
काठमाडौं : आगामी ३१ मेदेखि सिंगापुरमा सुरु हुने एसीयन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा पछिल्लो समय युएईविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा बाहिर रहेका केही अनुभवी खेलाडीले पुनरागमन गरेका छन् । पूर्वकप्तान रोहित पौडेल, तीव्र गतिका बलर सोमपाल कामी तथा करण केसी पुनः राष्ट्रिय टोलीमा समेटिएका छन् । त्यस्तै स्पिनर शाहब आलम पनि टोलीमा फर्किएका छन् ।
क्यानले घोषणा गरेको टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसँगै कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, सोमपाल कामी, करण केसी र शाहब आलम रहेका छन् ।
सिंगापुरमा हुने छनोट प्रतियोगिता मे ३१ देखि जुन ९ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा कुल १३ राष्ट्र सहभागी रहनेछन् । नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ थाइल्यान्ड र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । समूह चरण पार गर्न नेपाललाई दुवै खेल महत्वपूर्ण मानिएको छ ।
प्रतियोगिताको ढाँचाअनुसार चार समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि क्वार्टरफाइनल जित्दै सेमिफाइनल पुग्ने चार टोलीले सन् २०२६ मा जापानमा हुने एसीयन गेम्सका लागि स्थान सुरक्षित गर्नेछन् । नेपालले समूह चरण पार गरेपछि थप एक खेल जिते एसीयन गेम्समा स्थान बनाउने सम्भावना रहनेछ ।
समूह ‘बी’ मा ओमान, माल्दिभ्स र आयोजक सिंगापुर रहेका छन् भने समूह ‘सी’ मा हङकङ, बहराइन र दक्षिण कोरिया छन् । यस्तै समूह ‘डी’ मा मलेसिया, कतार, चीन र उज्बेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
यस छनोट प्रतियोगिताबाट चार टोली एसीयन गेम्समा पुग्नेछन् । यसअघि नै साविक विजेता भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आयोजक जापान प्रत्यक्ष रूपमा छनोट भइसकेका छन् । ती टोलीसँगै छनोटबाट आउने चार टोलीले जापानको आइची–नागोयामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । एसीयन गेम्स क्रिकेट प्रतियोगिता आगामी सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म आयोजना हुनेछ ।
नेपालले अघिल्लो संस्करणको एसीयन गेम्समा आईसीसी वरीयताको आधारमा सिधै सहभागिता जनाएको थियो । त्यसक्रममा नेपालले मंगोलियाविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३१४ रन बनाउँदै विश्व कीर्तिमान कायम गरेको थियो । उक्त खेलमा नेपाली टोलीले एकै इनिङ्समा सर्वाधिक रन बनाउने उपलब्धि हासिल गरेको थियो ।