हो ।

मलेसिया जान गरिएको गोलाप्रथामा इन्द्र विक, विष्णु क्षेत्री, सन्तोष राई र जीवन सुनारले चिठ्ठा जितेका थिए । मलेसिया भ्रमणको बिदाइ कार्यक्रममा खेलाडी जीवन सुनारले आफूहरूको भ्रमणका लागि क्लबका संरक्षक तथा हार्भेस्ट मुनका अध्यक्ष श्रेष्ठसहित क्लबका पदाधिकारी र सदस्यहरूप्रति आभार प्रकट गरे ।
विगतमा आफूहरूलाई खेलाउने केही आयोजकहरूले लामो समय पारिश्रमिक नदिने तथा झुलाउने गरेको तीतो अनुभव बटुलेका सुनारले क्लबले सबै खर्च व्यहोरेर मलेसियाजस्तो दक्षिणपूर्वी एसियाको विकसित मुलुकमा भ्रमणमा पठाउँदा आफूहरूलाई उत्साहित बनाएको बताए । उनीहरूले भ्रमणका क्रममा अनुकूल मिलेसम्म मलेसियामा पनि भलिबल प्रतियोगितामा भाग लिएर नेपाली भलिबलको क्षमता प्रदर्शन गर्ने सोच बनाएको बताएका छन् ।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष श्रेष्ठले राष्ट्रका लागि खेल्ने खेलाडीहरूको आत्मबल बढाउन उनीहरूलाई आर्थिक तथा सामाजिक रूपमा सबल र शारीरिक तथा मानसिक रूपमा चुस्तदुरुस्त राख्न चार जनालाई गोलाप्रथामार्फत निष्पक्ष रूपमा मलेसिया भ्रमणमा पठाउन लागिएको बताए । क्लबमा आबद्ध अन्य खेलाडीलाई पनि विभिन्न प्रकारका पुरस्कार तथा इन्सेन्टिभ दिएर सहयोग गर्ने क्लबको नीति रहेको उनले बताए ।
अध्यक्ष श्रेष्ठले क्लबले प्रचारप्रसारभन्दा कामलाई महत्व र प्राथमिकता दिने भन्दै जस्तोसुकै कठिन परिस्थितिमा पनि खेलाडीप्रतिको आफ्नो प्रतिबद्धता पूरा गरेरै छोड्ने बताए । उनले आफू समेत आबद्ध रहेको हार्भेस्ट मुनका अध्यक्ष श्रेष्ठको सहयोगप्रति क्लब सधैं आभारी रहेको भन्दै नेपालीहरूको दोस्रो घरका रूपमा रहेको मलेसियामा हुने खेलाडीहरूको भ्रमणमा सबै पक्षबाट सहयोग पु¥याउन नेपालबाट सम्पर्क र समन्वय गरिरहने पनि बताए ।

क्लबका अध्यक्ष श्रेष्ठले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मान्यताअनुसार खेलकुदका माध्यमबाट आपसी भाइचाराको सम्बन्ध विकास गर्दै राष्ट्रका लागि स्वस्थ जनशक्ति निर्माण गर्ने लक्ष्य लिएको पनि बताए ।
त्यस अवसरमा क्लबका महासचिव अरुणकुमार श्रेष्ठ, उपाध्यक्ष बासु पुडासैनी, वरिष्ठ सल्लाहकार देवेन्द्र आचार्य, सचिव गणेश तिमिल्सिना, कोषाध्यक्ष मनोज श्रेष्ठ, व्यवस्थापक झंकनारायण श्रेष्ठ, कार्यसमिति सदस्य प्रशान्त क्षेत्रीलगायतले मलेसिया भ्रमणमा जान लागेका क्लबमा आबद्ध खेलाडीहरूको सुखद एवं फलदायी भ्रमणको शुभकामना दिएका थिए ।
१०औं प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा दोस्रो भए पनि त्यसअघि क्लब उक्त प्रतियोगिताको निरन्तर उपाधि विजेता रहँदै आएको थियो ।
नेपाल भलिबल संघको आयोजनामा दशरथ रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबसहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश भलिबल क्लब र बुढानीलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गरेका थिए ।