२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

क्यानद्वारा खेलाडी वर्गीकरण : ‘ए प्लस’मा रोहित, दीपेन्द्र र सन्दीप, कसको तलब कति ?

Nada
२०८३ जेठ ११ गते १८:५६
Shares
क्यानद्वारा खेलाडी वर्गीकरण : ‘ए प्लस’मा रोहित, दीपेन्द्र र सन्दीप, कसको तलब कति ?

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि राष्ट्रिय टोलीका पुरुष र महिला खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानले कुल ३८ जना पुरुष र २५ जना महिला खेलाडीहरूलाई विभिन्न श्रेणीमा वर्गीकरण गर्दै मासिक पारिश्रमिक तोकेको छ ।

ncell

क्यानले पुरुष टोलीलाई ‘ए प्लस’, ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ (डेभलपमेन्ट) गरी पाँच तहमा वर्गीकरण गरेको छ । सबैभन्दा माथिल्लो श्रेणी ‘ए प्लस’मा कप्तान रोहित पौडेलसँगै दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् । उनीहरूले मासिक १ लाख २० हजार रुपैयाँ तलब प्राप्त गर्नेछन् ।

त्यसैगरी, क्याटेगोरी ‘ए’ मा अनुभवी खेलाडीहरू सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसीलाई राखिएको छ । उनीहरूको मासिक पारिश्रमिक १ लाख रुपैयाँ तोकिएको छ । क्याटेगोरी ‘बी’ मा रहेका ललित नारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुल्सन झाको मासिक तलब ७५ हजार रुपैयाँ हुनेछ ।

वर्गीकरणको तेस्रो तह अर्थात् क्याटेगोरी ‘सी’ मा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, ईशान पाण्डे, बसिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल शाह गरी ११ जना खेलाडीहरू समेटिएका छन् । उनीहरूले मासिक ५५ हजार रुपैयाँ तलब पाउने क्यानले जनाएको छ ।

विकासोन्मुख खेलाडीहरूलाई लक्षित गरी बनाइएको ‘डेभलपमेन्ट’ (क्याटेगोरी डी) मा १५ जना खेलाडीहरूलाई समावेश गरिएको छ । यस श्रेणीमा त्रित राज दास, रासिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिश जिसी र सागर ढकाल रहेका छन् । उनीहरूले मासिक ३५ हजार रुपैयाँ पारिश्रमिक बुझ्नेछन् ।

महिला खेलाडीहरूको वर्गीकरण

महिला खेलाडीहरूको हकमा क्यानले चार वटा श्रेणी निर्धारण गरेको छ । क्याटेगोरी ‘ए’मा इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सिता राना मगर रहेका छन् । उनीहरूले मासिक ५५ हजार रुपैयाँ तलब पाउनेछन् ।

क्याटेगोरी ‘बी’मा कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय रहेका छन् । उनीहरूले मासिक तलब ४० हजार रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ । क्याटेगोरी ‘सी’ मा बिन्दु रावल, कविता जोशी, रुबी पोद्दार र रिया शर्मा समावेश छन् । उनीहरूले मासिक ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिलातर्फको ‘डेभलपमेन्ट’ (क्याटेगोरी डी) श्रेणीमा रोमा थापा, सुमन विष्ट, ईश्वरी विष्ट, सोनी पाख्रिन, साना प्रविन, सावित्री धामी, काजल श्रेष्ठ, सीमना केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अश्मिना कर्माचार्य र रचना चौधरी गरी १४ जना खेलाडीहरू रहेका छन् । उनीहरूले मासिक २५ हजार रुपैयाँ तलब पाउनेछन् ।

मासिक पारिश्रमिकका अतिरिक्त क्यानले ‘म्याच फि’को समेत व्यवस्था गरेको छ । जसअनुसार पुरुष र महिला दुवै टोलीका खेलाडीहरूले टी–२० अन्तर्राष्ट्रिय खेल खेलेबापत प्रति खेल १० हजार रुपैयाँ र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेबापत प्रति खेल १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सम्बन्धित खबर