
रूपन्देही : रूपन्देहीको देवीनगर क्रिकेट क्लबले आयोजना गर्न लागेको ‘सिटी एक्सप्रेस प्रिजेन्ट्स डिसिसी प्रिमियर लिग–२०८३ (सिजन २)’ को अक्सन कार्यक्रम सम्पन्न भएको छ । एक्सपर्ट एजुकेशन पावर्ड प्रतियोगिताअन्तर्गत आयोजित अक्सन शनिबार होटल पौवा, योगीकुटीमा भव्य रूपमा सम्पन्न भएको क्लबले जनाएको छ ।
अक्सन कार्यक्रममा सहभागी टोली मालिकहरूले खेलाडी खरिद प्रक्रिया पूरा गरेका छन् । प्रतियोगितामा प्रिन्ट हब किङ्स, एसजीए म्याभेरिक्स, मेगा राइनोज, एपीएस युनाइटेड र सिद्धार्थ रोयल गरी पाँच टोली सहभागी रहेका छन् । प्रत्येक टोलीलाई रु. १ लाख ५० हजार बराबरको पकेट मनी व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
क्लबका अनुसार प्रतियोगिताका खेलहरू जेठ ९ गतेदेखि देवीनगर रंगशाला मिनी ग्राउण्डमा सञ्चालन हुनेछन् । लिग चरणमा प्रत्येक टोलीले अन्य सबै टोलीसँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्। अंक तालिकाका आधारमा उत्कृष्ट टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ ।
प्रतियोगिता सफल बनाउन विभिन्न संस्था तथा कम्पनीहरूको सहयोग रहेको क्लबले जनाएको छ । सहयोगी संस्थाहरूमा इड्राइभ नेपाल, बुटवलको फुल्की, नेपाथ्ये कलेज, मञ्जुश्री फाइनान्स, कोडा पल्स ग्लोबल, करेन्ट नुडल लगायत रहेका छन् ।
देवीनगर क्रिकेट क्लबका सचिव गणेश पाण्डेयका अनुसार कार्यक्रम भव्य तथा सफल रूपमा सम्पन्न भएको हो ।
वि.सं. २०७६ सालमा पाँच सदस्यबाट स्थापना भएको देवीनगर क्रिकेट क्लबमा हाल ९२ सदस्य आबद्ध रहेका छन् । क्लबले क्रिकेट गतिविधि तथा खेल विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ ।