
काठमाडौं : नेपालले लगातार दोस्रो जित निकाल्दै घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३-० को सोझो सेटमा जित निकाल्यो । समूह ‘ए’ को नेपालको तेस्रो खेलमा यो दोस्रो जित हो । भारतसँग ३–२ को सेटमा प्रतिस्पर्धात्मक हारबाट नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सुरुवात गरेको थियो ।
चार टोली सम्मिलित समूह ‘ए’ को बाँकी दुई खेलको नतिजा आफ्नो बनाउँदै नेपाल सेमिफाइनलमा पुग्न सफल भयो । समूह विजेताको टुंगो भने सोमबार हुने लिग चरणको अन्तिम खेलले तय हुनेछ ।
यस समूहको अन्तिम खेलमा भारत र किर्गिस्तानबीच प्रतिष्पर्धा हुनेछ । भारतलाई सोझो सेटमा हराएमा कीर्गिस्तान यस समूहबाट सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनलमा पुग्न भारतलाई भने ३–२ को सेटको नतिजा पनि पर्याप्त हुनेछ ।
नेपाल ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ । समूहमा दोस्रो स्थानको भारतको ५, कीर्गिस्तानको ३ अंक छ । माल्दिभ्स अंकविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ । नेपालले अब शुक्रबार इरान वा काजखस्तानमध्ये एक टोलीसँग सेमिफाइनल खेल्नेछ ।
यस्तै समूह 'बी' बाट कजाखस्तान र इरान लगातार आइतबार नै सेमिफाइनल प्रवेश गरेका छन् । कजाखस्तानले बंगलादेशलाई ३-० सेटमा हराउँदा इरानले श्रीलंकालाई पनि ३-० कै सेटमा हरायो ।
इरानले श्रीलंकालाई २५–१६, २५–१३ र २५–११ ले हरायो । इरानले पहिलो सेटदेखि नै श्रीलंकालाई दबाबमा राखेको थियो । उसले २५–१६, २५–१३ र २५–११ ले खेल आफ्नो पक्षमा पार्यो । इरानले पहिलो खेलमा पनि बंगलादेशमाथि ३–० को सहज जित निकालेको थियो ।