
काठमाडौँ : एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको हो ।
नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेटको क्षतिमा १०६ रन बनायो । चीनका लागि कप्तान जु मिंगेले ३० रन बनाइन् । बलिङमा नेपालकी रिया शर्माले २ विकेट हात पार्दा मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले १-१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनायो । नेपालका लागि उपकप्तान पूजा महतोले ६३ रनको योगदान गरिन् । उनले ५७ बल खेलेर ६ चौका प्रहार गरिन् ।
पूजासँग ओपनिङ गरेकी सम्झना खड्का ४ रनमा आउट भइन भने सोनी पाख्रिनले १८ रन जोड्न सकिन् । रुबी पोद्दारले नटआउट २२ रन बनाएकी थिइन् ।
बलिङमा चीनकी मा रुइकेले २ विकेट लिइन्। समूहमा नेपालले दोस्रो तथा अन्तिम खेलमा इन्डोनेसियासँग भोलि प्रतिस्पर्धा गर्नेछ ।
अर्को समूहमा थाइल्यान्ड, आयोजक मलेसिया र हङकङ छन्। दुवै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्ने दुई टोली र तेस्रो हुने एक टोली गरी तीन टोली आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्समा छनोट हुनेछ ।