
काठमाडौं ; नेपाल जित कुन–दो मार्सल आर्ट संघ भारतमा हुने ‘इन्डो–नेपाल एसडिटी स्ट्रिट डिफेन्स टुर्नामेन्ट २०२६’ मा सहभागी हुने भएको छ । प्रतियोगिता आगामी मे २२ देखि २४ तारिखसम्म भारतको मुम्बई, महाराष्ट्रमा आयोजना हुँदैछ ।
प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय प्रशिक्षक शिवबहादुर थापाको नेतृत्वमा नेपालले सहभागिता जनाउने संघले जनाएको छ । टोलीका रेफ्रीमा दीपेन्द्र श्रेष्ठ र कुमार बस्नेत रहेका छन् भने टोली व्यवस्थापकको जिम्मेवारी टोखा नगरपालिका खेलकुद विकास समितिका सदस्य सविन श्रेष्ठले सम्हाल्नेछन् ।
पुरुष खेलाडीमा विजय थापा, विवेक थापा, आयुष श्रेष्ठ, सञ्जीव माझी, पितम्बर मगर र राजेन्द्र थापा छनोट भएका छन् । महिला खेलाडीमा निर्मला मगर, जमुना बि.के., सारिका नेपाली, फुमिको तामाङ र निलम कोइराला रहेका छन्। टोलीको स्वास्थ्य सेवाका लागि डा. सृजना खड्का नर्सका रूपमा रहने जनाइएको छ ।
भारतीय आयोजक सिफु एम.आर. सलमानीले नेपाली टोलीको सहभागिताले नेपाल–भारतबीचको मैत्री सम्बन्ध तथा सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।