
दोहा, कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार मातहत रहेको खेलकुद विभागको आयोजनामा इस्लामिक धर्मावलम्बीहरूको महान् पर्व इद अल फितरको पावन अवसरमा ‘पाँचौं मोना भलिबल कप’ आयोजना गर्ने भएको छ । म्याग्दी भलिबल कवर्ड हलको जग्गा खरिद सहयोगार्थ मोना कतारको २३औं वार्षिकोत्सवको अवसर पारेर मोना कतारको समन्वयमा उक्त खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
यस प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीहरूले आगामी मे २६ को साँझ साढे ७ बजेसम्म आफ्नो टिम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिता कतारको सनैया ५२ नम्बरमा रहेको खुला ग्राउन्डमा सञ्चालन हुनेछ भने टिम दर्ता शुल्क कतारी रियाल ३५० तोकिएको छ । यस खेलकुद कार्यक्रमलाई रोयल नेपाल युथ एसोसिएसन कतारले विशेष सहयोगीको रूपमा साथ दिएको छ ।
प्रतियोगिताका विजेताहरूले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । जस अन्तर्गत प्रथम पुरस्कार ४००० कतारी रियाल, द्वितीय पुरस्कार २५०० कतारी रियाल, तृतीय पुरस्कार १४०० कतारी रियाल र सान्त्वना पुरस्कार ५०० कतारी रियाल रहेको छ । नगद पुरस्कारका साथै विजेता टोली र खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिनेछ । प्रतियोगिताबाट संकलन हुने सम्पूर्ण मुनाफा (बचत रकम) म्याग्दीमा निर्माण हुन लागेको कभर्ड हलको जग्गा खरिद सहयोगार्थ पठाइने कार्यक्रमका अफिसियल संयोजक कृष्ण पटेलले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
यसैबीच मोना कतारका अध्यक्ष बाबुराम भण्डारीले कतारमा रहेका सम्पूर्ण नेपाली जनहरूलाई आ-आफ्नो टिम बनाएर यस खुला पुरुष भलिबल प्रतियोगितामा उत्साहजनक रूपमा सहभागी हुन र कार्यक्रमलाई भव्य रूपमा सफल बनाइदिन आग्रह गरेका छन् । अध्यक्ष भण्डारीले कतारमा स्थापित सम्पूर्ण संघ-संस्थाहरूका अध्यक्ष, प्रतिनिधि, खेल प्रेमी, भलिबल अनुरागीहरू, समाजसेवी, सहयोगी, बुद्धिजीवी तथा पत्रकार लगायत सम्पूर्ण भद्र भलाद्मीहरूलाई प्रतियोगिता अवलोकन तथा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा समेत गरेका छन् ।